बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पाल्पाली सहकारी संस्थाको दोस्रो वार्षिकोत्सवमा रक्तदान

पाल्पाली सहकारी संस्थाको दोस्रो वार्षिकोत्सवमा रक्तदान

स्वास्थ्य र रोजगारी प्राथमिकतामा : मन्त्री पुन


  • ढोरपाटन संवाददाता
  • असार ११ २०७७, बिहिबार

पोखरा, ११ असार– पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो बार्षिकोत्सवको अवसरमा पोखरामा रक्तदान कार्यक्रम गरेको छ । दोस्रो वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ४७ यूनिट रगत संकलन भएको हो ।
कोभिड–१९ को कारण नियमित रक्तदान कार्यक्रम नहुँदा रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव हुन सक्ने भएकोले सहकारीको वार्षिकोत्सव अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको सहकारीका अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए । ब्राउन आइज पार्टी प्यालेसमा भएको कार्यक्रममा सामाजिक दूरी अपनाइ रक्तदान गरिएको थियो । कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले पहिलो रक्तदाता समाजका अध्यक्ष कुलप्रसाद घिमिरेलाई ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेकी थिइन् ।
मन्त्री पुनले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणमा प्रदेश सरकार लागिपरेको दाबी गरिन् । उनले विषम परिस्थितिमा पनि पुण्य काम रक्तदान गर्नु सह्राहनीय भएको भन्दै समाज र सहकारीको कार्यको प्रशंसा गरिन् । ‘सरकारले स्वास्थ्य र रोजगारीलाई अहिले प्राथमिकतामा राखेको भन्दै सीप सिक्नु ठूलो कुरा हो’ उनले भनिन् । सहकारीको प्रगतिको लागि सबै सदस्यको समान भूमिका हुने उनको धारणा थियो ।
पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले पाल्पाली समाजको पछिल्ला गतिविधिले अन्यलाई पनि सामाजिक कार्यमा उत्प्रेरणा मिलेको बताए । कार्यक्रमको संयोजन सहकारीका शिक्षा समिति संयोजक बालचन्द्र परियारले गरेका थिए ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पाल्पाली समाजका अध्यक्ष कुलप्रसाद घिमिरे र संचालन सचिव रेशम रचकले गरेका थिए ।
सहकारीले शनिबारदेखि पोखरा नयाँबजारस्थित कार्यालयबाट पाल्पाली उत्पादन ढाकाका सामान, पाल्पाली करुवा लगायत सामानको बिक्री कक्ष शुभारम्भसमेत गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->