पोखरा, १८ असार – गण्डकी प्रदेशसभामा सभासदहरुले बोल्ने क्रम सकिएको छैन । सभामा बोल्ने अधिकांश सभासदहरुले महामारिको रुपमा फैलिई रहेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन र यसले उब्जाएका समस्या रोकथाममा सरकार चुकेको आरोप तथा गुनासो गर्दै आएका छन् ।
बुधबार सभामा बोल्दै राष्ट्रिय जनमोर्चा बागलुङबाट निर्वाचित सभासद कृष्ण थापाले पदमार्ग, विद्यालय, कृषि नमुना गाउँ, विभिन्न अन्नबाली र फलफूलका प्याकेजमा सरकारले पर्याप्त बजेट नछुट्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । बजेटले कृषकको समस्यालाई सम्बोधन नगरेको र कार्यक्रम नै अपुरो रहेको उनको जिकिर थियो । मन्त्रालयको काम हेर्दा समग्र एउटै भए पनि धेरै कार्यक्रम प्याकेजमै ल्याएकाले त्यो प्याकेज फुक्ने वा नफुक्नेमा उनले संशय व्यक्त गरें । उनले क्वारेन्टाइन सुरक्षाका पनि कुरा उठाएका थिए ।
सत्तापक्षको नेताहरु बिचको किचलोमाथि व्यंग गर्दैै उनले नेपाली भूमि सलह र कोभिडको कारण साह्रै आक्रान्त भएको बेला संघीय हावा पनि कताकता चलेको बताए । ‘‘संघीय हावा नचलेको भए पनि हुन्थ्यो । किनभने बर्खा लाग्दै छ । खेतीपाती लहलह हुँदैछ’, उनले भने, ‘संघीय हावाले यो खेतिपाती ढलाउने हो कि चिन्ता लागेको छ ।’
कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सभासद मणिभद्र शर्माले क्वारेण्टिनमा बसेकाहरुको रिपोर्टमा ढिलाई भएको भन्दै गुनासो पोखे । बागलुङको क्वारिण्टाइनमा बसेकाहरुको रिपोर्टमा ढिलाई गरिएपछि त्यहाँ बस्नेहरुले उदास भएर गीत गाएको भन्दै उनले सभामा गीत पनि सुनाए ।
बस्छ सरकार दंगदास परेर
भाषण धेरै, काम थोरै गरेर
बेसारे बोलीले, राम्ररी छक्यायो केपी ओलीले !
कोरोना व्यवस्थापनमा सुरु–सुरुमा एकदम ढुक्क छौं भनेर भने पनि संक्रमित बढ्दै गएपछि अरु देशको उदाहरण दिएर मत्थर पार्न खोजेको भन्दै उनले आपत्ति जनाए ।
बजेटले विश्वविद्यालय र ठूलाठूला मेडिकल कलेजमा धेरै कुरा गरिए पनि शिक्षकहरुको योग्यताबारे भने प्रदेश सरकार गम्भीर नबनेको उनको आरोप छ । ‘धेरै अयोग्य शिक्षकले पढाई रहेको भनेर एउटा माननीयले हिजो डाटा दिनुभयो । मलाई पनि त्यस्तै लाग्छ । तलको जग खस्किराछ’, उनले भने, ‘तलतिर ध्यान दिइएन । यो कालिदास शैली हुने त होइन ?’ आफ्ना नजिकका कार्यकर्तालाई मात्रै कृषिको लागि छुट्याइएको अनुदान दिएको उनको आरोप थियो ।
सत्तापक्षीय मुस्ताङका सभासद ईन्द्रधारा विष्टले बजेटलाई पहेँलो धातुको संज्ञा दिए । कति माननीयले सुन, कतिले पित्तल भने पनि आफूलाई बजेट सुनजस्तै लागेको उनले प्रतिक्रिया दिए । ‘म के भन्छु भने पगालेर पेलेर र सानो घनले टक्टक्याएर हेर्ने प्रयास गरें । यसरी हेर्दा सुन हो भन्ने विश्वस्त भएँ’, उनले भने । उनले बजेटलाई जिरे खुर्सानीसँग पनि तुलना गरे । समग्र बजेटमाथि सहमति जनाए पनि उनले विश्वको उत्कृष्ट १० गन्तव्यमा पर्ने आफ्नो निर्वाचन क्षेत्र (मुस्ताङ) को पर्यटन क्षेत्र विकासको लागि सरकारले उपेक्षा गरेको जिकिर गरें । पाइला–पाइलामा पर्यटनको सम्भावना बोकेको सो क्षेत्रको व्याखा गर्दा गर्वले छाती फुले पनि बजेट कम आएको भन्दै उनले गुनासो पोखे । ‘पर्यटनमन्त्री ज्यू २०७५ मा विशेष पर्यटन भनेर बजेट आएको थियो झण्डै २० लाख जति २०७६ मा जियो पार्क अध्ययनको लागि भनेर ५० लाख आएका थियो । र यसपालि विश्वसम्पदा सूचिमा सूचिकृत गर्ने भनेर केही बजेट आयो । तर, मेरो प्रश्न माननीयज्यू ७५ सालको विशेष पर्यटन बजेट र जियो पार्क अध्ययनको लागि बजेट आएको महसुस भएन ?’ उनले भने ‘आँखा दुख्ने गरि पर्यटन मन्त्रालयको ७०१ बुँदालाई २१०२ चोटी पढें पनि त्यो बुँदा देखिएन ।’ बजेट विनियोजन गर्दा सम्भावनालाई आधार मानेर छुट्याउनुपर्ने उनको मत छ ।
नेकपाकी सभासद पुष्पा केसीले समग्रमा बजेटमा राम्रा योजना आएको बताइन् । उनले शिशु स्याहार केन्द्र प्रदेश राजधानीमा मात्रै भनिए पनि अरु ठाउँमा पनि विस्तार गर्न आवश्यक रहेको जिकिर गरिन् । किशोरीको लागि आत्मरक्षाको लागि तालिम दिने योजना सामाजिक विकास मन्त्रालयले छुट्याएकोमा खुसी व्यक्त गर्दैै उनले सबै किशोरीले पाए बलात्कार जस्तो जघन्य अपराधबाट जोगिने जिकिर गरिन् । छोरीको लागि अभिभावकनै उदार नबनेको अवस्थामा विद्यालयस्तरबाटै तालिमको व्यवस्था गर्न सके प्रभावकारी बन्ने उनको मत छ ।
कांग्रेसका सांसद विन्दुकुमार थापाले बजेटले आफ्नो क्षेत्रलाई उपेक्षा गरेको आरोप लगाए । आफ्नो क्षेत्रको लागि बजेट अभिशाप नै बनेको उनको आरोप छ ।
सरकारले राम्रा नारासहितको बजेट ल्याए पनि कार्यान्वयन नहुनेमा उनले संशय व्यक्त गरें । ‘प्रदेश सरकारको संयन्त्र र कर्मचारी स्लोगन पूरा गर्ला जस्तो लाग्दैन । बजेट आउनु केही दिनअघि प्रधानमन्त्रीको ठाडो निर्देशनामा वन पैदावार काट्न निषेध गरेको छ । यसले प्रदेश सरकारको अभियानलाई निषेध गर्न खोजेको छ भन्ने लाग्छ’, उनले भने, ‘यसतर्फ ध्यान जाओस् ।’
बागलुङका सांसद खिमविक्रम शाहीले बजेटमा कार्यक्रमहरु छरिएर आएको बताए । होमस्टे, भ्यूटावर, ताल तलैया, मठ मन्दिर लगायतका क्षेत्र संरक्षण गर्ने लगायतका योजना भने सरकारले राम्रो ल्याएको उनको भनाई छ ।
यस्तै, कोभिड १९ को कारण विस्थापित भएका पर्यटन मजदुरलाई तालिम व्यवस्था गर्ने भनिए पनि ५ जिल्लाको लागि मात्रै भनिएकोमा उनले आपत्ति जनाए । उनले पिसिआरको रिपोर्ट आउन ढिला भएको भन्दै गुनासो समेत पोखेका थिए । ‘हामी दुर्गमका भएर हो कि, एक महिना हुँदापनि रिपोर्ट जान सकेको छैन’, उनले भने, ‘जेठको ३०÷३१ गते सम्मको रिपोर्ट आउन बाँकी छ । माननीय मन्त्रीज्यूलाई फोन पनि ग¥यौं । बुझ्दा काठमाडौंमा पो लगिएको रहेछ ।’ रिपोर्ट आउन ढिला हुँदा क्वारिण्टिनमा बसेकालाई पालनपोषण र हेरचाह गर्न गाह्रो परेको उनको भनाई छ ।
गोरखाबाट प्रतिनिधित्व गर्ने प्रतिपक्षी सभासद प्रकाशचन्द्र दवाडीले सरकारबाट मीठा कुरा आए पनि ठेट कुरा नआएको बताए । उनले कोरोना रोकथामको लागि ठोस निर्णय नआएको भन्दै प्रश्न गरें ।
प्रतिपक्षले विरोधको लागि मात्र विरोध नगरेको सुनाउँदै उनले सत्तापक्षका साथीहरुले मनपरि÷नपरि समर्थन गरेको जिकिर गरें । पीडालाई बराबर सेयर गरे कम महसुस हुने उनले बताए । कोरोना पुष्टि भएका ठाउँमा तुरुन्त थप स्वास्थ्यकर्मी पठाउन नसकेको भन्दै उनले रोष व्यक्त गरें । क्वारेण्टिनमा र आइसोलेसनको व्यवस्था गर्न सरकार चुकेको उनको आरोप छ ।
जनता समाजवादीका सभासद हरिशरण आचार्यले बजेट ठीकै आए पनि दूरगामी महत्वको नआएको जिकिर गरे । सत्तापक्षका सांसदलाईं इंगित गर्दै उनले बजेटलाई ठीक राम्रो छ भनेर प्रशंसा गर्नेको सभामा कमी नभएकोमा आश्चर्य व्यक्त गरे । ‘प्रंशसा गर्नेले गरिरहन्छन् । आसेपासे पूँजिवादको जन्म गर्न मद्दत पु¥याउछ । आलोचना र कमजोरी उजागर गर्दा, ढुंगाको कापबाट उम्रेको पीपलले जसरी संघर्ष गर्दै आफूलाई ठूलो बनाउँछ’, उनले भने, ‘त्यसैगरि हाम्रो आलोचनाले सरकारलाइ सही ढंगमा हिड्न मद्दत गर्छ । स्पष्टिकरण भन्दा कार्यान्वयनमा बदल्न अनुरोध छ ।’ बजेटले कोभिड नियन्त्रणलाई प्राथमिकतामा राखे पनि रोजगारी गुमाएर स्वदेश फिर्ता हुने र स्वदेशमै पनि रोजगारी गुमाउनेहरुलाई सम्बोधन गर्न नसकेको आरोप लगाए । सरकारलाई जति भने पनि एउटा कानले सुन्ने अर्को कानले उडाउने बाहेकको काम नभएको उनको आरोप छ ।
सभासद जुनादेवी नेपालीले विधेयकले कोरोना रोकथाम उपचार र नियन्त्रणको लागि उपलब्ध साधनको अधिकतम प्रयोग गरेको जिकिर गरिन् । संविधानमा समानताको कुरा लेखिए पनि व्यवहारमा लागु नभएको उल्लेख गर्दैै उनले लागू गर्न आवश्यक रहेको सुनाइन् । परम्परागत सीपलाई व्यावसायिक बनाउने संरक्षण गर्दै व्यवसायी करणको लागि छुट्याइएको बजेटले सबैलाई नचिने पनि सबैलाई चिन्ने गरि बजेट आउने उनको विश्वास छ ।
अर्की सभासद ललितकला गुरुङले विगतका वर्षमा जस्तै बजेट विकास र परिणाममुखी नभई वितरणमुखी भएको आरोप लगाइन् । उनले बजेटलाई बास्केट, पोके र धोकेको संज्ञा दिइन् । मन्त्रालयमा हुने काम किताबबाहेक अन्यन्त्र नपाइएको उनले जिकिर गरिन् । भुंग्रो लगायतका मौलिक उत्पादन संरक्षणतर्फ प्रदेश सरकार लाग्नु पर्ने उनले सुनाइन् ।
सभासद दीपक थापाले नीति तथा कार्यक्रममा राखेका प्राथमिकता र सिद्धान्तअनुसार बजेट आएको बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय तहको भवन निर्माण गर्ने योजना शान्ति सुरक्षाको लागि धेरै राम्रो भएको उनले बताए ।
सभासद रामबहादुर गुरुङले योजना एकदमै राम्रो र महत्वपूर्ण आएको बताए उनले चेतनामुलक कार्यक्रम, सामाजिक सुरक्षा, पुनस्र्थापना, अस्पतालजस्ता अति आवश्यक विषयमा केन्द्रित रही योजना समावेश गरिएको सुनाए ।
सभासद दोबाटे विश्वकर्माले बजेट विनियोजन भन्दा कार्यान्वयले महत्व राख्ने उल्लेख गरे । छुवाछुत र विभेदले अत्याचारमा प¥यौं भनेर प्रश्न गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै उनले रोष व्यक्त गरे । रुकुम घटनामा दबाबमा परि १÷१ लाख धरौटीमा छुटेको भन्दै उनले आपत्ति जनाए ।
सभासद जनकलाल श्रेष्ठले गण्डकी प्रदेशका एघारै जिल्लामा शान्ति सुरक्षाको कमजोर अवस्थाप्रति आवाज उठाए । उनले प्रहरी प्रशासन घटनास्थलमा समयमै नपुग्दा यसले अर्कै रुप ल्याउने चिन्ता बढेको बताए । सभाको अर्को बैठक असार १८ गते दिनको १२ बजे बस्ने छ ।





