बागलुङ, २३ बैशाख– सर्वसाधारणको बाक्लो बसोबास रहेका क्षेत्रमा भीडभाड बढ्दै जान थालेपछि बागलुङको ढोरपाटन नगरपालिकाले लकडाउनमा कडाई थालेको छ । मंगलबार सरोकारवालाको बैठक बसेर नगरपालिकाले लकडाउनमा कडाई गर्ने निर्णय गरेको हो ।
आगामी एक साता अत्यावश्यक बाहेकका कुनैपनि काममा बाहिर निस्कन नमिल्ने गरी नगरक्षेत्रमा कडाई थाल्ने निर्णय भएको नगरप्रमुख देवकुमार नेपालीले बताए । भीडभाड बढेसँगै कोरोना संक्रमणको त्रास बढ्ने भएकाले सर्वसाधारणको हितकै लागि लकडाउनमा कडाई गर्न थालिएको उनले बताए ।
खाद्य, तरकारी पसल, दुग्ध डेरी र बैंकहरुलाई समयतालिका बनाएर सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । नगरसँग जोडिएका नाकाहरुमा स्वयंसेवक परिचालन गर्ने र प्रबेशमा रोक लगाउने निर्णय नगरपालिकाले गरेको छ । नगरभित्र अत्यावश्यक सामग्री ल्याउनका लागि सातामा एक दिनमात्रै तोकिएको छ । हरेक साताको बुधबारमात्रै बाहिरी बजारबाट ल्याएका खाद्यान्न, तरकारी लगायतका सामग्री एक साता पुग्नेगरी प्रयोग गर्न व्यवसायीलाई नगरपालिकाले आग्रह गरेको छ ।
यस्तै, नगरपालिकाले खाद्य बैंक स्थापना गरेको जनाएको छ । खाद्य बैंकमा सहयोगी संघसंस्था, व्यक्ति तथा दातालाई खाद्यन्न सहयोग गरिदिन आग्रहसमेत गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । एकद्वार प्रणालीमार्फत राहत वितरणका लागि खाद्य बैंक सहयोगी बन्ने उनको भनाई थियो । खाद्य बैंकमा नगरपालिकाका तर्फबाट तत्कालका लागि ५० बोरा चामल जम्मा गरिएको छ । उद्योग वाणिज्य संघ, उद्योगी व्यवसायी, सहयोगदातालाई खाद्य बैंकमा खाद्यन्न सामाग्री जम्मा गर्न आव्हानन गरेको उनले बताए ।





