पोखरा, २३ चैत – देश यतिबेला लकडाउन छ । विश्वभर महामारीको रुपमा फैलिइरहेको नोवेल कोरोना भाइरसको संक्रमण, रोकथाम गर्न लकडाउन गरेको पनि दुइसाता पुगिसक्यो । तर, नयाँ संक्रमित देखिने क्रम भने बढ्दो छ । शनिबार दिउँसो कैलाली र कञ्चनपुरमा ३ नयाँ संक्रमित देखिएसँगै नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमित ९ पुगेका छन् । लकडाउनले आवातजावत ठप्प छ । ‘बाहिर ननिस्कनु, घरभित्रै बस्नू’ भन्ने सरकारको आग्रह छ । महामारी रोक्न सरकारले राम्रो निर्णय लिए पनि दैनिक ज्याला, मजदुरी गरेर जिविकोपार्जन गर्नेहरु भने मर्कामा छन् । विपन्न परिवारको पहिचान गरि सरकारले भरथेग हुने राहत पनि बाँड्दै आएको छ ।कास्कीमा पनि नगरपालिका र गाउँपालिकाले विपन्न परिवारको लागि राहतका प्याकेज ल्याएका छन् ।
कस्ता छन् प्याकेज ?
विपन्न परिवारको पहिचान गरि राहत बाँड्न गण्डकी प्रदेश सरकारले स्थानीय तहलाई निर्देशन दिइसकेको छ । प्रदेश सरकारको निर्देशन अनुसार स्थानीय तहले कसैलाई पनि भोकै राख्न पाउने छैनन् ।
८५ स्थानीय तहमध्ये पोखरा महानगरपालिकालाई एक करोड रुपैयाँ राहत प्रदेश सरकारले दिएको छ । यस्तै, २६ नगरपालिकालाई प्रति नगरपालिका १० लाखका दरले २ करोड ६० लाख रुपैयाँको राहत दिने घोषणा गरेको छ । ५८ गाउँपालिकालाई भने ५÷५ लाखका दरले दुई करोड ९० लाख लाख रुपैयाँ प्रदेश सरकारले दिनेछ ।
पोखरा महानगरपालिका
पोखरा महानगरले लकडाउनका कारण रोजगारी गुमाएका परिवारलाई प्रति परिवारले २ हजार बराबरको राहत सामग्री बाँड्ने छ । नामावलि संकलनपछि मात्रै राहतका कार्यक्रम बाड्ने योजना बनाएको महानगरले अझैंसम्म नामावलि संकलन गरेर भ्याएको छैन ।
वडाबाट केही परिवारलाई राहत सामग्री बाड्न सुरु भए पनि महानगरको राहत कार्यक्रम अझैसम्म सुरु भएको छैन । पोखरा महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपालीका अनुसार शनिबार बेलुकासम्म बल्ल वडाबाट विपन्न परिवारको तथ्याङ्क आइपुग्छ । महानगरले २ करोड ४८ लाख बराबरको राहत सामग्री विपन्न परिवारलाई उपलब्ध गराउँने बताएको छ ।
माछापुच्छ्रे गाउँपालिका :
माछापुच्छ्रे गाउँपालिकाले विपन्न परिवारलाई राहत दिने तयारी थालेको छ । कार्यपालिकाबाट निर्णय पास गराएर राहत दिने तयारी भइरहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए । अहिलेसम्म राहत सामग्री भने बाँडिएको छैन ।
यस्तै, गाउँपालिकामा ३० जना होमक्वारेन्टाइनमा बसेकोमा २४ जनाले १४ दिन समयावधि पार गरिसकेको उनले बताए । कोरोना रोकथामका लागि गाउँपालिका कडिकडाउ भएर लागि परेको उनले सुनाए । माछापुछ«ेमा लकडाउनअघि भारतबाट आएका २ जनाबाहेक अरु बाहिरको मान्छे नआएको उनले जानकारी दिए ।
अन्नपूर्ण गाउँपालिका
अन्नपूर्ण गाउँपालिकाले भने राहतमा कुनै पनि सामग्री नदिने निर्णय लिएको छ । राहत दिईं हाले पनि ‘लकडाउन’पछि राहत लिने परिवारलाई दैनिक ५ सय रुपैयाँ पारिश्रमिक बराबरको श्रमदान गर्नुपर्ने शर्तमा मात्रै राहत दिने गाउँपालिका अध्यक्ष युवराज कुवँरले बताए । ‘राहत नदिने । म राहत विरोधी हूँ । राहतको नाममा मान्छेले ठगेर खाने भए’, उनले भने,‘राहत दिए पनि राहत बराबरको पारिश्रमिक दिने शर्तमा दिने हो ।’
गाउँपालिकामा ३० जना होम क्वारेन्टाइनमा बसकामध्ये १८ जना १४ दिनको क्वारेन्टाइन बसाई पूरा गरेर निस्केको उनले जानकारी दिए । राहत चाहिने परिवारलाई राहत दिइहाले पनि राहत बराबरको पारिश्रमिक श्रमदान गराएर दिने पक्षमा छन्, उनी ।
मादी गाउँपालिका
माँदी गाउँपालिकाले ७ सय परिवारलाई राहत सामग्री दिने तयारीमा छ । आइतबार ७ सय विपन्न परिवारलाई राहत सामग्री बाड्ने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले जानकारी दिए । राहतमा २५ केजी चामल, तेल, नुन, दाललगायत २ हजार बराबरको खाद्य सामग्री बाड्ने उनले सुनाए । मादी गाउँपालिकाको क्वारेन्टाइनमा कोही पनि छैनन् । २ जना होम क्वारेन्टाइनमा बसेकोमा १४ दिनको क्वारेन्टाइन बसाई पूरा गरेको उनले सुनाए । गाउँपालिकाले वितरण गर्ने राहत भने ‘सुपर माँदी हाइड्रो पावर प्राइभेट लिमिटेड’ले सौजन्य गरेको अध्यक्ष गुरुङले बताए । हाइड्रो पावर कम्पनीले १४ लाख बराबरको कोष गाउँपालिकामा खडा गरेको उनले जानकारी दिए ।
रुपा गाउँपालिका
रुपा गाउँपालिका कोरोना भाइरसविरुद्ध लड्न तम्तयार अवस्थामा छ । गाउँपालिका अध्यक्ष नवराज ओझाले गाउँपालिकामा अहिलेसम्म खाद्यान्न अभाव नदेखिएको बताए । खाद्यान्न पसललाई खाद्य सामग्री सकिन नदिनेगरि व्यवस्थापन गर्न लगाएको उनले सुनाए ।
राहत सामग्री आवश्यक पर्ने परिवारको हकमा भने गाउँपालिको राहत दिने छ । गाउँपालिको त्यस्ता परिवारको पहिचान गर्नको लागि शिक्षक, कर्मचारी, जनप्रतिनिधि घर—घरमै परिचालन गरेर अवस्था बुझ्न लगाएको उनले बताए । ‘उहाँहरुलाई अप्ठ्यारो परे वडामा सम्पर्क व्यक्ति पनि बनाएका छौंँ । अप्ठ्यारो प¥यो भने हामी लाइन लगाउदैनौँ’, उनले भने,‘घरमै लगेर दिन्छौंँ । त्यसको व्यवस्था पनि हामीले गरेका छौँ ।’
रुपामा २५ जना क्वारेन्टाइनमा बसेकोमा ५ जनाले क्वारेन्टाइन बसाईं पूरा गरेर फर्किएको उनले सुनाए । गाउँपालिकामा अहिले कुनै पनि नयाँ मान्छे प्रवेशमा रोक लगाइएको छ । गाउँपालिका प्रवेश गर्न १४ दिनेको क्वारेन्टाइन बसाई पूरा गर्नुपर्ने अध्यक्ष ओझाले जनाए । नियमित स्वास्थ चेकजाँचको व्यवस्था पनि गाउँपालिकाले मिलाएको उनले बताए ।





