बागलुङ, १९ बैशाख – काठेखोला गाउँपालिका-२ भीमापोखरामा पहिरोका कारण दुई घर जोखिममा परेका छन् भने एक गोठ भत्किएको छ । केही दिन यता निरन्तर भैरहेको बर्षासँगै आएको पहिरोले भीमापोखरा–२ सिमका यामप्रसाद शर्मा र धनकली पौडेलको घर जोखिममा परेका छन्भने सोही ठाउँका हरिनारायण गौतमको गोठ भत्किएको वडा अध्यक्ष बिद्यापति शर्माले वताए ।
गाउँ पुग्नका लागि यसैबर्ष निर्माण गर्न थालिएको सडक निर्माण भएको ठेकेदारका लापर्वाहीका कारण पहिरो खस्दा घरहरु नै जोखिममा परेको र पानी ट्याङकी भत्किदा स्थानीय समस्यामा परेका छन् । सडक भत्काइएको तर त्यसबाट जोखिममा भएका घर र गोठको सुरक्षा नभएको कारण समस्या उत्पन्न भएको स्थानीय पिडित यामप्रसाद शर्माले वताए ।
बाटो विस्तार गर्ने क्रममा घरगोठ तलबाट डोजर लगाइएको र त्यसबाट उत्पन्न हुने जोखिमको न्यूनीकरणमा ध्यान नदिएकोले सानो पानी पर्दासाथ पहिरो खसेर समस्या उत्पन्न भएको हो । पहिरोले सिम गाउँको खानेपानी योजनाको डिपीटीमा समेत क्षति पु¥याएका कारण स्थानीय शिवालय आधारभुत विद्यालयका शिक्षक बिद्यार्थी र सिम गाउँका उपभोक्ताले पिउने पानी अवरुद्ध भएको वडा अध्यक्ष शर्माले बताए । त्यहाँ रहेको शिवालय मन्दिर समेत जोखिममा छ । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको वडाध्यक्ष शर्माले जानकारी दिए । नयाँ सडक र बाढीका कारण पहिरोको जोखिम बढेकाले स्थानीय त्रसित बनेका छन् ।
यसैविच, सडक निर्माण र पहिरोका कारण जोखिम परेका घर र भत्केको गोठ तथा अवरुद्ध खानेपानीको गाउँपालिकाका अध्यक्ष अमर थापा, प्रमुख प्रशासकीय अधिकृत खिम वहादुर विश्वकर्मा र पालिकाका सुशासन समितिका संयोजक टिका संगम विकले निरीक्षण गरेका छन् । निरीक्षणपछि उनीहरुले सडक निर्माणमा लापर्वाही भएको र त्यसबाट जोखिम सिर्जना भएको भन्दै सडक निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीलाई वोलाएर जोखिम भएको स्थानमा सडक निर्माणको कामलाई तुरुन्तै अगाडि बढाउन वडाध्यक्ष शर्मालाई निर्देशन दिएका छन् ।






