पोखरा, ५ वैशाख– लकडाउनको समयमा खाद्यान्नको अभावले पोखरा महानगरपालिकाभित्र कोही पनि भोकभोकै बस्न नपरोस भन्दै महानगरले क्विक रेस्पोन्स टोली बनाएर राहत वितरण सुरु गरेको छ । गत चैत १९ गतेको नगर कार्यपालिकाले बनाएको सेवाग्राही छनोट मापदण्डभित्र परेका सेवाग्राहीले तत्काल खाद्यान्नको अभाव भएमा र यसअघि राहत नपाएकाहरुले सेवा लिन सक्नेछन् । पोखरा महानगरपालिकाको पैसा नलाग्ने हटलाइन नम्बर ११८१ नम्बर फोन गरेर राहतका लागि नाम टिपाउन सकिने महानगरपालिकाले जानकारी दिएको छ ।
राहत नपाएको गुनासोबारे छानबिन गरी राहत उपलब्ध गराउननै पर्ने अवस्था भएकाहरुलाई घरघर र बसेकै ठाउँमा पुगेर महानगरले राहत वितरण गरेको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । महानगरले तत्कालका लागि गर्जो टार्न आधा बोरा चामल, दुई केजी दाल, एक लिटर तेल, एक पोका नुन, एक केजी चना वितरण गरेको छ ।
बिहिबार र शुक्रबार महानगरले खाद्यान्न अभाव भएका दैनिक ज्यालामजदुरी गरेर खाने १० घरपरिवारलाई राहत वितरण गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । उनका अनुसार, महानगरले पूर्ण र आंशिक प्याकेज गरी १९ हजार २ सय २० घर परिवारलाई राहत वितरण गरेपछि पनि राहत नपाएको गुनासो आएपछि घरघर पुगेर राहत वितरण गर्न सुरु गरेको हो ।





