सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जनता आवासले बागलुङमा दुई सय घर बनाउँदै

जनता आवासले बागलुङमा दुई सय घर बनाउँदै


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०७७, सोमबार

बागलुङ, २२ बैशाख– बागलुङका दुई सय परिवारले आगामी आर्थिक बर्षको असार मसान्तसम्म आफ्नै घर पाउने भएका छन् । गरिब, दलित, अल्पसंख्यक र विपन्नलाई घर दिने उद्देश्यले नेपाल सरकारले दश बर्ष पहिले सुरु गरेको जनता आवास कार्यक्रममार्फत बागलुङमा चालु आ.व.मा दुईसय घर निर्माणको थालनी हुनेछ ।
चालु आ.व.मा सुरु हुने निर्माणको काम आगामी आ.व.को अन्तसम्ममा सक्नेगरी जनता आवास जिल्ला समन्वय समितिको बैठकले निर्णय गरेको छ । जिल्लाको दशवटै स्थानीय तहमा छनौटमा परेकाहरुको घर निर्माण गर्न थालिएको हो । आइतबार समन्वय समितिको बैठक बस्नुपूर्व शहरी विकास तथा भवन डिभिजन कार्यालय बागलुङले दशवटै पालिकामा पुगेर घर नभएका गरिब दलित, अल्पसंख्यक र विपन्नहरुको सर्वेक्षण गरेको थियो ।
डिभिजन कार्यालयको प्राबिधिक टोलीले गरेको सर्वेक्षणका आधारमा चालु आर्थिक बर्षमा दुई सय घर निर्माण गर्नुपर्ने अवश्यकता देखिएको जनता आवास जिल्ला समन्वय समितिका संयोजक इन्द्रलाल सापकोटाले बताए । बागलुङमा २३, जैमिनीमा २७, गलकोटमा २५ र ढोरपाटन नगरपालिकामा २४ घर निर्माणको प्रक्रिया सुरु गरिएको हो ।
त्यस्तै, काठेखोलामा ८, ताराखोलामा १४, तमानखोलामा १६, निसीखोलामा २३, बडिगाडमा २४ र बरेङ गाउँपालिकामा १६ घर बन्ने भएका हुन् । समितिले लाभग्राहीको सूचीमा रहेका दुईसय परिवारलाई १५ दिनभित्र सम्झौता गर्न आव्हान गरेको छ । जनता आवास कार्यक्रमका लाभग्राहीले प्राबिधिकको सिफारिसअनुसारको घर बनाएबापत तीन किस्तामा ३ लाख ३६ हजार रुपैयाँ पाउँछन् । सम्झौतालगत्तै लाभग्राहीहरुले ८३ हजार ३ सय ३३ रुपैयाँ अनुदान पाउने डिभिजन कार्यालयका अधिकृत बद्रिनाथ गौतमले बताए ।
कार्यालयले गरेको सर्वेक्षणअनुसार जिल्लामा थप ४ सय ६५ घर निर्माण गर्नुपर्ने छ । आवश्यकताका आधारमा दुईसय घर निर्माणको चरणमा गएको र बाँकीलाई प्रतिक्षाको सूचीमा राखिएको छ । यो कार्यक्रममा सहभागि लाभग्राहीले वडा कार्यालयको सिफारिस र लालपुर्जासहित सम्झौताका लागि कार्यालय आउनुपर्ने छ । ‘तोकिएको समयमा सम्झौता नगरे प्रतिक्षाको सूचीमा रहेको लाभग्राहीले कार्यक्रम पाउने छ’ गौतमले भने ।
राज्यको पुनसंरचना हुनुपूर्व सहरी विकास तथा भवन निर्माण विभाग, आवास शाखाले सञ्चालन गर्दै आएको उक्त कार्यक्रम प्रदेश सरकारमा सारिएको थियो । पछिल्लो समय गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालयमार्फत यो कार्यक्रम सञ्चालनमा रहेको छ । चालु आर्थिक बर्षमा अघिल्ला बर्षहरुमा सम्झौता भएर निर्माणको चरणमा रहेका २० घरको काम पनि चलिरहेको कार्यालयले जनाएको छ ।
आर्थिक बर्ष २०७३/०७४ बाट सुरु भएको कार्यक्रमले बागलुङमा पहिलो चरणमा ६७ र दोस्रो चरणमा ८६ घर निर्माण गरिसकेको गौतमले जानकारी दिए । आचु आर्थिक बर्षमा निर्माण सुरु हुने घरसहित जिल्लाभर जनता आवास कार्यक्रममार्फत जम्मा ३ सय ७३ घर निर्माण हुनेछन् ।
देशभर आवासविहीन, लोपोन्मुख, सीमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायका लागि प्रत्येक वर्ष २० हजार आवास निर्माण गर्ने लक्ष्यका साथ सुरुवात भएको जनता आवास कार्यक्रममा १० वर्षको अवधिमा करिब २० हजार घर निर्माण भईसकेका छन् । यो कार्यक्रम उपत्यका बाहिरका ७४ वटै जिल्लामा संचालित छ ।
आवासहिनलाई घर उपलब्ध गराउने उद्देश्यले २०६६÷६७ मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा यो कार्यक्रम सुरु भएको थियो । सिरहा, सप्तरी र कपिलवस्तुबाट प्रतिवर्ष एक÷एक हजार घर निर्माण गर्ने लक्ष्यका साथ जनता आवास कार्यक्रम थालिएको थियो । उक्त कार्यक्रम ३ वर्षअघि ५० जिल्लामा विस्तार भएको थियो । यो कार्यक्रममा पहाडका दलित दमाई, कामी, सार्कीका साथै लोपोन्मुख, सीमान्तकृत कुसुन्डा, राउटेलगायतका जातिका लागि लक्षित गरिएको समन्वय समितिका संयोजक तथा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा बताउँछन् ।
प्रदेश सभाका सदस्य संयोजक रहने कार्यदलको सिफारिसमा तथ्यांक संकलन गरी लाभग्राही छान्ने व्यवस्था कार्यक्रममा छ । जिल्लाका दशवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका संयोजक, सबै सांसदहरु समन्वय समितिको सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->