बागलुङ, १३ चैत – जिल्लाको बिभिन्न स्थानीय तहमा बैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई ‘होम क्वारेण्टाईन’मा पठाईएको छ । कोरोना भाईरस (कोभिड–१९) प्रभावित देशहरुबाट घर फर्किएकाहरुलाई स्थानीय सरकार र जिल्लास्थित विपद व्यवस्थापन समितिको पहलमा घरमै सुरक्षित बस्ने व्यवस्था मिलाईएको हो ।
बिषेश गरेर छिमेकी मुलुक भारत र खाडी मुलुक तथा मेलेसियाबाट फर्किएकाहरुलाई सुरक्षित रहन र अन्य कसैको सम्पर्क भन्दा टाढा रहन आग्रह गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए । होम क्वारेनटाईनमा पठाईएका मध्ये निसीखोला गाउँपालिकामा चार जना, काठेखोला गाउँपालिकामा ३० जना, ताराखोला गाउँपालिकामा ११ जना, बडिगाड गाउँपालिकामा १ जना र ढोरपाटन नगरपालिकामा ३ जना रहेका छन् । उनीहरुमध्ये बडिगाड गाउँपालिकाका एक जना भने बैदेशिक रोजगारीमा गएको नभई उच्च ज्वरो आएका कारण औषधि उपचारसहित होम क्वारेन्टाईनमा राखिएको हो ।
कोरोनाको संक्रमण भित्रिन नदिनको लागि जिल्लाका तीन स्थानमा स्थापना गरिएका हेल्थ डेस्कहरुबाट ३ सय ११ जनाको ज्वरो परीक्षण गरिएको थियो । बुर्तिबाङ हेल्थ डेस्कमा परीक्षण गरीएका १८ जना मध्ये २ जनामा ज्वरो देखा परेको भएपनि अन्य कसैमा समस्या देखा नपरेको गुरौले बिहिबार साँझ जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । जिल्ला भित्रिने मुख्य नाका मालढुंगा हेल्थ डेक्समा २ सय ८९ जना र बडिगाड गाउँपालिकाको खरबाङ बजारमा स्थापना भएको हेल्थ डेक्समा ४ जनाले जाँच गराएका थिए । ज्वरो देखा परेका दुवैजनालाई आवश्यक परामर्श र औषधी सिफारिस गरेको चिाकित्सकहरुले जनाएका छन् ।
यसैबिच, जिल्लामा रहेका सरोकारवालाहरूको बैठकले प्रमुख जिल्ला अधिकारी संयोजक रहेको १३ सदस्यीय कमान्ड पोस्ट गठन गरेको छ । गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको निर्देशनमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूको संयोजकत्वमा कमान्ड पोस्ट गठन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
समितिका सदस्यहरूमा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, अर्जुन बाण गणका गणपति मिलनध्वज खाँण, जिल्ला प्रहरी कार्यालयका प्रमुख नवराज भट्ट, राष्ट्रिय अनुसन्धान जिल्ला प्रमुख नरेन्द्रराज गिरि, सशस्त्र प्रहरी बल बागलुङका प्रमुख बासुदेव लोहनी, बागलुङ नगरपालिका कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणी शर्मा, धौलागिरि अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र बि.पोखरेल, स्वास्थ कार्यालयका प्रमुख सुरज गुरौ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धीरेन्द्र पन्त रहेका छन् । जिल्ला प्रशासन कार्यालयबाट जिल्ला सवारी पासलाई समेत ब्यबस्थित गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धिरेन्द्र पन्तले बताए । कोरोनाका बारेमा सत्य तथ्य पुष्टि भएको खबर मात्र संप्रेशण गर्न सञ्चारकर्मी र आम सञ्चार माध्यमलाई अनुरोध गर्ने र गलत समाचार संप्रेसरण गर्नेलाई कानुन बमोजिम कार्वाही गर्ने बैठकले निर्णय गरेको पन्तले वताए ।





