बागलुङ, २० बैशाख – कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र उपचारका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका मजदुर, विपन्न र गरिबलाई बागलुङ नगरपालिकाको वडा नंं. ४ ले शनिवार तेस्रो चरणको राहत सामग्री वितरण गरेको छ । स्थानीय दाताहरुको सहयोगमा प्रति परिवार चामल २५ किलो, दाल २ किलो, खानेतेल २ लि., नून १ किलो र सावुन १ वटा का दरले वितरण गरिएको वडा अध्यक्ष धुव्र वहादुर केसीले वताए ।
आफ्ना बाबुको स्मरणमा स्थानीय युवा भरत शर्माबाट वडा कोषमा प्राप्त भएको रु.५० हजार, धौलागिरी प्राविधिक प्रतिष्ठानबाट रु. २५ हजार, न्यू ओयसिस वोर्डिङ स्कुलबाट रु. २० हजार, नेपाल रेडक्रस सोसाईटी कालिका उपशाखाबाट रु. २० हजार र हाल जापानमा रहेका रेशम बहादुर क्षेत्रीबाट प्रात रु. १० हजार गरी जम्मा रु. १ लाख २५ हजारबाट खरिद गरिएको खाद्यान्न सामग्री वितरण गरिएको हो । पहिलो र दोस्रो चरणको राहत वितरणमा छुटेका ५० घर परिवारलाई यो राहत वितरण गरिएको वडा सचिव शर्मिला शर्माले वताइन ।
राहत सामग्री वडा अध्यक्ष केसी, सहयोग दाता भरत शर्मा, न्यू ओयसिसका प्रिन्सिपल नेत्र न्यौपाने, धौलागिरी प्राविधिक प्रतिष्ठानका सञ्चालक दिनेश जिसी लगायतले वडा कार्यालयबाट उनीहरुलाई प्रदान गरेका थिए ।
नगर कार्यपालिकाबाट वडालाई प्राप्त रु. २ लाख २५ हजारबाट खरिद गरिएको खाद्यान्न सामग्री वडा कार्यालयले पहिलो चरणमा श्रममा आधारित मजदुर र स्थानीय विपन्न १ सय २५ घर परिवारलाई वितरण गरेको थियो ।
दोस्रो चरणमा १ सय ८९ घरपरिवारलाई नगरपालिकाले सञ्चालन गरेको फुड बैंकमार्फत खाद्यान्न सामग्री वितरण गरिएको वडाध्यक्ष केसीले वताए । त्यति नै बेला निरायका आश्रममा रहेका वृद्ध आमावुवाहरुलाई खाद्यान्न सामग्री प्रदान गरिएको थियो ।
वडा कार्यालयका सहायक कर्मचारी रविन्द्र सुवेदीका अनुसार विदेशमा रहेका टीकाराम शर्माको सहयोगमा ७ बोरा चामल, १० केजी दाल, १० लिटर खानेतेल, १० केजी नून र १५ वटा सावुन आश्रममा वितरण गरिएको थियो ।
बागलुङ नगरपालिकाको ४ नं. वडा कार्यालयमा इटा उधोग, वर्क सप, साना उधोग र निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरु बढि रहेकाले राहत वितरणको मात्रै पनि बढि भएको अध्यक्ष केसीले वताए । ‘धेरै पक्षबाट प्राप्त भएको सहयोगले समस्यामा परेका सवैलाई ब्यवस्थापन गर्न सकिएको हो’, अध्यक्ष केसीले भने ।






