पोखरा, १९ असार– पोखराको मुस्ताङचोकमा केहि युवाहरु कालोपत्रे सडकको छेउमा पुस्तक र पम्प्लेट लिएर बसिरहेका छन् । धुलेभुईँमा म्याट ओछ्याएर पोखराका युवाहरु पम्प्लेटसहित पुस्तक पढिरहेको दृष्य बिहिबार देखिएको थियो ।
त्यहिं ठाउँमा कुनै राजनीतिक दल वा तिनका भातृ संगठनले केहि कार्यक्रम गरेको भए तमझम छुट्टै हुने थियो । टेन्ट हालेर सजिसजाउ गरेर कार्यक्रम गरेको हुने थियो, जहाँ सबै पुग्ने थिए । तर, दृष्य फरक थियो । त्यहाँ बसेका युवाहरु बौद्धिक थिए । सामाजिक दुरी कायम गर्दै माक्स लगाई बिहानदेखी पानीसमेत नखाई सडक छेउको धुलोमा बसिरहेका थिए ।
अनसन परिसरहुँदै आवतजावत गर्ने साइकलदेखि प्रहरी भ्यानसम्म सबैको ध्यान त्यहिँ पुगेको थियो । अनशनकारी मौन थिए । कारण थियो– एकअर्कासंग चिनजान नहुनु । उनीहरुको हातमा नेपालको संविधान थियोभने सेतो पम्प्लेटमा ठुला अक्षर कालो रंगले सत्याग्रह, हाम्रो कुरा सुनिदिनुप¥यो सरकार, कोहि रोगले ग्रस्त, कोहि कुर्सीको खेलमा मस्त हाम्रो नेपालमा लगायतको नारा लेखिएको थियो ।
उनीहरु बिहानदेखि उक्त स्थानमा अनशन बसिरहेका थिए । विश्व कोरोना भाइरसको महामारीसंग जुधिरहेको बेला नेपाल सरकारले आफ्ना नागरिकको जीवन रक्षाको भन्दा कुर्सी बचाउनतर्फ लागेको र पिसिआर परिक्षण दायरा बढाउँदै अन्तराष्ट्रिय मापदण्ड अनुसारको क्वारेन्टिन बनाउन माग गर्दै अनशन बसेका हुन् ।
कोरोना रोकथामको लागि सरकारले गरेको कार्यप्रति असन्तुष्टि जनाउदैँ पोखराको एयरपोर्ट नजिकै रहेको मुस्ताङचोकमा नागरिकको जिवन रक्षाको माग गर्दै पोखराका युवाहरुल्े स्वस्फुर्त रुपमा ७ घण्टे अनशन शुरु गरेका हुन् । काठमाण्डौँमा भने अशसन शुरु भएको आज ६ दिन बितिसकेको छ । काठमाण्डौँमा अनशन बसेका युवाहरुको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै दबाब दिन पोखरामा पनि अनशन शुरु गरेको पोखरा नयाँबजारका सतिस खराल बताउँछन् ।
उनी सामाजिक सञ्जालमा सरकारले गरेको कामप्रति विरोध गर्दै लेखिएको लेखबाट प्रभावित भई अनसनमा आएका थिए । सतिसले नत त्यँहा कसैलाई चिनेका छन् न उनी कुनै पार्टिका हुन् । उनी काठमाण्डौमा कृषि पढ्दै आएका छन् । ‘हाम्रो मुख्य माग भनेकै जीवन बचाउँ हो, सरकारले नगरिकको स्वास्थ्यप्रति कुनै चासो नदेखाई कुर्सी बचाउन लागिपरेको छ’ उनले भने– ‘अहिले कोरोना संक्रमण बढ्दो क्रममा छ, परिक्षण दायरा बढाईको छैन, क्वारेन्टिनको अवस्था विजोग छ । तर, सरकारले बेवास्ता गरेका कारण हामी जागेका हौँ ।’
त्यस्तै पोखरा–११ फुलबारीकी २१ वर्षीय पुनम गुरुङले इन्ष्टाग्राममा सरकारलाई खवरदारी गर्दै गरेको फोटो र लेख हेरिन र आइपुगिन् अनशन बस्न । युवाहरुले सरकालाई सहि मार्गमा ल्याउनको लागि खबरदारी गर्दै आन्दोलन भएको उनी बताउँछिन । ‘यो महामारी सत्ता र कुर्सीको खेल होइन, जनताको जीवनको कुरा हो, खेलवाड गर्न सरकारलाई कुनै अधिकार छैन’ पुनमले भनिन् ।
त्यस्तै लालीगुरासँटोल बस्दै आएका किरण गुरुङले इन्ष्टाग्राम हेरेर नै अनशन बस्न आएको बताए । सरकारले क्वारेन्टिनको नाममा करौडौँ रकम भ्रष्टचार गरेको उनले आरोप लगाए । भ्रष्टचारकै कारणले सरकार कमजोर भएको उनले बताए । ‘हाम्रा क्वारेन्टिनहरुको अवस्था निकै नाजुक छ, सुरक्षित छैन, भ्रष्टचार भएकै कारणले यस्तो भएको हो” उनले दाबी गरे । सरकारले आफुहरुको माग सुनुवाई नगरे अनशनको समयसमेत बढाउँदै आन्दोलनलाई निरन्तरता दिने उनीहरुको भनाई छ ।





