बागलुङ, ३ बैशाख– बागलुङ नगरपालिका–२ सानोपिपल वरिपरि स–साना घरहरु । सडक छेवैमा रहेको बस्तीमा बागलुङ बजारमा मजदुरी गरेर जिविका चलाउनेहरुको उल्लेख्य बसोबास छ । सानोपिपल छेउछाउका पक्की घरहरुमा पनि मजदुरहरु बस्छन् । कोही पूर्वको सुनसरीका त कोही पश्चिम दाङका । रोजीरोटीका लागि बागलुङकै विकट गाउँबाट आएकाहरु पनि यहीँ बस्छन् ।
त्यहीँ बस्तीमा बस्छिन् दाङको लमाही नगरपालिका स्थायी घर भएकी निर्मला कुमाल । उनी बागलुङ आएको पाँच महिनामात्रै भयो । श्रीमान सागर कुमाल घर बनाउने मिस्त्री काम गर्छन् । कामका लागि दुई बर्षदेखि सागर यतै छन् । उनलाई पछ्याउँदै निर्मला ८ बर्षको छोरा र साढे दुईकी छोरी बोकेर बागलुङ आईन् । निर्मलाले ठाउँ चिन्दानचिन्दै कोरोनाको कहर कम गर्न सरकारले गरेको लकडाउने अहिले उनको चुल्हो बल्न कठिन हुँदै गएको छ ।
‘घर बनाउने कामबाट हुने कमाई घरखर्च चल्थ्यो’ कुमाल भन्छिन्– ‘काम गर्दै खाँदै गरेको भित्र बस्दा त निकै गाह्रो पो भयो त ।’ श्रीमानको नियमित काम चल्दा मात्रै आफ्नो गुजारा सहज हुने गरेको भन्दै कुमालले लकडाउनमा राहत र सहयोगको भर पर्नुपरेको बताईन् । उनी जस्तै सानोपिपल, रुद्रेपिपल क्षेत्रमा बस्ने मजदुरको संख्या ५० भन्दा धेरै छ । सबैको अवस्था उस्तै छ । लकडाउन सुरु भएको पहिलो दुई हप्तामा सामग्रीको चरम अभाव झेल्दै बसेका यहाँका मजदुर पछिल्लोपटक पाएको राहत सामग्रीले भने सुखको सास फेर्न थालेका छन् ।
‘हामीले केही दिन पहिला प्रतिब्यक्ति पाँच किलो चामल लगायतका खाद्यान्न दिएका थियौं’ वडा सदस्य सुरज बोसेल भन्छन्– ‘परिवारसहित भएकाले त सकिसकेछन् ।’ सानोपिपल क्षेत्रमै ठुलो घर छ भारतिय सेनाका सेवानिबृत्त डम्मर बहादुर थापाको । उनलाई लाउनखानको दुःख छैन । आँफुलाई पुगेर बच्ने आम्दानी पनि हुन्छ । थापाले लकडाउनको समयमा समस्यामा परेका मजदुरहरुको अवस्था देख्दा मन खिन्न हुने गरेको बताउँछन् । मजदुरहरुको समस्या नजिकैबाट नियालेका डम्मर बहादुरले बुधबार कमला कुमाल जस्तै ५७ जना मजदुरको मन प्रफुल्ल पार्ने प्रयास गरे ।
९ सय किलो चामल, १ सय २० किलो दाल, १ सय २० पोका तेल, ६० पोका नुन, १ सय २० प्याकेट साबुन किनेर डम्मर बहादुरले वडा कार्यालयको जिम्मा लगाए । उनी बस्ने बस्ती वरिपरिका विपन्न तथा मजदुरका लागि उनले उपलव्ध गराएको खाद्य सामग्री वडा कार्यालयले उनकै उपस्थिती बाँडिदियो । ‘हामीलाई बाँडिनदिनु भन्नुभयो, उहाँकै इच्छाअनुसार वडा नंम्बर २ र ३ का केहीलाई समेत समाबेश गरेर खाद्यान्न बाँड्यौं’ वडासदस्य बोसेल भन्छन् ‘सबै खुसी भएका छन्, अब केही दिन ढुक्कले खालान् ।’
प्रतिव्यक्ति १५ किलो चामल २ किलो दाल, २ पोका तेल, १ पोका नुन, २ प्याकेट साबुन उपलव्ध गराएको समाजसेवी परशु बोहराले बताए । वडा नं. २ का खाद्यान्न संकटमा परेका परिवारको लगत संकलन गर्न बोहराले सघाएका थिए । 
चौतारीमुनि पोका पारिएका ६० थान सामग्रीहरु मजदुरहरुले त्यहीँ आएर लगे । वडा अध्यक्ष जीवन आचार्यले उनीहरुलाई सामग्री दिए । ‘सामान पायौं अब भोकले मरिदैन’ चौधरी थरका एक मजदुरले भने ‘नत ठेकेदार छ नत घर, हाम्रो त बर्बादी थियो ।’ थापाले व्यक्तिगत खर्चमा यति धेरै मजदुरलाई खाद्यान्न उपलव्ध गराएका हुन् । लकडाउनको समय थप भएकाले समस्या अझै बल्झिन सक्ने त्रासमा मजदुरहरु छन् । सदरमुकाममा ठेकेदारमार्फत काम गर्नेभन्दा फुटकर काम गर्नेहरु धेरै समस्यामा छन् ।





