सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशसभा : बाढीपहिरो पीडितलाई राहत माग

गण्डकी प्रदेशसभा : बाढीपहिरो पीडितलाई राहत माग


  • ढोरपाटन संवाददाता
  • असार २७ २०७७, शनिबार

पोखरा, २७ असार– गण्डकी प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सांसदहरुले बाढीपहिरोमा परि ज्यान गुमाउनेको परिवारलाई राहतको माग गरेका छन् । सभाका शुन्य र विशेष समयमा बोल्ने सांसदहरुले दुई दिनअघिदेखि परिरहेको अविरल वर्षाका कारण ज्यान गुमाएका परिवारलाई तत्काल राहतको प्याकेज ल्याउन माग गरेका हुन् ।
सभाको शुन्य समयमा बोल्दै सभासद विन्दुकुमार थापाले कास्कीमा पहिरोले पारेको समस्याको जानकारी दिँदै उनले असारे विकास र बिनायोजना सडक खन्दा धनजनको क्षति पुगेको जिकिर गरे । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत वडा नं. २६ मा डेढदुई सय मिटरमाथि सडक खन्ने क्रममा पहिरो गएको उनले जिकिर गरे ।
उनले पोखरा महानगर र महानगर भित्रिने सडकमा खाल्डाखुल्डी पर्दा दुर्घटना बढेको भन्दै त्यसको समाधानको लागि प्रदेश सरकारले नै पहल गर्न माग राखे । उनले फिर्के खोलामा पानीको बहाब बढ्दा सुकुम्बासी बस्ती जलमग्न भएको उल्लेख गर्दैै वैकल्पिक व्यवस्थापनको लागि माग राखे ।
सभासद आशा कोइरालाले पहिरोले पारेको क्षति न्यनिकरणका लागि नदीकिनारका बस्ती वैकल्पिक व्यवस्था गर्नको लागि तत्काल पहल गर्नुपर्नेमा जोडदार माग राखिन् । उनले तनहुँको बस्ती र पुलका क्षेत्र तीन–चार वर्षअघि नै भाँसिएको र राम्रो वैकल्पिक व्यवस्थान हुँदा जोखिम बढेको जिकिर गरिन् ।
बागलुङका सभासद ईन्द्रलाल सापकोटाले अविरल वर्षाका कारण कालीगण्डकी नदीको बहाब बढेको र वर्षाले प्रदेश सरकारद्वारा सञ्चालित ०७५÷०७६÷०७७ निर्माणाधिन कालीगण्डकी लिफ्टिङको मुलटंकी पूरै बगाएको जानकारी दिए । उनले बाढीले पु¥याएको क्षतिको फेहरिस्त प्रस्तुत गर्दै तत्काल राहत र वैकल्पिक व्यवस्थापनको माग गरे । कास्कीका सांसद कृष्णबहादुर थापाले कास्की पहिरो परि ज्यान गुमाउन पुगेको भन्दै तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
कास्कीकै अर्का सभासद राजीव पहारीले पोखरा पर्यटकीय नगरी भएपनि मुख्य सडकमा खाल्डाखुल्डी हुँदा कुरुप बनेको बताए । खानेपानीको पाइप बिच्छ्याउन खाल्डा खने पनि राम्रोसँग नपुर्दा सवारीलाई समेत अवरोध खडा गरेको उनले बताए । उनले प्रदेश सरकारलाई स्थानीय निकायसँग समन्वय गरेर व्यवस्थापन गर्न ध्यानाकर्षण गराए ।
विशेष समय बोलेका सांसद मायानाथ अधिकारीले पहिराले लमजुङका विभिन्न ठाउँ जोखिमयुक्त बनेको उल्लेख गर्दै डुम्रे, बेशीसहर चामेसडक पहिरोले अवरुद्ध बनेको बताए । मृतकलाई राहत र घाइतेको सिघ्र उपचारको लागि उनले प्रदेश सरकारसामु माग गरे । नवलपुरकी सभासद ओमकला गौतमले कोरोना कहरले आक्रान्त भएको बेला पहिरोले मुलुकबासीले अर्को विपत्तिसँग लड्नु परेको भन्दै दुःख मनाउ गरिन् । देशैभरि बाढीले क्षति र गण्डकीका विभिन्न जिल्लामध्ये म्याग्दीको अवस्था दर्दनाक रहेको उनले बताइन् । उनले उद्दार, उपचार र बसोबासको व्यवस्था मिलाउन प्रदेश सरकारसामू माग राखेकी थिइन् ।
अर्की सांसद पियारी थापाले सार्वजनिक यातायात संघ सरकारको मन्त्रिपरिषद् बैठकले छोटो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरे पनि जनभावनाविपरित आएको जिकिर गरिन् । उनले यो विषय सच्याउन प्रदेश सरकारमार्फत केन्द्र सरकारमार्फत ध्यानाकर्षण गराइन् । ‘५० प्रतिशत भाडा बढाउनु नै गलत हो यो जनचाहनाविपरित छ । यसलाई सच्याउनको लागि प्रदेश सरकारमार्फत ध्यानाकर्षण गराउन चाहन्छु, पुर्नविचार गरियोस्’, उनले थपिन्, ‘कोरोना बिमा नगरी सार्वजनिक सवारी सञ्चालनमा ल्याउँदा लाखौं जनता प्रभावित हुनेछन् । कोरोना टेस्ट र बिमा गरेर मात्रै सुरु गर्न र ट्राफिक व्यवस्थापन गरेर मात्रै सार्वजनिक सवारी सञ्चालनमा ल्याउनुपर्छ ।’
सांसद धनमाया पोखरेल लामाले विशेष महत्वको रुपमा लिएको कार्यक्रम निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमलाई लिएपनि उनले प्रदेश सरकारले बिनातालाचाबीको घर मालिक बनाउन खोजेको जिकिर गरिन् । ‘मुख्यमन्त्री कार्यालयबाट अनुगमनको भूमिका दिएको छ । यो जिम्मा पाई रहँदा धन्यवाद दिन चाहन्छु, के मानेमा भने, कार्यक्रम छनौट गर्दा के भनिएको छ भने जसको मत हाल्ने सम्बन्धित क्षेत्रमा कार्यक्रम छनौट गर्न पाउनु पर्ने’, उनले भनिन्, ‘अनुगमनचाहिं अर्कैै क्षेत्रमा । बिनातालाचाबीको घर मालिक बनाउन खोजेको जस्तो लाग्यो ।’
उनले कार्यक्रममको कार्यान्वयन स्थानीय तहलाई दिनुपर्ने माग राखिन् । प्रदेश सरकारसँग थुप्रै कार्यक्रम रहेको हुँदा सम्बन्धित कार्यालयलाई नै दिए जनमुखी हुने, नत्र बालुवामा पानी खन्याएजस्तो हुने उनले जिकिर गरिन् । सभासद रामजी बरालले कास्कीमा पहिरोले मच्चाउको बितण्डा उल्लेख गर्दै उचित अवलोकन र सम्बोधन गर्न साथै निःशुल्क उपचारका लागि प्रदेश सरकारसँग माग राखेका छन् । अर्की सभासद मनकुमारी गुरुङले मुलुक कोरोना भाइरसले आक्रान्त भइरहँँदा प्राकृतिक विपत्तिसँग जुध्नु परेको भन्दै दुःखव्यक्त गरिन् ।
सांसद विनोद केसीले म्याग्दीको बाढीमा बेपत्ता बनेकाको सक्दो छिटो खोजी गर्न प्रदेश सरकारसामु माग राखे । सांसद प्रभा कोइरालाले पनि विपतमा परेकालाई तत्काल उद्धार गर्न माग राखिन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बाढीपहिरोमा परेका पीडितलाई उचित राहतदिने बताएका छन् । मृतकको पहिचान र बेपत्ता भएका नागरिकको खोजीपछि भएको क्षतिकाा यथार्थ मुल्यांकन गर्न जिल्लालाई सतर्क बनाइएको समेत उनले बताए । ठाउँ ठाउँमा गएको पहिरोले उद्धार कार्य कठिन बनेको उल्लेख गर्दै उनले सबैलाई सजग रहनसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->