बागलुङ, १५ चैत – बेल्जियमबाट कतारको दोहा हुँदै काठमाडौं आएकी बागलुङकी १९ बर्षिया युवतीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । उनी बागलुङ नगरपालिका–४ की वासिन्दा हुन् । कतार एयरवेजको क्युआर ६५२ उडानबाट चैत ४ गते विहान त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थलमा झरेकी उनी सोही दिन नै बागलुङ आइपुगेकी हुन् ।
बिहान १० बजे काठमाडौं झरेकी उनी अन्तराष्ट्रिय बिमानस्थलबाट सिधै आन्तरिक बिमानस्थलमा ट्याक्सीमा गएकी थिइन । त्यहाँबाट उनी दिउसो १२.४५ को एति एयरलाईन्सको ६७९ विमानमा पोखरा झरिन् । पोखरा विमानस्थलबाट ट्याक्सीमा जिरो किमी आईपुगेकी उनलाई त्यहाँबाट स्कारपियोले बागलुङ बजार ल्याएको हो । ६३५३ नं.को स्कारपियोको सवै सिटमा यात्रु थिए ।
बेल्जियमबाट उनीसंगै बागलुङसम्म अर्की एक महिला पनि आएकी थिईन । ६५ बर्षिय ती महिला भने अहिले पनि स्वस्थ छिन् । उनमा कोरोना भाइरसको कुनै लक्षण देखिएको छैन । काठमाण्डौ झरेपछि युवतीसंगै ट्याक्सीमा आन्तरिक विमानस्थल गई जहाजमा पोखरा र त्यहाँबाट बागलुङसम्मै अर्का एक युवा पनिसंगै आएका थिए । उनमा पनि कुनै समस्या छैन् । कोरोना भाइरसको लक्षण केही पनि आफुमा नदेखिएको ती युवाले ढोरपाटनलाई वताए ।
घरसम्मै स्कारपियोमा पुगेकी युवती त्यहाँ हजुरबा, हजुरआमा र वुवाका साथ वसेकी छिन् । सुरुमा उनलाई ज्वरो आएर खोकी लागेपछि आफै चिकित्सकको सम्पर्कमा आएकी हुन् । धौलागिरी अञ्चल अस्पतालका चिकित्सकले सामान्य चेकजाँचपछि सुरुमा घरमै वस्न सल्लाह दिएका थिए । घरमा रहदा उनी ‘होम क्वारेन्टाइनमा’ थिईन । दोस्रो पटक ज्वरो बढेपछि उनको स्वाव नमूना परिक्षणका लागि बुधवार काठमाडौं पठाइएको थियो । त्यसको रिपोर्ट शनिवार मात्रै आएको हो । युवती स्थानीय कुडुले माविका कक्षा ११ का विद्यार्थी हुन् ।
कतार एयरवेजमा आएकी काठमाडौंकी युवतीमा कोरोना संक्रमित पुष्टि भएपछि सवै यात्रुको नामवली सार्वजानिक भयो । ती नामवलीमा बागलुङका ४ जना पनि परे । ‘हाम्रो नगरपालिकामा पनि उहाँको नाम देखेपछि घरमै गएर स्वाब संकलन गरिएको हो,’ बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भने, ‘ती युवती अहिले घरमा छिन् । उनलाई अब धौलागिरि अस्पतालमा राख्ने कि काठमाडौं पठाउने हामी सल्लाह गर्दैछौ ।’
अहिले जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसिरहेको छ । बैठकले उनको उपचार गर्ने ठाउँको बिषयमा टुंगो लाग्ने प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजुले जानकारी दिए । उनीसँगै जोडिएका अन्य परिवारका सदस्य र उनीपुगेका ठाउँको बिषयमा समेत सोधीखोजी सुरु गरिएको छ । उता, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक बिनोदबिन्दु शर्माले युवतीको अवस्था सामान्य रहेकाले घरमै सेल्फ क्वारेन्टाइनमै राख्ने व्यवस्था गर्न निर्देशन दिइएको बताए ।





