बागलुङ, ११ असार– चार दिन यता भैरहेको निरन्तर बर्षाका कारण बागलुङका बिभिन्न ठाउँका बस्तीहरु पहिरोको जोखिममा परेका छन् । बाढी र पहिरोले बागलुङको काठेखोला, बरेङ, तमानखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाका बस्तीहरु जोखिममा परेका हुन् ।
खहरेखोला छेउका र सडक आसपासका बस्तीहरु सबैभन्दा बढि बाढी पहिरोको जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । नयाँ खनिएका सडक र स्तरोन्नतीको गरिएका सडकका कारण बस्तीहरु प्रभावित भएको बरेङ गाउँपालिका–१ का वडाध्यक्ष नरसिंह पुनले बताए ।
बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा सडक बनाउँदा थुप्रिएको माटोका कारण सिंगो बस्तीनै जोखिममा परेको छ । धुल्लुका लिल बहादुर खत्रीको घरगोठ माथिबाट झरेको पहिरोका कारण क्षतिग्रस्त भएको छ । वडाको लुङदीस्थित टेक बहादुर थापाको घरैअघि पहिरो जाँदा घर उच्च जोखिममा परेको छ ।
त्यस्तै, बास्कोटका गम्भरसिंह थापा, कडेनीका जगबहादुर थापाको घर पनि पहिरो र बाढीले जोखिममा परेको छ । सोही ठाँउकी हिमा थापा र लिला बहादुर थापाको घर पनि पहिरोले जोखिममा परेको वडासदस्इ छत्र बहादुर थापाले बताए । उच्च जोखिममा रहेका कयौं परिवारलाई सुरक्षित स्थानमा सारिएको थापाले जानकारी दिए ।
यस्तै, बागलुङ नगरपालिका–५ मालिकामा पनि कयौं घरहरु पहिरोको जोखिममा छन् । मालिकाको चनौटे गाउँका दुदी कुँवर, जुना न्युरे र कमला रेग्मीको घर गोठ जोखिममा परेका छन् ।
चनौटेमै रहेको राम मन्दिरसंगै सामुदायीक भवन पहिरोले बगाउने अवस्थामा छ । मालिका गाउँका टकमाया किसान, गोरे बिक, टेक बहादुर बिक, भिम बिक, टिकाराम सापकोटा र हिरा आचार्यको घर पहिरोको जोखिममा रहेको वडाध्यक्ष शिव सापकोटाले बताए ।
मालिकाकै अठाईथरका भिम सापकोटा, देवि प्रसाद सापकोटाको घरगोठ समेत पहिरोको जोखिममा छन् । बागलुङ नगरपालिका–६ धारापानीकी बिम कुमारी क्षेत्रीको घर जगबाटै भत्किएको छ । उनको परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।
यस्तै, तमानखोला गाउँपालिकाको लाम्मेलामा रहेको बाल बिकास केन्द्रको भवन, बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा खनिएको नयाँ सडकका कारण जैमिनी नगरपालिका–१ कुश्मीशेराको बस्तीनै पहिरोको जोखिममा छ ।









