कुँडुले, बागलुङ, १६ चैत – कोरोना भाइरसबाट पाँचौ संक्रिमत पुष्टी भएका बागलुङ कुँडुलेकी युवतीको घरमा आइतवार विहान ढोरपाटनको टीम पुग्दा उनको घरमा फुपु बाहिर ड्रमबाट पानी लिदै थिएन । युवतीका हजुर बा, हजुर आमा, बाबा र फुपुका बच्चाहरु घरभित्रै थिए । उनका छिमेकीहरु आआफ्ना काममा ब्यवस्त थिए । कोही खेतमा काम गर्दै थिए त कोही छतमा घाम तापेर वस्दै थिए । बाहिर मिडिया र सामाजिक सञ्जालमा आएजस्तो कुनै त्रास त्यहाँ थिएन । सवै आफ्नै धुनमा ब्यस्त देखिन्थे ।
एकैछिनमा नगरपालिकाले पठाएको दमकल पुग्यो । युवतीमा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि छापा गाउँ वढि प्रभावित भन्दै दमकल किटनासक औषधी भरेर पुगेको थियो । दमकल पुग्दा सवैले पहिला प्रभावित घरलाई सुरक्षित बनाउनु पर्छ भन्दै त्यहाँ पुगेका स्वास्थ्यकर्मी दिनेश जिसीलाई सल्लाह दिए । जिसी बागलुङ नगरपालिकाका हेल्थ असिस्टेन्ट तथा कोरोना भाइरस नियन्त्रण तथा रोकथाम टीमका ’फोकल पर्सन’ पनि हुन् ।
आफ्ना तीन जना स्टाफसहित पुगेका स्वास्थ्यकर्मी जिसीले छिमेकीको सल्लाह माने । फुपुलाई भित्र बस्न भने र चोकमा दमकल राखेर संक्रमित युवती वसेको घरसहित वरपर किटनासक औषधी छर्किन लगाए । छिमेकीहरु घरको छतमा वसेर दमकलबाट निस्केको ‘डिस्इन्फेक्सन स्प्रे’को फोहोरा रमाईलो मानेर हेरिरहेका थिए । एकैछिनमा जिसीले माइकबाट छिमेकीसहित सवैलाई भित्रवस्न अनुरोध गरे । उनी भन्दै थिए, ‘हामी तपाईहरुको सुरक्षा लागि काम गरिरहेका छौ हजुरहरु घरभित्रै वसेर सहयोग गर्नुहोस ।’
आफ्ना सुरक्षाका लागि आएका नगरपालिकाको टोलीलाई असहयोग गर्ने कुरै भएन्, माइक बन्द नहुँदै उनीहरु घरभित्र छिरीहाले । दमकलले संक्रमितको घर मात्रै होइन, छापा गाउँभरी ३ हजार लिटर ‘डिस्इन्फेक्सन स्प्रे’ क्षणभरमा छर्केर सक्यो । स्थानीय अगुवा सोकेन्द्र थापा, जगन्नाथ सापकोटा लगायतले त्यसको अगुवाई गरे । प्रहरी विटका प्रमुख कमल वस्याल पनि दमकल टोलीलाई सहयोग गर्न साथमै थिए ।
दमकमलले स्प्रे गरेपछि हामीले सोध्यौ छिमेकीलाई, यहाँको अवस्था कस्तो छ ? सेल्फ क्वारेन्टाईनमा रहेर दुरी कायम गर्दै जम्मा भएका स्थानीयले एकै स्वरमा भने, ‘पहिला त नानीको स्वास्थ्य राम्रो होस, हाम्रो यही कामना छ ।’ उनीहरुले थप्दै गए, ‘त्यसपछि परिवार सुरक्षित हुनुपर्यो । हामी त आफै पनि ध्यान दिइरहेका छौ ।’ उनीहरुमा त्रासभन्दा पनि बढि युवती र उनका परिवारलाई केही भइहाल्छ कि भन्नेमा वढि चिन्ता थियो । युवतीका परिवार सवै सामान्य अवस्थामा नै थिए । न रुघाखोकी लागेको थियो, नत स्वासप्रश्वासमा कुनै समस्या नै । अहिलेसम्म परिवारका कुनै पनि सदस्यलाई ज्वरो पनि नआएको युवतीको फुपुले वताईन ।
हामी पुग्दा त्यहाँ कसैमा पनि कुनै चिन्ता देखिएनन्, सवै आआफै सुरक्षित भएर काम गरिरहेका थिए । खेतवारीमा काममा नगएकाहरु भने परिवारसंगै लकडाउनलाई पालना गरिरहेका थिए । ‘हामी सेल्फ क्वारेन्टाइनमा छौ, अगुवा सोकन्द्र भन्दै थिए, चिन्ता गर्नुपर्ने केही छैन् । बाहिर मिडियामा आएजस्तो विग्रेको पनि केही छैन् ।’ त्यतिवेला फोकल पर्सन जिसी भने लकडाउनलाई पालना गरेर मात्रै कोरोना भाइरसको संक्रमणलाई जित्न सकिने कुरा सम्झाउदै थिए स्थानीयलाई । सिंगो कुडुलेभरी नै डिस्इन्फेक्सन स्प्रे छर्केर सुरक्षाको अनुभुती दिन स्थानीयले माग गरे । छिमेकी रिता शर्माले भनिन्, ‘पहिला नानीको स्वास्थ्यको ख्याल गर्नुहोस् अनि हामीलाई सुरक्षित बनाउनुहोस ।’






