बागलुङ, ३ बैखाख – मुटुमा समस्या भएर अस्पताल आएकी जिल्लाको ताराखोला गाउँपालिकाकी गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएको छ । ताराखोला गाउँपालिका–१ भुस्कातकी २० बर्षिया बिष्णु पुनको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा बुधवार साँझ मृत्यु भएको हो । अस्पतालका छ जना डाक्टरहरुको समुहले उपचारको प्रयास गर्दा समेत उनलाई बचाउन सकेनन् ।
परिवारका अनुसार उनको पेटमा आठ महिनाको गर्भ थियो । पहिलेनै मुटुको समस्या रहेकी उनलाई बुधबार दिउँसो चार बजे सास फेर्न कठिन भएपछि अञ्चल अस्पताल ल्याईएको उनका आफन्त चक्रबहादुर गुरुङले बताए । उनीहरु बागलुङ नगरपालिका–४ उपल्लाचौर बस्दै आएका थिए । ‘सास फेर्न कठिन भयो भनेपछि पहिलै दिएको सास फेर्न सजिलो हुने औषधि खुवायौं तर भएन’, गुरुङले भने, ‘यहाँ ल्याएको केही समयमानै यस्तो (मृत्यु) भयो ।’
उनको उपचारका लागि अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शैलेन्द्र बि. पोखरेल, डाक्टर पुजन बल्ल, डाक्टर सुप्रिया पौडेल, डाक्टर सचिन कोईराला, डाक्टर प्रतिप श्रेष्ठ र डाक्टर सावित्रा थापाले संयुक्त प्रयास गरेका थिए । ‘उहाँ आउने बेलानै मुटुको फल्स कम थियो कठिन अवस्थामा आईपुग्नुभयो ।’ मेसु पोखरेलले भने, ‘अन्त पठाउने अवस्तै थिएन हामीले भरपुर प्रयास ग¥यौं, बचाउन सकिएन् ।’ उनी अन्तिम अवस्थामा मात्रै अस्पताल आएको पोखरेलले बताए । लामो समयदेखि मुटुको समस्या रहेकाले उनले नियमित औषधी सेवन समेत गर्दै आएकी थिईन् ।





