पोखरा, २९ जेठ – भर्चुअल साइकल संवादको सुरुवातमै हास्यव्यङ्य क्षेत्रका हस्ती मदनकृष्ण क्षेष्ठले हरिवंशलाई पहिलोपल्ट नाचघरमा साइकलमै भेटेको घटना स्मरण गर्न पुगे । टेलिशृङ्खला ‘पन्ध्र गते’ को साइकलको सिन अहिले आएर टिकटकमा हिट भइरहँदा त्यतिबेलाको साइकलसँगको घनिष्टता सम्झँदै उनले भने, ‘त्यतिबेला हरिवंश लुरेलुरे अनि ख्याउटे थियो । साइकलमै ऊ नाँचघर आएको मलाई अझै सम्झना छ । त्यति बेला हामी कार्यालय साइकलमै ओहोरदोहोर गथ्र्यौं । साथै यति लामो हाम्रो मित्रताको दौरानमा साइकलसँगको सम्बन्ध उस्तै निकटता छ ।’ उनले थपे, ‘पहिला साइकल गरीबले चढ्ने भनेर खिसिट्याउरी गरिन्थ्यो । अहिले स्वस्थ रहन बुद्धि भएकाहरुले साइकल चलाउन थालेका छन् । अब पनि सरकारले साइकल लेन र यससम्बन्धि नीति तर्जुमा नगरे हाम्रा भावी सन्ततिले ठूलो क्षति बेहोर्नु पर्नेछ ।’
नेपाल साइकल सोसाइटीले ‘पोष्ट लकडाउनमा साइकलको सान्दर्भिकता’ शीर्षकमा आयोजना गरेको भर्चुअल साइकल संवादमा प्रसिद्ध हास्यव्यङ्य महजोडी, महावीर पुन र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ उपस्थित थिए । कोरोना महामारीले आक्रान्त पारेको अहिलेको सन्दर्भमा यसलाई अवसरको रुपमा लिएर साइकल क्रान्तिमा युरोप लागिरहेको संवादका सहजकर्ता यसै सोसाइटीका अध्यक्ष रत्न राम श्रेष्ठले अबगत गराए ।
अर्का प्रसिद्ध हास्य कलाकार हरिवशं आचार्यले पहिलो पल्ट साइकल चढ्दा साइकल आफै माथि दुई चार पटक चढेको घटना ताजा गर्दै भने, ‘काठमाडौंमा उहिले र अहिले साइकल चढ्दाको अन्तर आकाश जमिनको छ । टाढाबाट झिंगाको हुलजस्तो देखिने मोटरसाइकलको झुण्ड अपत्यारिलो तरिकाले बढेको छ । समयमै बागमती करिडोर, धोबीखोला करिडोर र बन्दै गरेको अपर रिङरोडमा साइकल लेन समावेश गरिनु पर्छ ।’
करिब पाँच महिना पहिला पोखरामा आयोजित ‘टुर दी पोखरा’ मा प्रमुख अतिथिका रुपमा पोखरा आउँदा उनले करिब ३५ कि.मी. साइकलमै ¥याली पुरा गरेका थिए । साइकल चलाएपश्चात आफ्नो गोडा दुख्ने समस्या कम भएको उनले बताएँ । पोखराको फेवातालमा डुंगा र सडकमा साइकल सुहाउने कुरा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई सुनाउँदै उनले थपे, ‘तपाईको नामै पृथ्वी, हाम्रो पृथ्वीको पोखराको अंश जोगाउन तपाईको ठूलो योगदान रहन सक्छ । तपाईकै कार्यकालमा पोखरालाई साइकल सिटीको अवधारण अनुरुप अगाडि बढाएर अन्तराष्ट्रिय स्तरमै ब्रान्डिङ बनाउन सके तपाईलाई सबैले सम्झिरहन्छन् ।’
प्रतिउत्तरमा मुख्यमन्त्री गुरुङले आफू यस विषयमा सकारात्मक रहेको बताउँदै उनले भने, ‘कोरोना कहरको यस समयमा हामी यसको नियन्त्रण र यसबाट उत्पन्न हुन सक्ने समस्याहरुको समाधानमा नै बढी केन्द्रीत रहेका छौं । इ–भेइकल र इ–चुलोलाई प्राथमिकताका साथ अघि लैजाने योजना रहँदा अब हामी साइकल लेनसम्बन्धी सैद्धान्तिक र नीतिगत हिसाबले अघि बढ्ने छौंँ । ताल टु ताल साइकल टे«ल होस् वा राउण्ड फेवाताल, हामी पक्कै केही कदम अघि बढाउनेछौं ।’
यता राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा. महाबीर पुनले भने युरोपेली मुलुकहरुमा विद्युतीय गाडी किन्न सहुलियत दिइरहँदा नेपाल सरकारले ठिक विपरीत यसमा कर बढाएको समय सान्दर्भिक नरहेको बताएँ । सरकारले पुराना गाडीलाई समेत विद्युतीय गाडीमा परिन गर्ने नीति नियन तर्जुमा गर्नुपर्छ, उनले भने, ‘सरकारले जस्तोसुकै कदम चालेपनि हामी चौथो जनआन्दोलन गरेर भए पनि नेपालमै विद्युतीय गाडी विस्तार गराएरै छाड्छौं । साइकलमैत्री शहर बनाउने कदममा मेरो पनि पूर्ण सहमत रहनेछ ।’
करिब १ घण्टा ३० मिनेटको यस संवाद विशेषगरि कोरोना पछिको साइकल सम्भावना माथि बढी केन्द्रीत भएको थियो । यस्ता भर्चुअल संवाद कार्यक्रम निरन्तरता दिने कुरा सहजकर्ता श्रेष्ठले अन्त्यमा बताएँ ।





