पोखरा, ३१ असार– सरकारले हालै जिल्लाभित्र सामाजिक दूरीसहित निश्चित मापदण्डमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, पोखरामा भने छोटो दूरीका कुनै पनि सार्वजानिक यातायात चलेका छैनन् । सरकारको घोषणापछि पोखरामा नगरबस चलाउने पोखरा यातायात प्रालिले दुईपटक बैठक राख्यो । यसअघि राहतको माग गरेका व्यवसायीहरुले तत्काल बस चलाउन नसक्ने निष्कर्ष निकाले । सरकारले निर्णय गरे पनि अहिले यातायात नचल्नाको कारण भने आर्थिक स्थिति नै हो ।‘आज ( मंगलबार ) दोस्रो बैठक बसेका छौँ, सरकारले सञ्चालन गर्न दिने निर्णय गरेसँगै सञ्चालन गर्न सबैलाई आग्रह ग¥यौँ तर सवारी तत्कालै निकाल्न सक्ने स्थिति देखिएन्’, पोखरा यातायात प्रालि सञ्चालक समितिका अध्यक्ष देउप्रसाद गुरुङले भने, ‘अधिकांश गाडी लोनमा छन् गाडी निकाल्न कम्तीमा पनि एक लाख रुपैँया खर्च छ । अहिले रकम छैन कसरी निकाल्ने ?’ गाडी चलाउने हो भने राज्यले विशेष सहयोग गर्नुपर्ने उनले बताए । उनका अनुसार लामो समयदेखि गाडी थन्किएको हुदाँ ब्याट्री टायर, मोबिल, सिट,ब्रेक लगायतका सामान फेर्नुपर्ने छ । गाडीलाई ग्यारेजसम्म लैजाने स्थिति पनि छैन । गाडी मर्मतको लागि पनि राज्यले ऋण दिनुपर्ने उनले माग गरे ।
मंगलवार बसेको कार्यसमितिको बैठकले सीमित मात्रामा सवारी सञ्चालनमा ल्याउने तयारी गरेको उनले बताए । सवारी सञ्चालनको लागि चालक र सहचालकको लागि सुरक्षा सामग्री उपलब्ध गराइदिनुपर्ने माग पनि उनले गरे । ‘सरकारको निर्णय निल्नु न ओकल्नुजस्तो छ । गाडी सञ्चालनको लागि केही नीति लिएर आउनुपर्ने हो तर सरकारले त्यसो गरको देखिएन । सरकारले आफ्नो स्वार्थमात्र हेरको छ’ अध्यक्ष गुरुङले भने । पोखरामा ३ सय ७८ वटा नगरबस छन् ती अहिले गुडाउन मिल्ने अवस्थामा नभएको व्यवसायीहरुको जिकिर छ । कोरोनाको डर गाडी चले पनि यात्रु पाउन समस्या हुने अध्यक्ष गुरुङले सुनाए । उनले भने, ‘गाडी गुडाउन थालेपछि त बैंकको फोन थाम्नै सकिन्न । गाडी चल्नेबित्तिकै मान्छे पाइन्छ भन्ने पनि छैन ।’
नगर बसमा अधिकांश लगानी बैंकको रहेको र ५० प्रतिशत बढी स्वरोजगार चालक रहेको अध्यक्ष गुरुङले जानकारी दिए । ‘खाडीमा २÷४ लाख कमाएर आए । गाडीमा लगानी गरे उनीहरु जस्तो पीडा त कसलाई होला र ?’, उनले भने । पोखरामा २३ सयको हारहारीमा ट्याक्सी छन् । ती ट्याक्सीमा ८० प्रतिशत स्वरोजगार छन् भने बाँकी २० प्रतिशतले मजदुर राखेका छन् । नगर बसजस्तै हालत ट्याक्सीको पनि छ । तर केहि ट्याक्सी भने सञ्चालनमा आएका छन । केहि दिन सवारी निकाले पनि निरन्तर सञ्चालन गर्न सक्ने स्थिति नदेखिएको अध्यक्ष गुरुङले बताए । ‘अहिले गाडि निकालेर चलाउनुभनेको मर्नु भन्दा बौलाउनु बेस भने जस्तै हो ,हिजोका दिनमा ३ सय गाडी चल्थे अहिले ३ सय गाडी चलाउन नसकेपनि ५० प्रतिशत गाडी चलाउने तयारी गरेका छौँ तर निरन्तर दिन गाह्रो छ’ उनले भने । उनले २०–२२ लाख लगानी रहेको गाडी छाड्न पनि नसक्ने र चलाउन पनि गाह्रो भएको सुनाउँदै कर्जाको समयसीमा र ब्याज छुट दिनुपर्ने माग दोहो¥याए । त्यसो भए साउनदेखि गाडी चलाउन सकिने पनि उनले जनाए ।





