पर्वत, १६ चैत– कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोगिनको लागि पर्वत सदरमुकाम कुस्मा बजारमा कीटनाशक औषधि ‘क्यालोरिन’ छर्किएको छ । बजार क्षेत्रमा जनघनत्व बढी हुने भएकोले कुस्मा बजारका चोक तथा सडकमा दमकलको प्रयोग गरेर औषधि छर्किएको हो । सावधानीका लागि ‘क्यालोरिन’ छर्किएको नगरप्रमुख रामचन्द्र जोशीले बताए । ‘छिमेकी जिल्लाकै रिपोर्ट पोजेटिभ आएको अवस्थामा हामी बढी सचेत र सतर्क हुनुपर्ने अवस्था छ ।’ उनले भने । कुनपा, जिल्ला प्रशासन र जिल्ला प्रहरीको सहकार्यमा प्रहरी परिचालन गरेर औषधि छरिएको र यो क्रम मंगलबारसम्म रहने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । ‘क्यालोरिन’ ले सूक्ष्म कीटाणुहरू मार्ने भएकोले सुरक्षाको लागि नगरपालिकाले औषधि छर्ने काम गरेको उनको भनाई छ ।





