शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

यी २१ युवा, जो ३५ वर्षमुनिमा बने काँग्रेस केन्द्रिय सदस्य

यी २१ युवा, जो ३५ वर्षमुनिमा बने काँग्रेस केन्द्रिय सदस्य

गण्डकी प्रदेशबाट खुलातर्फ इन्जिनियर सुवास पौडेल र महिलातर्फ डा. कला पन्त केन्द्रीय सदस्य बन्न सफल भए ।


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८३, शुक्रबार

पोखरा / नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट ३५ वर्षमुनिका २१ जना युवाको केन्द्रीय कार्यसमितिमा प्रवेश भएको छ। असोज १८–२३ मा सम्पन्न महाधिवेशनमा ३५ वर्षमुनिका युवा खुल्लातर्फ ७ र प्रदेशगत खुल्ला र महिलातर्फ एक–एक गरी २१ जना युवा केन्द्रीय कार्यसमितिमा पुगेका हुन्।

३५ वर्षमुनिका युवा खुल्ला केन्द्रीय सदस्यको ७ पदमा सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, सुशील भट्ट, डा आयुस बगाले,आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भए। सात पदका लागि २७ जना चुनावी मैदानमा भिड्दा उनीहरू  बाजी मार्न सफल भए। यस्तै ३५ वर्षमुनिका प्रदेशगत खुल्ला र महिला क्लस्टरबाट १४ जना निर्वाचित भए।

कोसी प्रदेश खुलातर्फ इन्जिनियर हेमकाजी बस्नेत निर्वाचित भए। १२ जना प्रतिस्पर्धीलाई पन्छाएर बस्नेत केन्द्रीय सदस्य बन्न सफल भए। बस्नेतसँग अनोज कार्की, गोविन्द लिम्बु, गौरव भण्डरी, जयन्तदेव पोदार, दिपेन्द न्यौपाने, दोर्चि शेर्पा, मदन भण्डारी, विकल राई, विश्वराज तामाङ, समुन्द्र पोखरेल, सरोज थापा र सुविन पराजुली प्रतिस्पर्धामा थिए।

कोसी प्रदेश महिलातर्फ डा योशिका भट्टराई विजयी भइन्। पुर्णिमा देव, प्रमिला ढकाल (एरिका), मिरा कटुवाल,रक्षा यादव,रुबी सिटौला, लिजा बस्नेत र सरिता पौडेल प्रत्यासी थिए।

मधेसप्रदेश खुलातर्फ ९ जना प्रतिस्पर्धीलाई पराजित गरेर गौरव पाण्डे केन्द्रीय सदस्य बने। उनले अभिनयमान सिंह बस्नेत, आदित्य कुमार दास, ठाकुर प्रसाद बख्रेल, प्रविन लाल दास, राजीव चौधरी, विनय कुमार यादव, विशाल लामा, सन्जित कुमार सहनी र दिपेश यादवलाई हराए।

महिलातर्फ ममता शर्मा केन्द्रीय सदस्यमा विजयी भइन्। गत फागुन २१ को निर्वाचनमा टिकट नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी छाडेर कांग्रेस प्रवेश गरेकी शर्मा केन्द्रीय सदस्यमा दोहोरिन्। सभापति गगन थापाले विशेष महाधिवेशनबाट आएको कार्यसमितिमा पनि केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। शर्मासँग अनुपम अधिकारी र शर्मिला थापा गुरुङ पराजित भए।

बागमती प्रदेश खुलातर्फ नेविसंघ काठमाडौंका अध्यक्ष अंशुल केसी निर्वाचित भए। मुकेश घिमिरे, बद्रि राम थापा, उमंग लोहनी र कृष्ण डंगोललाई भारी मतले हराएर केसीले सानेपामा इन्ट्री मारे। यस्तै महिलातर्फ रजनी थापा निर्वाचित भइन्। जेसिस नेपालकी पूर्व अध्यक्ष थापाले प्रतिभा उप्रेती, अभिप्सा पौडेल, शोभा कुमारी गौतम र सलिना केसीलाई हराएर बाजी मारिन्।

गण्डकी प्रदेश खुलातर्फ इन्जिनियर सुवास पौडेल निर्वाचित भए। उनले इन्जिनियर चेतराज कंडेल (सुजन)लाई हराए। गण्डकी महिलातर्फ डा कला पन्त केन्द्रीय सदस्य बन्न सफल भइन्। उनले एलिजा ढकाललाई हराइर जित हात पारिन्।

लुम्बिनी प्रदेश खुलातर्फ अनुराग खड्का निर्वाचित भए। कांग्रेस दिवंगत नेता खुम्बहादुर खड्काका छोरा अनुराग भारी मतान्तरले केन्द्रीय सदस्यमा निर्वाचित भए। लुम्बिनी प्रदेश सांसद समेत रहेका उनले डा सुदन कुमार वली, इन्जिनियर शम्भु रेग्मी, राकेश यादव, कुमार आचार्य, अनुकूल रेग्मी र दिपेन्द्र रेग्मीलाई पराजित गरे।

महिलातर्फ सुष्मा पाण्डे निर्वाचित भइन्। सुस्मासँग बबिता शाही,कमला हमाल, सुस्मिता ढुंगाना र संचिता ज्ञवाली पराजित भए।

कर्णाली प्रदेश खुल्लातर्फ मोहन राना केन्द्रीय सदस्य बने। रानासँग जीवन प्रसाद सुवेदी, मनोज कुमार थापा र देवेन्द्र रावल पराजित भए। यस्तै महिलातर्फ भगवति शाही विजयी भइन्। मनसरा कुमारी शर्मालाई भारी मतान्तरले शाहीले हराइन्।

सुदूरपश्चि प्रदेश खुलातर्फ इन्जिनियर भुवनराज भट्ट निर्वाचित भए। योगेन्द्र रावल सन्तोष खड्का, भरत बडायर जोशी र धिरज शाहीलाई हराएर भट्ट केन्द्रीय सदस्य बने। यस्तै सुदूरपश्चि प्रदेशको महिलातर्फ रिता शाही निर्वाचित भएकी छन्। उनले भुपेश्वर ऐर, पवित्रा विश्वकर्मा, भागरथी भट्ट, सुमिता खड्का, आनन्दी पन्त भट्ट र बिमला ढकाललाई पराजित गरेर सानेपा प्रवेशको ढोका खोलिन्।

कांग्रेसको केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जनाका लागि सदस्य पदमा आरक्षण व्यवस्था छ। प्रदेशबाट निर्वाचित हुने १४ जनामा सात महिला अनिवार्य गरिएको छ।

खुला र अन्य क्लस्टरमा प्रतिस्पर्धा गरेर पनि युवा केन्द्रीय कार्यसमितिमा आएका छन्। युवा कलस्टर बाहिरबाट ४० वर्षमुनिका युवाको ठूलो उपस्थिति देखिएको छ। निर्वाचन हुने व्यवस्था रहेको १९ जना पदाधिकारी मध्ये ४० वर्ष मुनिकाका फिर्दोस आलम सहमहामन्त्री (मुस्लिमतर्फ) निर्वाचित भए। पदाधिकारी ७० वर्षका विनोद चौधरी सबैभन्दा जेष्ठ छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->