पोखरा, १७ असार– यातायात व्यवसायीहरुले लकडाउनको सयौं दिन पुग्दा पनि ‘सार्वजनिक यातायात’ क्षेत्रका समस्याबारे सरकार मौन रहेकोमा आपत्ति जनाएका छन् । उनीहरुले यातायात बन्द हुँदा पनि बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज भुक्तानीको लागि ताकेता गरिरहेको बताउँदै आउँदो असार २२ गतेदेखि सवारी साधनका बिलबुक र तालाचाबी र्बैंकलाई नै बुझाउने उद्घोष पनि गरेका छन् ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनीले बुधबार पत्रकार सम्मेलन गरि बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीको म्याद कम्तिमा ५ महिना नसारे बाध्य भएर तालाचाबी नै बुझाउने घोषणा गरेका हुन् । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनीमा आवद्ध १४ सय सवारी साधनको बिलबुक र चाबी संकलन गरिएको जनाउँदै आफूहरु अब मानशिक तनावमा बाँच्न नसक्ने जनाएका हुन् । उनले प्रधानमन्त्रीदेखि मन्त्री र सभासदले यातायातका समस्याबारे कुरै नउठाएकोमा दुःखमनाउ गरे ।
‘यातायात शब्दलाई उच्चारण गर्न सम्माननीय प्रधानमन्त्री, मन्त्री र माननीय सभासदज्यूहरुलाई कठिन किन होला रु’, उनले प्रश्न गरे,‘उहाँहरुलाई साझा, ट्रलीबसजस्तै सार्वजनिक यातायात राज्यले नै संचालन गरेकोजस्तो लागेको छ कि रु सार्वजनिक यातायात कसले संचालन गरेको छ ,जानकारी रहेनछ कि !’
उनले संकटको बेला व्यवसायीहरुको कोही नभएको जिकिर गर्दै उनले बैंकहरुमा सम्माननीयहरुकै लगानी छ कि भन्दै ती बैंकहरुलाई राहत दिइने त हैन भन्ने प्रश्न पनि तेस्र्याए । पृथ्वी राजमार्ग कम्पनीमा आवद्ध १४ सय सवारी साधनमा ५ अर्ब ७० करोडको लगानी रहेको र त्यो लगानीको ७० प्रतिश बैंक तथा वित्तीय संस्थाकै भएको जानकारी दिँदै उनले बैंक तथा वित्तीय संस्थाको ताकेता रोक्न आग्रह गरे । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार साईले लकडाउनका कारण ३ लाख यात्रुबाहक सवारी,६० हजार मालबाहक गाडी तथा ४० लाख मजदुरहरुप्रति राज्य संवेदनशील नभएको गुनासो गरे । उनले आफूहरुले राहत नभएर व्यवसायको सुरक्षा मागिएको पनि जिकिर गरे । एक सय दिनसम्म गाडी थन्किएकाले इञ्जिन र टायर बिग्रिएको र सरकारले भने पनि तत्काल यातायात संचालन गर्न करिब २ लाख रुपैयाँ मर्मत खर्च लाग्ने जिकिर गर्दै त्यो पैसा पनि आफूसँग नभएको बताए । महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले फकाएर र धम्क्याएर ब्याज तथा किस्ता लिने प्रपंच रचेको जिकिर गर्दै यसकै कारण व्यवसायीहरु प्रताडित भएको बताए ।





