बागलुङ, ३० वैशाख– लकडाउनको समयमा कामबिहिन बनेका मजदुरहरुलाई राहत वितरणमा जिल्लाका दशवटै स्थानीय तहले आ–आफ्नै कार्यविधि अपनाएका छन् । अर्थ मन्त्रालयले बनाएको कार्यविधिलाई आधार मानेर यहाँका स्थानीय तहले आ–आफ्नै परिवेश अनुसारका कार्यबिधि बनाएर राहत वितरण गरेका हुन् । दश पालिकामध्ये केहीले मन्त्रालयले तोकेभन्दा धेरै परिणाममा राहत वितरण गरेका छन्भने अवश्यकताको आधारमा केहीले त्यसलाई परिमार्जन गरेका छन् ।
‘हामीलाई प्राप्त विधिमा खाजाका लागि चाउचाउ दिने भनेको छ तर त्यो हाम्रो अवश्यकताको बिषय होईन’ बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले भने ‘हाम्रो गाउँमा खाजा मकै रोटीले चल्छ, सोहीअनुसारको सामग्री दिने नीति बनायौं ।’ सामान्य प्रशासन मन्त्रालयको निर्देशनमा जिल्ला समन्वय समितिले दशवटै पालिकामा गरेको अनुगमनका क्रममा कोरोनाको नियन्त्रण तथा सावधानी र राहत वितरणमा स्थानीय तहको विशेषताअनुसारकै विधि बनाएर काम भैरहेको पाईएको हो ।
‘सबैको एकैखाले विधि छैन्, स्थान विशेष विधि बनाएर गरिएका कामहरु प्रभावकारी देखिए’ जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगानाले भने ‘कोरोनासँग जुध्न भैरहेका तयारी र राहत वितरणको काम सन्तोषजनक छ ।’ समितिले गरेको अनुगनका क्रममा स्थानीय तहहरुले सम्भावित जोखिमबाट बच्नका लागि गरेका क्रियाकलाप तत्कालका लागि सन्तोषजनक देखिएका छन् ।
‘भोलि भैपरि आउँदा बनेका संरचनाको परिचालन कसरी गर्छन् भन्ने हो, अहिले जे तयारी भैरहेको छ त्यो राम्रो देखियो’ समन्वय समितिका उपप्रमुख बिष्णु भुसालले भने । अनुगमनमा दशवटै पालिका पुगेको समन्वयको टोलीले स्थानीय तहलाई स्वास्थ्य सामग्रीको प्रयोगमा मितव्यता अपनाउन, राहत वितरणमा वास्तविक पीडितलाई मात्रै सहभागि गराउन अनुरोध गरेको थियो । अनुगमनका क्रममा राहतमा प्रयोग भएका खाद्य सामग्रीको खरिद प्रकृयाको बिषयमा समेत टोलीले चासो राखेको थियो ।
‘तत्काल गर्नुपर्ने काम भएकाले धेरैले बिना कोटेशन सामग्री खरिद गरेको पायौं’ ढुंगानाले भने ‘कालोबजारी र म्याद गुज्रिएका सामग्रीमा सचेत हुन भनेका छौं ।’ स्थानीय उत्पादनको प्रयोगले राहत वितरण प्रभावकारी भएको समन्वय समितिको अनुगमन टोलीले निष्कर्ष निकालेको छ । ‘जहाँ स्थानीय उत्पादन बाँडिएको छ, ति पालिकाहरुमा वास्तविक पीडितमात्रै राहतको लागि आएको पाईयो’ समितिका सूचना अधिकारी दुर्गा प्रसाद शर्माले भने ‘आयातित खाद्यान्नमा लाभग्राहीभन्दा बाहिरका मानिसले दाबी गरेको गुनासो सुनियो ।’
स्थानीय तहले कोरोना संक्रमणबाट बच्न सिमानाकामा गरिरहेको चेकजाँच, आवतजावतमा गरिएको कडाई, क्वारेन्टाईनको व्यवस्थापन, आपतकालिन सवारीको व्यवस्थापन र तथ्यांक संकलन तथा सूचना प्रबाहमा अपनाएको बिधि सकरात्मक रहेको समन्वय समितिले जनाएको छ । राहत वितरणमा जिल्लाभर सबैभन्दा धेरै बागलुङ नगरपालिकाले २ हजार ८ सय ४३ परिवार र सबैभन्दा कम ताराखोला गाउँपालिकाले १ सय ५१ परिवारलाई राहत वितरण गरेको छ ।





