बागलुङ, २३ चैत– नेपालभर ९ जना कोरोना भाइरस संक्रमणका बिरामी देखिएका छन् । तीमध्ये शनिबार बिदेशबाट आएकाबाट स्थानीयमा रोग सरेको पुष्टी भएपछि सरकारले र्यापिड टेष्ट प्रणाली थाल्ने निर्णय गरेको छ ।
र्यापिड टेष्ट भनेको के हो ?
जहाजबाट आएकाहरुको राहदानी, नाम ठेगाना खुल्छ । त्यसरी खोजी गर्दा धेरै भेटिए । जहाजबाट आएका पनि अझै कतिपय मानिस भेटिएका छैनन् । त्यसैले भारतबाट आएकाहरुको तथ्यांक संकलन संभवना छैन । बरु गाउँमा आएकाहरुको खोजी गर्दा गाउँपालिका र नगरपालिकाले तथ्यांक प्रस्तुत गरेका छन् । ती तथ्यांकमा समावेश भएका मानिसलाई एकैपटक परीक्षण गरेर कोरोना संक्रमण भए नभएको खोज्ने बिधि र्यापिड टेष्ट हो ।
टेकुस्थित शुक्रराज सरुवारोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीका अनुसार लागूपदार्थ सेवन गरे नगरेको पत्ता लगाउन गरिने टेष्ट जस्तै यो टेष्ट पनि सामान्य प्रकारको हुन्छ । यसको विश्वसनीयताबारे धेरै प्रश्न उठेपनि ६० प्रतिशतसम्म यसले परिणाम दिन सक्छ । यद्यपी हाल गरिएको स्वाब परीक्षणबाट पनि शतप्रतिशत भने भएको पुष्टी छैन ।
कोरोना संक्रमण नेपालमा दोश्रो चरणमा प्रवेश गरेकोले काठमाण्डौमा नमूना पठाएर मात्र रोकथाम गर्न नसकिने भएपछि संक्रमित व्यक्ति देखिएका जिल्लामा र्यापिड टेष्टको तयारी गरिएको हो । त्यसका लागि मन्त्रीपरिषदले शनिबार निर्णय गरेको छ । मन्त्रीपरिषदको निर्णय भएपनि धौलागिरी अञ्चल अस्पतालमा भने त्यसको औपचारिक निर्णय आएको छैन । ‘संचारमाध्यममा सुनेका छौं, तर औपचारिक पत्र वा सूचना आएको छैन’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले भने, ‘हामीले आन्तरिक तयारी भने गरेका छौं ।’ एकैपटक धेरै जनाको यहीँबाट परीक्षण हुने भएकोले अस्पतालभित्रको व्यवस्थापन बढाउनु परेको उनले बताए ।
अस्पतालमा रहेका सामान्य वार्डलाई विशेष सुरक्षित बनाउने, क्वारेन्टाइन र आइसोलेसनको रुपमा बिकास गर्न तयारी भएको पोखरेलले बताए । एकैपटक परीक्षण गर्दा धेरै जनामा कोरोना संक्रमण देखिन सक्ने उनले बताए । अस्पतालमा हाल भएको चिकित्सक र स्वास्थ्यकर्मीको जनशक्तिले नपुग्ने भएकोले बिज्ञ टिम र सामाग्री समेत लिएर मन्त्रालयको टिम आउन सक्ने उनले बताए ।
‘पहिलो चरणमा काम थाल्न मन्त्रालयले सहजीकरण गर्न सक्छ, तर हामी र स्वास्थ्यकर्मीलाई पनि तालिम चाहिन्छ’ पोखरेलले भने, ‘कसरी परीक्षण गर्ने, कसरी सुरक्षित बन्ने भन्ने कुरा जटिल समेत हो ।’ पिपिईसहितका सुरक्षा सामाग्री र तरिकाबारे चिकित्सक र स्वास्थ्यकर्मीलाई तालिमको समेत माग गरेका छौं ।
अस्पतालमा भेन्टिलेटर र आइसियु समेत चाहिएकोले सोही अनुसारको व्यवस्थापन गर्न गरिएको प्रयासमा संघिय सरकारले सहयोग गर्ने बचन दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । प्रदेश सरकारहुँदै आउने भएकोले प्राप्त हुने रकमले व्यवस्थापकीय काम गर्ने उनले बताए । त्यसबाहेक अत्यावस्यक उपकरण भने सरकारी तहबाटै आउनुपर्ने उनले बताए । कोरोना संक्रमितलाई निरन्तर उपचार गर्दा आउन सक्ने जटिलता मध्यनजर गरेर अस्पतालले उपकरण र थप सहयोग मागेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार, लकडाउनको अवधिमा बिदेशबाट ८ सय १५ जना आएको तथ्यांक छ । केही संख्या थपिएर ९ सयसम्म पुग्न सक्ने कार्यालयका प्रमुख सुरज गुरौले बताए । यो संख्यालाई पहिलो प्राथमिकतामा राखेर र्यापिड टेष्टमा ल्याउने उनले बताए । उनीहरुको परीक्षण सकिएपछि संक्रमितको छिमेकी र भारत लगायत बिदेशबाट आएकाहरुको छिमेकीमा पुग्ने गरी परीक्षणको दायरा फराकिलो हुने बताइएको छ । यो किटमा रगत परीक्षण हुनेछ । यो परीक्षण शतप्रतिशत भरपर्दो नभएपनि धेरै संक्रमितको पहिचान संभव हुने उनले बताए । त्यसपछि पुन राष्ट्रिय प्रयोगशालामा लागेर अन्तिम टुंगो लगाइने छ । र्यापिड टेष्टले केही दिनमै संक्रमितको पहिचान खुलाउन भने सकिने डा. राजभण्डारीले बताए ।





