पोखरा, २ साउन – जिल्लाको माछापुच्छ्रे गाउँपालिका-८ खोराको मुखमा पहिरोमा परी एकै परिवारका तीनजनाको मृत्यु भएको छ । पहिरोमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
घरमा छजना बस्दै आएको भए पनि मृतकका हजुरबुबा प्रेमराज, हजुरआमा र अर्का एक व्यक्ति सकुशलै रहेका छन् । तीनजना घरको एकापट्टिको कोठामा र अन्य तीनजना अर्को पट्टीको कोठामा सुतेका थिए । उनीहरु सुतेको कोठा पहिरोले च्यापेको हो। डिएसपी हमालका अनुसार पहिरो बिहीबार राति वा बिहान पख आएको हो भन्नेबारे खुलेको छैन । तर स्थानीयले उज्यालो हुँदासाथ पहिरो देखेपछि प्रहरीमा खबर गरेका थिए ।
माछापुच्छ्रे गाउँपालिकाबाट तत्कालै पुगेको प्रहरी र वडा प्रहरी कार्यालय बगर पोखराबाट प्रहरी निरीक्षकको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलबाट तीनवटै शव निकालेर पोखरा लैजाँदै गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठ पनि घटनास्थलमा पुगेका छन् ।





