मुख्य खाना मासुलाई बढी प्राथमिकता दिने वर्षका सबैभन्दा ठुला नेपाली चाडपर्वहरूमध्ये दशैं र तिहार मुख्य चाडबाड हुन् भने धार्मिक र सांस्कृतिक प्रचलन अनुसार अन्य चाडपर्व पनि फरक फरक तरिकाले मनाउने गरिन्छ । यी पर्वमा विशेष गरी दुर्गादेवीका मठ र मन्दिरहरूमा देवीलाई खुसी पार्न भनेर पशुपन्छीको बलि समेत दिने गरिन्छ र पशुपन्छीको मासु खाने गरिन्छ । पशुबलि दिनु कति हदसम्म राम्रो हो वा होइन, दुर्गादेवीले पशु हत्यालाई मन पराउँछिन् कि पराउँदिनन्, उनले पशुबलिबाट दिइएको रगत खाने गर्छिन् वा गर्दिनन् र पशु अधिकारको संरक्षण कसरी गर्ने भन्ने विषय छुट्टै विषयको बहस बन्ला तर यहाँ दशैंमा बलि चढाएर वा नचढाएरै वा नियमित रुपमा मासु खानु कति उचित छ वा छैन र मांसाहारका सम्बन्धमा चल्दै आएका सत्य र भ्रमका कुराहरुलाई पनि चिरफार गर्ने उद्देश्यका साथ विश्लेषण गरी यो आलेख तयार गरिएको छ ।
विभिन्न प्राणीहरूको खाना खाने प्रकृति
प्रकृतिका आधारमा संसारका विभिन्न सजीव प्राणीले आफ्नो खाद्यपदार्थ फरक फरक तरिकाले खान्छन् । मानिस एउटा त्यस्तो प्राणी हो जसले खाद्यपदार्थलाई पकाएर खान्छ भने अन्य कुनैपनि प्राणीले खाना प्रकृतिले दिएकै स्वरुपमा खाने गर्छन् । खाना खाने स्वरुप अनुसार यस प्रकृतिमा निम्न प्रकारका प्राणी पाइन्छन्–
–मांसाहार प्राणी (Carnivores) : त्यस्ता प्राणी जसले मासु मात्र खान्छन् अरु केही खाँदैनन्
–शाकाहार प्राणी (Herbivores) : त्यस्ता प्राणाी जसले अन्न वा वनस्पति वर्ग मात्र खान्छन्
–सर्वाहार प्राणी (Omnivores) : त्यस्ता प्राणी जसले वनस्पति, मासु तथा अन्न सबै खान्छन्
मानिस सर्वाहारी प्राणी हो तर आजकाल भेगान वर्ग समेत अस्तित्वमा आएका छन् । संसारका अधिकांश मानिसहरू सर्वाहारी छन् तर केही मानिसहरू शाकाहारी पनि छन् । मानिस स्वभावैले र प्रकृतिले बनाएको आधारमा मांसाहारी हुनै सक्दैन, मानिस शाकाहारी नै हो तर मांसाहार सेवन गर्नु मानिसका लागि राम्रो होइन । वास्तवमा मानिस कस्तो प्राणी हो त भन्ने बुझ्न शाकाहारी र मांसाहारी प्राणीबिचको फरक बुझ्नुपर्ने हुन्छ ।
शाकाहारी र मांसाहारी प्राणीबिचको फरक
१. मांसाहारीको दाँत लामो, तीखो र पछाडि मोडिएको हुन्छ जुन मानिसमा पाईंदैन ।
२. मांसाहारीको बङ्गारा तलमाथि मात्र गर्छ, दायाँबायाँ गर्दैन तर मानिसको बङ्गारा चारैतर्फ चल्छ
३. मांसाहारीका बच्चा जन्मँदा आँखा खुल्दैनन् केही दिनपछि खुल्छन् तर शाकाहारीका बच्चा जन्मने बित्तिकै देखि खुल्छन् ।
४. मांसाहारीले तरल पदार्थ पिउन सक्दैनन् चाटेर खान्छन् तर शाकाहारीले घुट्का लिएर पिउँछन् ।
५. मांसाहारीको आन्द्राको लम्बाइ छोंटो हुन्छ तर शाकाहारीको आन्द्राको लम्बाइ लामो हुन्छ ।
६. मांसाहारीका हात खुट्टाका पञ्जाका नङ्ग्रा बलिया र आक्रमण गर्न सक्ने हुन्छन् तर मानिसका नङ्ग्रा बलिया नभई भाँचिने खालका हुन्छन् ।
सरसर्ती हेर्दा यी फरकहरूको आधारमा के भन्न सकिन्छ भने मानिस मांसाहारी जीव होइन, मांसाहारी जीवको विकासक्रमसँगै शाकाहारीका रुपमा विकास भएको जीव हो । तर सबै किसिमका शाकाहारी र मांसाहारी मानिसमा समेत विशेषतामा फरकपन पाइन्छ । सबै शाकाहारी र सबै मांसाहारी मानिसका केही फरक विशेषताहरू यसप्रकार छन्–
क) शाकाहारी मानिसहरू
१. मासु नखाने तर अण्डा खाने
२. अरु मासु केही नखाने तर माछा खाने (माछालाई मासु नभन्ने वर्ग)
३. मासु, अण्डा केही नखाने तर ननभेज चाउचाउ खाने
४. धार्मिक या आध्यात्मिक कारणले मासु, अण्डा, च्याउ, लसुन, प्याज केही नखाने (सात्विक खाना खाने)
५. मासु, अण्डा, माछा, दुध, दही केही नखाने वा भेगन (पशुपंछीबाट उत्पादित कुनै चिज नखाने)
६. भरखरै मांसाहार त्याग गरेका वा नयाँ शाकाहारीहरू (अचानक चेतना खुलेर पशु प्रेमका कारण मासु खान छाडेका तर भित्रभित्रै थुक निलिरहने खालका) वा शारीरिक रोगका कारण मासु खान छाडेकाहरू यो वर्गमा पर्छन् । तर यस्ता वर्गले पुनः मासु खान सुरु गर्न सक्छन् ।
ख) मांसाहारी मानिसहरू
१. हार्डकोर मांसाहारी (चिनियाँ जस्ता सबैथोक खाने)
२. सफ्टकोर मांसाहारी (सबै मासु नखाने जस्तै ः खसी मात्र खाने, पाडो वा बंगुर देखेमा वाकवाकी लाग्ने खालका)
३. कुखुरा वा सुंगुर नखाने तर अरु खाने (कुखुरा वा सुंगुरले फोहर खान्छन् भनेर घिन मानेर नखाने तर अरु मासु खाने)
४. बफ र पोर्क अति रुचाउने (नयाँ पुस्ताहरू जसले बफ र पोर्क बढी मन पराउँछन्)
५. पशु हिंसाको विरोध गर्ने तर हिंसारहित मासु खाने ।
शाकाहारी र मांसाहारी भोजन कुन ठीक हो त ?
शास्त्रका अनुसार मासुको प्रयोग नगर्नुलाई मात्र शाकाहारी भन्न सकिंदैन । जुन भोजन प्रयोग गर्दा शरीरमा नशा पैदा हुँदैन र अनावश्यक मासुको वृद्धि हुँदैन त्यही भोजन नै शाकाहार हो । यदि दालभात मात्र पनि बढी खान्छ र खाना खाएपछि उसलाई झम्म महसुस् हुन्छ भने त्यो पनि शाकाहार होइन । फलफूल नै किन नहोस् टन्न पेटभर खाएपछि झुम्म पार्दछ र सुत्ने मन हुन्छ वा अल्छी महसुस् हुन्छ भने त्यो अवस्था शाकाहारी अवस्था होइन । शाकाहारको अर्थ हो सत्वगुणी भोजन । भोजनले शरीरमा तमोःगुण पैदा गर्नुहुँदैन । सत्वगुणी भोजनले सधैं शरीरमा फुर्तिलोपन, नैतिकता, कार्यमा उत्साह र शारीरिक बलको घमण्ड नभई मानसिक प्रखरता उत्पन्न गर्दछ ।
पोषणविज्ञानका दृष्टिकोणमा प्रोटिन बढी पाइने सबै भोजन मांसाहार हुन्, कार्बोहाइड्रेट र चिल्लो बढी पाइने सबै भोजन अन्नाहार वा मध्याहार हुन् भने भिटामिन एवम् खनिज लवण बढी पाइने सबै भोजन शाकाहार हुन् । त्यसकारण शारीरिक परिश्रम बढी गर्नु छ भने शाकाहारमा अन्नाहार जोड्नुपर्छ तर भुलेर पनि मांसाहार गर्नु हुँदैन । हात्तीको शक्ति शाकाहारबाट विकसित भएको हो, गाई, भैंसी, घोंडा आदि सबै घाँस खाएर पनि शक्तिशाली छन् । जङ्गलमा घाँस खाएर ती जनावर कहिल्यै बिरामी भएर मर्दैनन् बरु वृद्ध भएर मात्र मर्दछन् ।
मांसाहारका तुलनामा शाकाहारहरूबाट प्राप्त पोषक तत्व शरीरले छिटो पचाउन र अवशोषण गर्न सक्छ । मांसाहारमा पोषक तत्वका साथमा केही विषालु पदार्थ पनि छन् जुन स्वास्थ्यको अनुकूल छैनन् । साधारण दृष्टिमा मांसाहारको हानि कम देखिएतापनि वैज्ञानिक परीक्षणबाट मासुमा लगभग ६० प्रतिशत पोषक तत्व र ४० प्रतिशत हानिकारक तत्व पाईन्छ ।
यसैगरी वनस्पति प्रोटिनको ९५ प्रतिशत भाग पाचन हुँदा मासुको ५० प्रतिशत भाग पनि पाचन हुन सक्दैन । त्यस्तै मासुमा फाईबर नपाइनाले मलनिष्कासन ढिलो र कब्जियत बढी हुन्छ तर शाकाहारमा प्रशस्त फाईबर पाइने हुँदा दिसामा समस्या आउँदैन । यसरी मासुमा आन्द्रामा बढी समय रहँदा सड्न गई हानिकारक विभिन्न असरहरूका साथै दुर्गन्धयुक्त दिसा आउँछ तर शाकाहार छिटो पाचन भई छिटो बाहिर जाने हुँदा दुर्गन्ध पनि हुँदैन ।
मासुमा भन्दा दालवर्गमा बढी प्रोटिन पाईन्छ । साथै दालबर्गको प्रोटिन मासुबाट प्राप्त प्रोटिन भन्दा सस्तो, पचाउन सजिलो र हानिरहित हुन्छ । दालबर्गलाई अङ्कुरित गरेर खाने हो भने झन् पोषक तत्वमा वृद्धि हुनाका साथै पाचन र मलनिष्कासनमा पनि सकारात्मक प्रभाव पार्दछ ।
कार्बोहाइड्रेट, भिटामिन र खनिज पदार्थ बढी भएको भोजनले मस्तिष्कमा सेरोटोनिनको मात्रालाई बढाइदिन्छ । यस्ता भोजन सेवन गर्ने जीव शान्त हुँदै जाने र सेरोटोनिन अरु बढ्नाले निद्रा लाग्न थाल्छ । यसको विपरित मांसाहार र उच्च प्रोटिनवाला भोजन जसमा ट्रिप्टोफेन नामक एमिनो एसिड हुँदैन भने यस्ता भोजनले मस्तिष्कमा सेरोटोनिनको कमी हुन थाल्छ र अशान्ति, तनाव तथा अनिद्राका लक्षणहरू देखिन थाल्छन् । यस्तो अवस्था लगातार कायम भएमा आएको विक्षिप्तिबाट हिंसा पैदा हुने हुँदा मांसाहारी जीव बढी हिंस्रक हुने गरेका हुन् ।
खाना खाने र खानाको छनौट गर्ने कुरा विभिन्न देश, ठाउँ र परिस्थिति अनुसार हुनेगर्छ । खानाको छनौट गर्दा सकभर जनावरजन्य स्रोत भन्दा वनस्पतिजन्य स्रोत नै छनौट गर्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसैगरी जीवनशैलीमा परिवर्तन गरी नियमित शारीरिक क्रियाकलाप गर्ने, खाना अरुलाई खुवाएर बल्ल आफूले खाने, आनन्दित जीवन बिताउने, मांसाहारी हो र मासु खानैपर्ने हो भने माछा तथा सामुद्रिक खाना कम्तीमा हप्ताको दुईपटक मात्र खाने गर्नुपर्छ ।
मांसाहार त्याग गर्नाले शरीरमा पर्ने प्रभावहरू
१. मासुमा उच्च स्याचुरेटेड चिल्लो हुन्छ जसले सुजन गराउँछ र यसबाट क्यान्सर तथा अन्य रोगको डर हुन्छ तर मांसाहार त्याग गर्नाले सुजन कम हुन्छ ।
२. पेटको स्वास्थ्य राम्रो हुन्छ । किनकि मासु वा प्रशोधित खानाले पेटका जीवाणुहरू नष्ट हुने र वनस्पति स्रोतजन्य खाद्यान्नले त्यस्ता जीवाणुहरूको वृद्धि विकास हुन्छ जसले गर्दा पेटको स्वास्थ्य राम्रो हुन्छ ।
३. यदि मासु खाइरहने व्यक्तिले खान छाडेमा निकै कमजोर महसुस् हुन्छ किनकि नियमित आपूर्ति भइरहने प्रोटिन, आईरन र अन्य तत्वको कमी भएमा शक्ति क्षय हुन्छ । त्यसकारण मासु छाडेपछि हरिया सागपात, फलफुल, नट्स, बिन आदि खानुपर्छ जसले शरीरको अवस्था यथावत बनाउँछ ।
४. मासु सेवन गर्न छाडेर शाकाहारी भोजन गर्दा फलफुल वा तरकारीमा पाइने फाईबर तथा पानीका कारण बढी मात्रामा शौचालय जानुपर्ने हुन्छ भने दिसा पनि राम्रोसँग खुलेर आउँछ ।
५. मासु छाड्नाले दोस्रो टाइपको सुगर रोगको सम्भावना पनि कम हुन्छ ।
६. मासुमा पाइने स्याचुरेटेड चिल्लोले खराब कोलेस्टेरोल बढाउने र राम्रो कोलेस्टेरोलको मात्रा कम हुनथाल्छ फलस्वरुप न्यून कोलेस्टेरोल हुन्छ ।
७. शाकाहारी भोजनमा जति मांसाहारी भोजनमा खर्च हुँदैन र पैसाको पनि बचत हुन्छ ।
८. मासुजन्य पदार्थले ग्रीनहाउस प्रभाव पार्ने र कार्बन उत्सर्जन गर्ने भएकोले मासुका सट्टा वनस्पतिजन्य खाद्यान्नको प्रयोग गर्दा वातावरणमा पनि सकारात्मक प्रभाव पर्छ । यसैगरी पशुपालन गर्दा बढी जग्गाको आवश्यकता पर्ने, पानीको मात्रा बढी खपत हुने र अन्य नकारात्मक प्रभाव समेत पर्दछन् तर वनस्पतिको खेतीपातीमा यी समस्या हुँदैनन् ।
९. मासु नखाएमा अन्य थप तत्वको आवश्यकता पर्दछ किनकि वनस्पतिजन्य खाद्यान्नबाट मासुमा जति तत्व प्राप्त गर्न सकिंदैन । त्यसकारण भिटामिन बी१२, आईरन, क्याल्सियम र अन्य भिटामिनहरू प्राप्त गर्न थप खाद्यपदार्थ मिसाएर खानुपर्दछ ।
१०. मांसाहार त्याग गर्दा तौल कम हुनसक्छ ।
हामीलाई लाग्छ, मांसाहार शरीरका लागि अत्यावश्यक छ, त्यही कारण चिकित्सकहरु पनि माछा मासु खानुपर्छ भनेर सल्लाह दिन्छन् । वनस्पतिजन्य खानामा नपाइने तत्व मासुमा पाइन्छ, भिटामिन बी१२ कुनैपनि त्यसकारण वनस्पतिजन्य खानामा पाईदैन, प्रोटिन र क्याल्सियम बढी पाइन्छ यी सबै भनाइहरु भ्रम मात्र हुन् भनेर बुझ्नु जरुरी छ । भिटामिन बी१२ वास्तवमा मासुजन्य खाद्यपदार्थमा मात्र पाइन्छ भन्नु सत्य हो तर के माछामासु खाने मानिसमा भिटामिन बी१२ को कमी देखिएको छैन त ? यो बडो सोचनीय कुरा पनि यसअर्थमा छ कि अहिले अधिकांश मानिस चाहे त्यो शाकाहारी होस् वा मांसाहारी होस् रगत परीक्षण गरेर हेर्ने हो भने लगभग ७० प्रतिशतमा भिटामिन बी१२, क्याल्सियम र भिटामिन डी को कमी रहेको देखिन्छ । त्यसकारण यस्ता भ्रमको पछि नलागी वास्तविक सत्यतथ्य बुझ्न जरुरी छ । जसलाई यस आलेखमा प्रष्ट पारिएको छ । वास्तवमा हामीले स्वस्थकर जीवन बनाउनका लागि सकभर शाकाहार भोजन लिनु नै उचित हुन्छ । यसका लागि मांसाहारका सट्टामा निम्न किसिमका खाना छनौट गरी सेवन गर्दा स्वास्थ्य स्वस्थ बनाउन सकिन्छ–
क) शाकाहारीका लागि
१. तरकारी : टमाटर, ब्रोकाउली, पालुङ्गो, काउली, रायो, काँक्रा आदि ।
२. फलफुल : स्याउ, केरा, सुन्तला, नासपाती, स्ट्रबेरी, अङ्गुर, आरु आदि ।
३. नट्स र बियाँ : बदाम, काजु, सूर्यमुखीको बियाँ, फर्सीको बियाँ आदि ।
४. गेडागुडी : सिमी, केराउ, दाल, पिनट, चना आदि ।
५. ट्युबर्स : आलु, सखरखण्ड, पिँडालु, तरुल आदि ।
६. होल ग्रेन : ओट्स, खैरो चामल, कोदो, मकै, गहुँ, रोटी र पास्ता ।
७. दुग्ध पदार्थ : चिज, दही, दुध आदि ।
८. जडीबुटी र मसला : लसुन, पुदिना, अलैंची, मरीच आदि ।
९. स्वस्थकर चिल्लो : ओलिभ तेल, एभोकाडो र एभोकाडो तेल ।
ख) मांसाहारीका लागि–
१. मांसाहारीको लागि अन्य जनावरको मासु भन्दा निम्न माछा र सामुद्रिक खाना खानु उचित मानिन्छ– सालमोन, सार्डिनेस, ट्राउट, टुना, म्याकेरेल, स्रिम्प, ओस्टर, क्लाम, क्र्याब, मुसेल आदि जातका माछा वा सामुद्रिक खाना ।
२. मासु सेवन गर्ने नै हो भने खसी, बोका, राँगा, सुंगुर, बुंगुर वा अन्य पशुको भन्दा कुखुरा, हाँस, टर्की आदिको मासु केही हदसम्म उचित हुन्छ ।
३. अण्डा सेवन गर्नेले कुखुरा, क्वाईल (Quail) र हाँसको अण्डा सेवन गर्नु उचित हुन्छ ।
निचोडमा, विभिन्न जनावर वा पंछीलाई मारेर खानाको रुपमा प्रयोग गर्नुलाई नै मांसाहार भनिन्छ । परम्पराकालदेखि मानिसले पनि मासु खाँदै आएको पाइन्छ । मासुका लागि पशुपालन गरेर, जङ्गली जनावर मारेर, नदी–नाला र समुद्रका जीवहरू मारेर, चराचुरुङ्गी पालेर र अण्डा वा मासु प्राप्त गरेर खाने गर्दछ । यसरी खाने मासुमा (राँगो, सुँगुर र कुखुराको मासुमा) अत्यावश्यक एमिनो एसिड र बढी मात्रामा प्रोटिन तत्व पाइन्छ भने भिटामिन बी१२, आइरन र जिङ्क पनि मासुमा पर्याप्त पाइन्छ । यसका साथै उच्च मात्रामा हानिकारक चिल्लो (स्याचुरेटेड फ्याट) र खराब कोलेस्टेरोल समेत मासुमा पाइने हुँदा फाइदा गर्ने भन्दा बेफाइदा बढी गर्ने तत्व मासुमा बढी पाइन्छ । शाकाहार भोजनमा पनि गेडागुडी वर्गमा पर्याप्त प्रोटिन, फाइबर, मिश्रित कार्बोहाइड्रेट, भिटामिन, खनिज, फोलेट, आइरन र पोटासियम पनि पाइन्छ । शाकाहार भोजनमा कम चिल्लो वा खराब नगर्ने चिल्लो पाइने हुँदा स्वास्थ्यको लागि राम्रो हुन्छ । त्यसकारण पनि मासु खानेको स्वास्थ्य शाकाहार भोजन गर्नेको तुलनामा खराब नै हुन्छ । त्यसैले सन्तुलित आहार सेवन गर्दा सबै वर्गका पौष्टिक तत्व मिलाएर आफ्नो स्वास्थ्यलाई ख्याल राखेर भोजन गर्नु नै बुद्धिमानी हुनेछ । अस्तु



