बागलुङ, १७ चैत – दैनिक ज्यालादारी गरेर छाक टार्दै आएका विपन्न तथा मजदुरहरुलाई यहाँका दुई वडाले खाद्यान्न वितरण गरेका छन् । बागलुङको काठेखोला गाउँपालिकाको वडा नं ७ र ४ ले लकडाउनको समयमा काम गर्न नपाएका कारण बिहान बेलुकी छाकनै नटर्नेहरुलाई खाद्यान्न सामग्री सहयोग गरेको हो । अफ्ठेरो परिस्थितिमा राहत स्वरुप सामग्री सहयोग गरिएको वडाहरुले जनाएका छन् । वडाहरुले ज्याला मजदुरीमा रहेकाहरुको पहिलो चरणमा तथ्यांक संकलन गरी दोस्रो चरणमा खाद्यान्न दिएका हुन् । गाउँपालिकाले घोषणा गरेको राहत कार्यक्रमको सहयोग र वडाको आन्तरीक स्रोत समेतको परिचालन गरेर मजदुर तथा विपन्नलाई सहयोग गरिएको वडा नं ७ का अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।
वडा कार्यालयले सोमबार ४७ परिवारलाई प्रति परिवार २ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको लामिछानेले बताए । हरेक परिवारलाई १ बोरा चामल, २ किलो नुन, २ किलो दाल, आधा लिटर तेल र १ बट्टा सावुन उपलब्ध गराइएको छ ।
गाउँपालिकाले जनसंख्या धेरै भएको वडा नं ७ रेशमा ३० परिवार र अन्य वडाहरुमा २० परिवारको लागि मात्रै खाद्यान्न उपलव्ध गराएको थियो । बाँकी परिवारलाई वडा कार्यालय, स्थानीय समुदायीक बन, समुह तथा क्लवहरुको सहयोगमा खाद्यान्न उपलव्ध गराईएको हो । रेशमा अझै २५ जना विपन्न खाद्यान्न दिनैपर्ने अवस्थाका रहेको वडाको तथ्यांक छ । वडा नम्बर ४ तंग्राममा १५ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । वडाअध्यक्ष केशरबहादुर थापाले १५ जना अति विपन्न परिवारहरुलाई गाँउपालिकाबाट प्राप्त राहत सामाग्री वितरण गरेको जानकारी दिए । सोही परिणामको सामग्री दिईएको थियो । वडाका २६ विपन्न परिवारलाई राहत सामाग्री दिनुपर्ने तथ्यांक संकलन भएकोमा पहिलो चरणमा आवश्यकताका आधारमा १५ जनालाई राहत प्रदान गरेको अध्यक्ष थापाले बताए ।





