बागलुङ, १४ चैत – लकडाउन लम्बिदै गर्दा बागुलङ नगरखानेपानीको लिफ्टिङ आयोजनामा काम गर्ने १४ मजदुर अलपत्र परेका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले मंगलबारदेखि लकडाउन गरेपछि कामदारहरु भोकै परेका हुन्। उनीहरुले घरजाने व्यवस्थापन वा खानेबस्ने व्यवस्थापन मिलाइदिन आयोजनासंग आग्रह गरेका छन्। ‘काम ठप्प भयो, पाउनुपर्ने रकम पनि पाएका छैनौं’, मजदुर प्रेमबहादुर शाहीले ढोरपाटनसंग भने,‘असोजदेखि काम गरिरहेका छौं, केही समयको ज्याला पाउन बाँकी छ।’
उनीहरु आयोजना स्थल बानपा ३ कैलमपोखरी र रातमाटामा पाल टाँगेर बस्ने गर्थे। काठेखोलाबाट रातमाटा हुँदै भीरलाँकुरीमा पानी लिफ्ट गरेर बजारवासीलाई वितरण गर्ने योजनाको तीनवटा साइटमा काम भएको थियो। काम गर्नेमध्ये केही स्थानीय थिए भने १४ जना जाजरकोटका छन्।
जयमाता कन्काइ जेबी निर्माण कम्पनीले आयोजनाको कामको जिम्मा लिएको थियो। कम्पनीका साइट इन्चार्ज गौतम भुसालले भने उनीहरुलाई खानेबस्ने व्यवस्था मिलाउने बताए। मजदुरहरुले खानेबस्ने मात्रै होइन, ठेकेदारले काम गरेको पैसा पनि नदिएको आरोप लगाएका छन ।
बागलुङ उद्योग वाणिज्य संघले उनीहरुलाई तत्कालका लागि खानका लागि खाद्यान्न जोहो गराउने महासचिव नरेश कँडेलले बताए। संघले अलपत्र परेकाहरुलाई निःशुल्क खाना खुवाउने व्यवस्थापन गरिरहेको छ।





