ठिनी (मुस्ताङ), २५ चैत– सरकारले लकडाउनको अबधि बढाएसँगै बेसी झरेका मुस्ताङे अलपत्र परेका छन् । केही महिना अगाडि हिउँदमा पोखरा, काठमाण्डौ, लगायतका शहरहरुमा चिसो छल्न तथा व्यपार गर्न झरेका मुस्ताङका स्थानीय गाउँ पर्किन नपाएका हुन् । चिसो समयमा मुस्ताङका अधिकांश गाउँबार्ट पहाड र तराई बिभिन्न शहरहरुमा सर्वसाधारण पुग्ने गरेका थिए ।
गाउँ पर्किनका लागि पोखरा आईपुगेका झण्डै दुईसय सर्वसाधारण पोखरामै अल्झिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद अर्यालले बताए । उपल्लो मुस्ताङका स्थानिहरु छ महिना घरमै बस्छन् भने बाँकि छ महिना बेसी चिसो छल्न झर्ने गरेका छन् । पोखरामा अलपत्र परेकाहरु मध्य उपल्लो मुस्ताङका धेरै छन् । उपल्लो मुस्ताङका लोमानथाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका स्थानियहरु पोखरामा रहेको अर्यालले बताए । उनीहरु पोखरामा रहेका आफन्त तथा आफ्नै अस्थाई घरमा बसीरहेका छन् ।
गाउँमा खेती लगाउने समय आइसकेकाले पोखरामा अलपत्र रुपमा बस्दा यस वर्षको बाली बाझो रहने चिन्ता गर्छिन् थासाङ्ग गाउँपालिका वडा नं २ नाउरीकोटका ७२ वर्षकी भीम कुमारी गौचन । उनका अनुसार यो बेला बीउ छर्ने बेला हो । बाली लगाउन नपाए वर्ष भरि खेत बाझो रहने उनको गुनासो छ । फापर, आलु, जौ लगायतको खेति हुने मुस्ताङमा बर्षे बालि मात्रै हुन्छ । नेपालमा कोरोना भाईरसको उच्च जोखिम देखाउदै सरकारले पटक पटक लकडाउन बढाउनाले बेलैमा गाउँ फर्काउन नसकेको मुस्ताङ्गका संघीय सासद प्रेम प्रसाद तुलाचनले जनाकारी दिए । जोखिम कम भएपछि मात्रै मुस्ताङ फर्काउन पहल थालिने उनले बताए । सर्वसारणकै सुरक्षाका लागि भैरहेको लकडाउनको पूर्ण पालना गर्नु सबैको दायित्व भएको उनको भनाई थियो ।





