पोखरा, १ साउन– गतवर्ष गण्डकी प्रदेशको धानखेतमध्ये कुल ५६ प्रतिशतमा मात्र रोपाइँ भयो । समयमा पानी नपरेको कारणले गर्दा गतवर्ष कम रोपाइँ भएको थियो । यो वर्ष भने समयमै पानी परेकाले समयमै रोपाइँ थालियो र बेलैमा धान ७१ प्रतिशत रोपाइँ सकियो । अघिल्लो वर्षभन्दा यो वर्ष १४ प्रतिशतले धान रोपाइँ वृद्धि भएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा गण्डकी प्रदेशमा १ लाख १९ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । उक्त रोपाइँ कुल क्षेत्रफलको ५६.५३ प्रतिशत मात्र हो । आ.व. २०७६÷०७७ मा भने कुल १ लाख २२ हजार ६ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ हुने अनुमान गरिएको छ । समयमै मनसुन भएकाले असारभित्र कुल ८७ हजार २ सय ४ हेक्टर क्षेत्रफलमा रोपाइँ गरिएको छ । जुन अघिल्लो वर्षको भन्दा १४.५४ प्रतिशले बढि हो । ‘अब साउनमा पनी पानी राम्रो परे उत्पादन राम्रो हुने छ, यो वर्ष पानी धेरै परेको कारणले अझ किसानले धान रोप्न पाएनन् साउन पहिलो हप्तासम्ममा रोपाइँ सकिन्छ उत्पादनमा वृद्धि भएको छ’, कृषि बिकास निर्देशनालयका प्रमुख भानुभक्त भट्टराईले भने । कोरोनाको कारणले कृषिको क्षेत्रमा प्रभाव परेपनि रोपाइँ र खेती भने राम्रो भएको उनले बताए । ‘कोरोनाको कारणले मानिसहरु गाउँघरतिर लागे यसको प्रभाव फाइदा रोपाइँमा देखियो । यो वर्ष बाँझो जमिनमा समेत खेती भएको पाइन्छ जनशक्ति पनि भयो’, उनले भने । आ.व. मा संघ प्रदेश सरकारको संयुक्त लगानीमा १ अर्व ४० करोड १० लाख २० हजार रुपैँया विनियोजन भएपनि बिहीबारदेखि सुरु भएको चालु आर्थिक वर्ष २०७७÷०७८ को लागि प्रदेश सरकारले मात्र १ अर्ब ११ करोड ५८ लाख रुपैँया कृषिलाई छुट्याएको उनले जानकारी दिए । संघ सरकारबाट भने बजेट आउने तयारी भइराखेको उनले बताए । त्यस्तै कृषि अर्थविज्ञ इन्द्रमणि लामिछानेले कर्म र कर्तुतले साथ दिएकाले उत्साहजनक रोपाइँ भएको प्रतिक्रिया दिए । ‘मानिसहरुलाई लकडाउन र मौसम दुवैले साथ दिएको छ किसानहरु यतिबेला निकै उत्साहित पाइएको छ’, उनले भने । रोपाइँ उत्साहजनक भएपनि कोरोनाको कारणले कृषि क्षेत्रमा भने निकै प्रभाव पारेको उनले बताए । साउन र भदौ महिनाको समेत मौसम राम्रो भए उब्जाउ निकै उत्कृष्ट हुने उनले बताए । निर्देशनालयले दिएको तथ्याङ्क अनुसार गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक सम्पूर्ण जिल्लामा रोपाइँ भएको छ । सबैभन्दा बढी नवलपुरमा ९७ प्रतिशत र सबै भन्दा कम स्याङ्जामा ३५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै पर्वतमा ५०, बाग्लुङमा ७०, कास्कीमा ५५, तनहुँमा ९५ गोर्खामा ६६.६७, लम्जुङमा ९३.३३ र म्याग्दीमा ८५.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।





