बागलुङ, १३ बैशाख – ‘अस्पताल आउँदा (१५ चैत २०७६ राती) छिट्टै फर्किन्छु भन्ने विश्वास थियो, तर एक महिनै वस्नु पर्यो नि !’ हर्ष विभोर हुदै उनले ढोरपाटनसंग भनिन्, ‘सवैको सहयोग पाएर कोरोनालाई जिते ।’ त्यसो त उनलाई बेल्जियमबाट घर फर्किदा महामारीको रुपमा फैलिएको कोरोना भाइरस पनि आफुसंगै आएको होला भन्नेमा पटक्कै विश्वास लागेको थिएन । वैदेशिक यात्राबाट फर्किदा उनको मन चंगाझै उडेको थियो । कहिले घर पुगौंला र साथीसंगीसंग आफ्ना अनुभव साटौला भन्नेमा नै हतारो थियो उनलाई ।
उनीसंगै कतार एयरवेजको ६५२ विमानमा आएकी काठमाडौंकी युवतीमा कोरोना संक्रमित पुष्टी नहुदासम्म उनलाई कुनै पनि शंका थिएन । शरिरमा बढेको तापक्रम र सामान्य रुघाखोकीलाई त उनले पचाइन नै । ‘त्यतिवेला त केही नै भएकै थिएन, अनि किन डराउनु नि !’ ढोरपाटनसंग अलि खुल्दै भनिन्, ‘जव हामीसंगै आएका साथीलाई नै कोरोना लाग्यो भन्ने सुने, बल्ला मनमा चिसो पस्यो ।’ यता, काठमाडौंकी युवतीमा संक्रमणको पुष्टीभएसंगै राज्य नै उनीसंग आएकाहरुको खोजी गर्न लागिसकेको थियो । खोजीको क्रममा नै उनको थ्रेट स्वाव लिइयो र परिक्षणका लागि पठाइयो । ‘जे नहोस भनेको हो, त्यही भयो’, उनका पिता ऋषिराम सापकोटाले पुरानो दिन सम्झिदै भने, ‘रिपोर्ट पोजेटीभ आएपछि छोरीलाई बल्लबल्ल सम्झाएर अस्पताल पठाए ।’ एउटा होइन, दुईटा होइन, चार पटकसम्म उनको स्वाव रिपोर्ट पोजेटीभ नै आयो र, उनको अस्पताल वसाईका दिन पनि लम्बिदै गए । शुक्रवार राती घर पुग्दा २८ दिन वितिसकेका मात्रै थिएनन्, घर नै विरानो भइसकेको लाग्यो उनलाई । ‘यो एक महिना हाम्रो लागि त कष्टसाध्य नै भयो नि ।’ पिता ऋषिरामले भने, ‘सुरु सुरु त केही जस्तो नै लागेको थिएन, बुढी आमा पनि निस्केपछि भने छोरीलाई अलि सम्झाउनु पर्यो ।’
घर छाड्दा जसरी रात परेको थियो, अस्पतालबाट विदाई हुदाँ पनि मध्यरात नै भयो अंशुलाई । नेपालकै पाँचौ कोरोना संक्रमित बागलुङ नगरपालिका–४ कुँडुलेकी १९ बर्षिय अंशु सापकोटा शुक्रवार मध्यरातमा विदेशबाट आउदा जसरी नै उमंगका हात हल्लाउदै घर फर्किन । महिनादिन संगैराखेर हेरचाह गर्दै आएका चिकित्सक र नर्सहरुले फुलका गुच्छासहित उत्साहकासाथ ताली बजाएर विदाई गरे । अस्पतालमा उपस्थित अन्य सवैले एकआपसमा खुशी साटसाट गरे । अंशुले पनि आफुलाई सहयोग गर्ने सवैलाई धन्यवाद दिन छुटाइनिन् ।
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डबाट निको भएर फर्किनु पूर्व उनको छैठौ स्वावको रिपोर्ट शुक्रवार राती ८ बजे मात्रै आएको थियो । छैठौ पटकको स्वाब परीक्षण रिर्पोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र वि पोखरेलले बताए । अघिल्लो दिन उनको पाँचौ स्वावको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अर्काे रिपोर्टको नतिजाको पर्र्खाइमा थियो अस्पताल पनि । अस्पतालबाट डिस्चार्ज हुँदै अंशुले आफ्नो उपचारमा सहयोग गर्ने स्वास्थ्यकर्मिलाई धन्यवाद दिईन् । ‘इमुनिटी पावर बढाउने खानेकुरा खाएँ, मन ढुक्क बनाएँ ।’ उनले भनिन् ‘आज म धेरै खुसी छु ।’
तातोपानी पिउने र मनलागेको खाना मात्रै खाएको वताउदै उनले २८ दिनसम्म मेडिकल औषधी भने कुनै पनि खान नपरेको ढोरपाटनलाई बताइन् । ‘औषधी त खाइनन् नि !’ अरु भने मन लागेको खाएको वताउदै थपिन, ‘माशु, अण्डा, दाल, भात, तरकारी, विस्कुट सवै खाए ।’ यसरी औषधीविनै कोरोनालाई जितिन पाँचौ संक्रमित १९ बर्षिय युवतीले । अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा उनका पिता ऋषिराम सापकोटाले चिकित्सक र शुभचिन्तक सवैलाई धन्यवाद दिए ।
धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा दुइ जना सक्रमित उपचाररत थिए । ६५ बर्षिय वृद्धा एक हप्ता अगाडि नै डिस्चार्ज भएकी थिइन । अव भने कुनै संक्रमित छैनन् अस्पतालमा । ‘सवैको चासो यही अस्पतालमा थियो ।, अस्पतालका डा. प्रदिप श्रेष्ठले भने, ‘पहिलो चरणमै हामी सफल भयौं । यहाँबाट अरुलाई पनि सिकाई हुनेछ । अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष केवि राना मगर र सदस्य शालिकराम शर्मा पनि दिनरात चिकित्सकसंगै जुटेका थिए । विरामीलाई फुलको गुच्छासहित विदाई गर्दै अध्यक्ष रानामगरले भने, ‘यो हामी सवैको जीत हो, विशेषत यहाँका चिकित्सक र सिस्टरहरुको खठाईले हामी सफल भएका छौ, सवैलाई धेरै धेरै धन्यवाद । स्वास्थ्यकर्मीहरुको सेवाभावले काम गर्दा सवै खुशी हुन पाएका छौ ।’ निको भएर घर फकिएकी अंशुलाई १४ दिन होम क्वारेन्टाएनमा बस्न डाक्टरहरुले सुझाएका छन् ।
बेल्जियमबाट गत चैत ४ गते कतार एयरको क्यु आर ६५२ नम्बरको विमानबाट अंशु काठमाण्डौ आएकी थिइन् । काठमाडौंबाट यति एयरको ६७९ जहाजबाट पोखरा र त्यहाँबाट स्कार्पियोमा घर आएकी हुन् । बाबुआमा भेट्न गएकी उनी साँढे दुइ महिनासम्म बेल्जियममा बसेर फर्केकी थिइन् । उनको बाबुआमा र भाइबैनी बेल्जियममा बस्दै आएका छन् । कक्षा ११ मा पढ्ने उनी पनि १२ कक्षा उत्र्तिण भएपछि बेल्जियम जाने योजनामा छिन् । 




