बागलुङ, १५ बैशाख– कोरोनाका बिरामीको उपचार चलिरहेका बेला धौलागिरी अञ्चल अस्पतालमा बन्द रहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिक सूचारु भएको छ । अस्पतालमा रहेको क्लिनिक बागलुङ नगरपालिकाले सञ्चालन गर्दै आएको थियो ।
आईतबारदेखी आधारभूत र अत्यावश्यक सेवा प्रबाह गर्नेगरि क्लिनिक सञ्चालनमा आएको बागलुङ नगरपालिकाका जनस्वास्थय शाखा प्रमुख रामप्रसाद खनालले बताए । स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्रीसहित सेवामा लाग्न भनिएको छ । बागलुङ बजारक्षेत्रका महिला तथा बालबालिकालाई लक्षित गरेर सञ्चालनमा रहेको क्लिनिक अञ्चल अस्पताल कोरोना अस्पताल बनेसँगै बन्द भएको थियो ।
क्लिनिक सञ्चालन भएसँगै खोप, प्रसुती र परिवार नियोजन सेवा सूचारु भएको जनस्वास्थ्य शाखाका अहेब डिल्ली आचार्यले जानकारी दिए । ‘स्वास्थ्य सुरक्षा सामग्रीको अभावले क्लिनिकका सेवाहरु स्थगित थिए, अहिले प्राप्त स्वास्थ्य सुरक्षासहित क्लिनिक सूचारु गरेका छौं’ आचार्यले भने ।
क्लिनिकमा एक महिनादेखि रोकिएको खोप सेवा सञ्चालनमा ल्याईएको छ । अस्पतालले भने आकस्मिक कक्षबाट प्रसुती सेवा दिँदै आएको थियो । खोप र परिवार नियोजन सेवासमेत सूचारु भएपछि अस्पतालमा सर्वसाधारणको चहलपहल बढ्न थालेको छ । नगरपालिकाले यो क्लिनिक सञ्चालनका लागि पाँच जना स्वास्थ्यकर्मी खटाएको छ ।
साधारण चेकजाँचका कामले भने सेवाग्राहीलाई अस्पताल नआउन शाखाले अनुरोधसमेत गरेको छ । कोरोना संक्रमित बिरामीहरु उपचारपश्चात घर फर्किएपछि अवस्था सामान्य बन्दै गएको र खोप तथा मातृशिशुजस्ता अत्यावश्यक सेवा सञ्चालन गर्न क्लिनिकसूचारु गरिएको आचार्यले बताए । क्लिनिक सञ्चालनसँगै यहाँका बालाबालिकाले नियमित खोप पाउने छन् ।





