आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कोरोनाले सम्झाएको गाउँ !

कोरोनाले सम्झाएको गाउँ !


  • तारानाथ आचार्य
  • चैत्र १४ २०७६, शुक्रबार

बागलुङ, १४ चैत – क्यापिटल सिटी काठमाण्डौंमा गाडीभरी स्टेशनरी सामान लिएर बिक्रीका लागि दिनभर दौडधूप गर्ने उनी यतिबेला खेतबारीको डिलमा दौडिन्छन् । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका जीवन आचार्य कोरोना त्रासका कारण केही दिनअघि मात्रै गाउँ फिरेका हुन् । अरु बेला गाउँ आउँदा साथीभाई गरेर गफिने र गाउँलाई फन्को मार्ने अवस्था अहिले छैन । खेतमा लगाईएको हिउँदेखेती थन्काएर मकै लगाउने याम छ अहिले छ गाउँमा । मकै लगाउनुपूर्व खेतमा पु¥याउनु पर्ने मल बोक्ने जिम्मेबारी उनको काँधमा छ । डोकोभरी मल बोकेर जीवन र उनका साथीहरु खेतबारी पुगिरहेका छन् ।
कोरोना भाईरसको विश्वव्यापी महामारीसँगै काठमाण्डौँ छोडेर उनको गाउँमा दर्जनौं युवा आएका छन् । पछिल्लो समय वृद्वा आश्रम जस्ता देखिने गाउँमा युवायुवतीको आगमनले खेतबारीको कर्ममा समेत ठुलो सहायता मिलेको छ । देशनै लकडाउन भएपछि त्यसको असर गाउँमा कम छ । कृषिकर्म चलिरहेकाले दुईचार जना मिलेर मल बोक्ने, मकै लगाउने, खेत छेउछाउ र घर वरिपरिका झाडी सफा गर्ने काम चलिरहेको शर्मा बताउँछन् ।
बागलुङ बजारमा कानुन व्यवसाय गरेर बस्दै आएका रमेश खड्का आफ्नो पुरानो गाउँ तित्याङ फर्केका छन् । लामै समय भयो, उनी चाडपर्वबाहेक गाउँमा कमै जान्थे । एकै दिनमा पुगिने बजारमा दैनिक हुने कामले उनलाई गाउँ बस्न फुर्सद थिएन् । लामो समय छोडेको घर कतै भत्किएको, कतै झार उम्रिएको अवस्थामा थियो । कोरोनाको त्रासले सदरमुकाम छोडेर गाउँ फर्किएका खड्का दुई दिन यता आफ्नै पुरानो घर सिंगार्न व्यस्त छन् । ‘गाउँ आईयो, काम केही छैन’ खड्काले भने ‘भत्किएका संरचना बनाउँदै छु ।’
आचार्य र खड्का जस्तै गाउँबाट शहरमा आई काम गर्ने कयौं युवा तथा वयस्कहरु यतिबेला गाउँ फर्किएका छन् । कामको चटारो चल्ने समयमा गाउँ फर्किएका युवाहरुले त्यहाँमा रहेका बुढापाकालाई सघाईरहेको काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने बताउँछन् ।
बागलुङ बजारमा होटल व्यवसाय गरेर बसेका जीत बहादुर थापा अहिले पुख्यौली गाउँ रेश फर्केका छन् । केही दिन पहिले रेश पुगेका उनका तीनै भाई बागलुङ बजारमै स–परिवार बस्ने भएकाले गाउँको घरको रुपरंग नै फेरीएको थियो । कोरोनाको सन्त्रासले गाउँ फर्केका जीतबहादुरको दैनिकी घर पोत्ने, भाँडाधुने ठाउँ बनाउने, वरीपरी बार्ने लगायतका काममा बितिरहेको छ । ‘दशैं आएभन्दा बढ्ता भएको छ, गाउँ सिंगारिँदै गएका छन्, छोडेका घरले सुसार पाएका छन्’ लामिछानेले भने ‘त्रास एकातर्फ होला तर गाउँका दिन आए नि !’ बजारमा बस्नेहरु अधिकांश गाउँ फर्केका कारण शहर भने सुनसान छ ।
ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार, दशैंको समयमा भन्दा धेरै सर्वसाधारण यतिबेला शहर बजारबाट गाउँमा भित्रिएका छन् । एकिन तथ्यांक नरहेको भएपनि लकडाउन पूर्वका केही दिन सवारीमा देखिएको चापले शहरको जनसंख्या सहजै अनुमान लगाउन सकिन्छ । भुकम्पका बेला छोडेका घरहरुले समेत यो समय सुसार पाउन थालेका छन्भने गाउँमा एक्लै बनेका वृद्धवृद्धाहरुले सहाराको अनुभुति गरेको स्थानीय तहका प्रतिनिधिहरु बताउँछन् ।
‘बाँझिएका खेतमा गोरु नार्ने कोही थिएन्, कसरी गर्नेहोला भन्ने थियो’ बागलुङको बलेवाका धनपति पौडेल भन्छन् ‘केटाहरु गाउँ आएका छन्, गोरुलाई घाँस हाल्न सके सजिलै मकै छरिन्छ ।’ बैदेशीक रोजगारीबाट फर्केकाहरुबाट त्रसित बनिरहेका गाउँलेले गाउँ फर्किएकाहरुको फेरिएको दैनिकीबाट भने सास फेरेका छन् । लकडाउन पूर्व र लकडाउन भएकै दिन बजारबाट बाहिरीनेको संख्या उच्च हुँदा सदरमुकाम बागलुङ बजार भने सुनसान बनेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->