बागलुङ, २१ बैशाख – लकडाउनको समय बजारमा उपभोक्ताहरुको हित विपरितका कार्य हुनसक्ने भन्दै यहाँका स्थानीय तहले सक्रियता बढाएका छन् । जिल्लाको ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिका तथा घरेलु तथा साना उद्योग कार्यालय लगायतका सरोकारवालाको बजार अनुगमनमा सक्रियता बढेको छ ।
खाद्यबस्तुको अस्वभाविक मुल्यबृद्धि, म्याद गुज्रिएका खाद्य बस्तुको बिक्रीवितरण र कृतिम अभाव सिर्जना हुन नदिन सरोकारवाला सक्रिय भएका हुन् । सदरमुकाम बागलुङ बजार तथा गाउँपालिकामा रहेका बजार अनुगमनका क्रममा मुल्यबृद्धि र कृतिम अभाव देखिएको छैन । तर म्याद गुज्रिएका सामग्रीको बिक्री भने खुलेआम भैरहेको राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले बताए । ताराखोलाले केही दिनअघि गाउँमा रहेका १ सयभन्दा धेरै पसलमा अनुगमन गर्दा म्याद गुज्रिएका खाद्यबस्तु भेटिएका थिए ।
गाउँपालिकाले व्यवसायीलाई सचेत गराउँदै बरामद गरेका बस्तु नष्ट गरेको थियो । बडिगाडले पनि केही दिन यता अनुगमनलाई तिव्रता दिएको छ । शनिबार बडिगाड–५ ग्वालीचौर, वडा नं. ६ खाल र वडा नं. ७ भिमगिठे, दोबाटा क्षेत्रका खाद्य पसलको अनुगमन गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यबस्तु भेटिए । गाउँपालिकाका पसलमा म्याद सकिएका खाद्यवस्तुसमेत बिक्रीवितरण भएको भन्ने सुचना आएपछि अनुगमन गरिएको थियो । प्रहरीको सहयोगमा पसलहरुमा अनुगमन गरि म्याद गुज्रिएका सामग्री बरामद गरेर नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत बालाकृष्ण सुवेदीले बताए ।
अनुगमनमा ६० हजार बढीको म्याद गुज्रेका खाद्य सामग्री जलाएको गाउँपालिकाका सुचना अधिकारी थम्मन रेश्मीले जानकारी दिए । जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल, गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजा, उपाध्यक्ष अम्मर बहादुर श्रीस, सुरक्षा निकायका प्रमुख तथा प्रतितिनिधि, स्वास्थ्यकर्मी, पत्रकारसहितको टोलीले पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा तेल, चाउचाउ, आटा, दालमोठ, भुजा, विस्कुट, जिरा, चिया, पेय पदार्थ लगाएतका खाद्य सामग्री म्याद सकिएको भेटिएको थियो ।
गाउँपालिकाले व्यवसायीलाई म्याद सकिएका अखाद्य वस्तु तुरुन्त हटाउन निर्देशन दिँदै अनुगमन निरन्तर गर्ने र आगामी दिनमा भेटिए कडा कार्वाही गर्ने चेतावनी दिएको छ । अनुगमनमा अखाद्य वस्तु भेटिएको र गाउँपालिकाका सबै पसलमा प्रभावकारी अनुगमन गर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए । यसअघि गाउँपालिकाले वडा नं. २ का पसलमा अनुगमन गरि ३० हजार बढीका म्याद सकिएका खाद्य वस्तु नष्ट गरेको थियो । बागलुङ बजारमा उपभोक्ता मञ्चसहित गरिएको अनुगमनमा पनि म्याद गुज्रिएका सामग्री भेटिएका थिए ।





