सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

लकडाउन कार्यान्वयन गराउन सिडिओको सरप्राइज गस्ती !

लकडाउन कार्यान्वयन गराउन सिडिओको सरप्राइज गस्ती !


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०७७, आइतबार

बागलुङ, २१ बैशाख– आइतबार साँझ बागलुङ बजारमा एकाएक साईरन बजाउँदै सेतो सरकारी गाडी कुदिरह्यो । बजारका विभिन्न चोक फन्को मार्दै घुमिरहेको गाडीमा जिल्लाको सुरक्षा प्रमुखको जिम्मेबारी सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी गौलोचन शैंजू थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि पनि उनको गाडीलाई पछ्याईरहेका थिए ।
बजारबासी सशंकित हुनेगरी कुदिरहेको उनको गाडीको साईरनले सबैलाई तर्साइरहेको थियो । साईरन बजाउँदै हुँइकिएको गाडीले निर्वाध सडकमा हिँडिरहेका सवारी साधनको खोजी गर्दै थियो । भीड लागेका सर्वसाधारणलाई सचेत गराउँदै थियो । कोरोना भाईरसको संक्रमण नियन्त्रण र रोकथामका लागि भैरहेको लकडाउन पछिल्ला केही दिन यता फितलो हुँदै थियो । सडकमा सर्वसाधारण निस्किने मात्रै होईन कयौं सवारीसाधन बिनाइजाजत निर्वाध गुडिरहेका थिए ।
लकडाउन फितलो भएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी बागलुङ बजारका सबै टोलमा पुगेर स्थलगत अनुगमन गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी धिरेन्द्र पन्तले जानकारी दिए । प्रजिअ नेतृत्वमा सडकमा निस्केको सुरक्षा प्रमुखको टोलीले आईतबार मात्रै ५ वटा चारपाङ्ग्रे गाडी, ४३ मोटरसाईकल र केही सर्वसाधारणसमेत नियन्त्रणमा लिएको थियो । म्याद सकिएको पास बोकेका र पासनै नभएका सवारीसमेत सडकमा गुडिरहेको भेटेको पन्तले जानकारी दिए । प्रजिअको सिफारिसमा उनीहरुलाई ट्राफिक प्रहरीले जरिवाना काटेर छोडेको छ । सर्वसाधारणलाई घरभित्रै बसेर सुरक्षित रहन आग्रह गरिएको प्रजिअ शैंजुले बताए ।
यता, जिल्ला प्रहरी कार्यालयको नियमित गस्तीले पनि आईतबार लकडाउन कार्यान्वयन गराउने क्रममा सवारी र सर्वसाधारणलाई नियन्त्रणमा लिएको थियो । आइतबार बिहानैदेखि गस्ती गरेको प्रहरीले दिनभर ३ सयभन्दा धेरै सर्वसाधारणलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीपछि छोडिएको प्रहरी निरिक्षक हेम केसीले बताए । दुईवटा चारपाङ्गे सवारी र १८ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङमा लकडाउन फितलो भएको चौतर्फी गुनासो आएपछि जिल्लास्थित सुरक्षा निकायले सक्रियता बढाएका हुन् । आईतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन कार्यान्वयनमा कडाई गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->