पोखरा, ३१ असार– ‘केही पनि था’छैन । एक्कासी सास फेर्न गाह्रो भयो । मलाई माटोको ढिस्काले छोपी सकेको रहेछ, सपनै भनि रहेथेँ’, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा हल्का चलमलाउँदै पिंकी थापा मगरले भनिन्, ‘मसँग आडमा बसेको बैनी थियो, बैनीलाई पनि अचेटेको रै’छ ।’ पिंकी थापा, जो गएको शुक्रबार राती पोखरा–१८ सराङकोट गोठादीको पहिरोबाट बालबाल बाँचेकी थिइन् ।
बिहीबार २१ पूरा गरेर २२ मा पाइला टेक्दै गरेकी पिंकीको जन्मदिन मनाउन जम्मा भएका थिए, त्यो रात उनका आफन्त, छरछिमेकी । जन्मदिनको खुसी साँट्न जम्मा भएका उनका आफन्त र बुबाआमालाई पहिरोले खोस्यो । माटोको ढिस्कोले पुरिएर बुबाआमा गुमाएकी पिंकी दुवै खुट्टामा स्टिल हाल्नुपर्ने भएको छ ।
‘धकेल्न धेरै कोसिस गरेको थिएँ तर, सकिनँ । त्यसको ५÷६ मिनेटपछि छिमेकीहरु आउनु भएको थियो, खुट्टा बाउँडिएको थियो’, कहालिलाग्दो रातको पीडा सुनाउँदै गर्दा उनी सानीआमाको हातबाट पानी पिउँदै थिइन् । पहिरोमा परेकी आफ्नी ५ वर्षे छोरीलाई कसैले निकालेको थाहा पाएकी रहिछिन्, पिंकीले । त्यसपछि के भयो उनलाई थाहा छैन । पिंकीकी छोरी पिरिशालाई पनि टाउकोमा चोट लागेको छ । दायाँ हात र बायाँ खुट्टा भाँभिएको रहेछ । पिरिशालाई मनिपाल अस्पतालमा उपचारपछि भोलिपल्टै आमा भएको ठाउँमा ल्याइएको रहेछ । सानै उमेरमा बिहे गरेकी पिंकी ६ महिनायता माइतीमै बस्दै आएकी रहिछन् ।
चिनजानको केटा, मन मिल्यो । विवाह केटा विवाह पनि भइहाल्यो । विहे गरेको केही समय सम्बन्धमा राम्रै भए पनि जाँड, रक्सी खाएर हात हाल्न थालेपछि खप्नै नसकेर छोरी बोकेर माइती आएकी पिंकी माइतीमै बसेकी रहिछन् । बुबाआमाले पनि माइतीमै राख्ने भनेका रे ! अब त त्यही बुबाआमालाई पनि पहिरोले खोस्यो । भएको एउटा घर पनि पहिरोले बगाइहाल्यो ! के गर्ने ? कसो गर्ने ? माइतीको शरणमा आएकी पिंकीको माटोको ढिस्कोले पुरिएको खुट्टाजस्तै मन पनि बेस्सरी दुखेको छ, यतिबेला । पहिरोमा परेको थाहा पाए कि पाएनन्, कुन्नि ? उनका श्रीमान अहिलेसम्म पनि हालखबर बुझ्न अस्पताल आएका छैनन् रे ! देवर भने बिहान भेट्न आएको रहेछन् । सासूले पनि फोनमा कुरा गरिछन् ।
‘डाक्टरले ३ ठाउँमा स्टिल हाल्नपर्छ भन्नु भाथ्यो’, पिंकीकी सानीआमा आशा थापाले भनिन्, ‘आइतबार हाल्ने भनेको खै, अहिलेसम्म केही थाहा छैन ।’ आशाले नै पिंकीको हेरचाह गरिरहेकी छिन् । अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार तत्काल स्टिल राख्दा थप इन्फेक्सन हुने खतरा हुनाले पनि केही समयलाई होल्ड गरिएको हो रे ।
जन्मदिन मनाउन आएकी पिंकीका छिमेकी रश्मी थापा र उनकी बहिनी आशा थापाको अहिले मनिपाल अस्पतालमै उपचार चलिरहेको छ । रश्मी थापाको अवस्था भने अहिलेसम्म गम्भीर छ । पहिरोमा परि घाइते भएका अन्य ३ जना निको भइसके । पिंकीको लागि मनकारी सहयोगी दाताहरुले आर्थिक सहयोग पनि गरेका छन् । सरोकारवाला निकायबाट भने केही सहयोग मिलेको छैन । पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापा तीन दिनअघि भेट्न अस्पताल पुगेका रहेछन् । अस्पतालमा खर्च भएको बिल सुरक्षित राख्न भनेका छन् रे ! बाँकी कुरा पिंकीलाई भनिएको छैन, भनेपछि झन ठूलो पहिरो खस्ने भने निश्चित छ ।





