पाेखरा, ५ बैशाख- कास्कीको उत्तरपूर्वी गाउँ हो सिक्लेस । अहिले मादी गाउँपालिकामा पर्ने अन्नपूर्णको काखैमा रहेको सिक्लेस संभवत् देशकै बाक्लो गुरुङ बस्ती भएको गाउँ पनि हो । हिमाल हेर्न र गुरुङ संस्कृतिमा रमाउने त छँदैछ, कुनै बेला तत्कालीन गृहमन्त्री कृष्ण सिटौलाले तत्कालीन विद्रोही नेता पुष्पकमल दाहाल र बाबुराम भट्टराई भेटेको ठाउँ पनि हो, यो । पर्यटकीय गाउँको पहिचान बोकेको सिक्लेसमा होटल मात्रै छैनन्, होमस्टे पनि चलाइएको छ ।
समय अनुकुल रहेको भए यतिबेला पर्यटकहरु सिक्लेस उक्लिरहेका हुन्थे । गाउँको ‘नारे पा ( कोदोको रक्सी) को चुस्की लगाउँदै हिमाल हेरिरहेका हुन्थे, कोही कपुचे तालतिर लाग्थे । गाउँलेहरुले सिक्लेस आउन निम्तो बाँडिरहेका हुन्थे । गाउँमा पुग्ने पर्यटकलाई माला लगाएर स्वागत गरिरहेका हुन्थे । पर्यटक बोलाउन गाउँको गीत नै बनाएको सिक्लेसले अहिले भने पर्यटक आउने बाटै बन्द गरेको छ । देशमा कोरोना संक्रमितहरु बढ्दै गएको र केही मान्छेहरु रातारात पोखराबाट हिँडेर गाउँमा पस्दा असुरक्षा भएको भन्दै गाउँलेहरुले बिहीबारबाट गाउँ आउने बाटोमै काँडेबार लगाएका हु्न् ।
मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष सुरजकुमार गुरुङको अध्यक्षतामा बसेको,टोल बिकासका संयोजकहरु,सिक्लेस युवा क्लब विभिन्न संघ सस्था गाउँका बुद्धिजीवीलगायको बैठकले सिक्लेस, पार्चे गाउँमा अत्यावश्यक सवारी साधन एम्बुलेन्स बाहेक कुनै पनि सवारी साधन निषेध गरिएको हो । स्थानीय पारस गुरुङका अनुसार बैठकले विभिन्न सवारी साधनबाट खाद्यान्नको नाममा अन्य सामानहरु ओसार्ने काम रोक्ने निर्णय पनि गरेको छ ।
उनका अनुसार नाकाबाट कोही गाउँ नपसुन् भनेर युवाहरुले नाकामा गस्ती पनि गरिरहेका छन् । उनले जोखिमको समयलाई ध्यानमा दिएर यो निर्णय गरिएको र निर्णयका कारण असुविधा पर्न गएकोमा क्षमा पनि मागेका छन् । यसअघि होमस्टेको लागि कहलिएको लमजुङको घलेगाउँले पनि गाउँमा कुनै पर्यटक राखे ५० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको थियो । कोरोना संक्रमण बढ्दै गएपछि सिक्लेस मात्रै नभएर कास्कीका धेरै गाउँहरुले बाटोमा काँडेबार लगाएका छन् ।




