पोखरा, ५ साउन – गण्डकी प्रदेश प्रहरीले आफ्नै अस्पताल पाएको छ । अस्पताल भवनको आइतबार प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले उद्घाटन गरे । पोखरा महानगरपालिका–७, मुस्ताङचोकस्थित नेपाल प्रहरीको आफ्नै जग्गामा भवन निर्माणसँगै स्वास्थ्य सेवा पनि सुरु गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्रहरी नायव उपरीक्षक डा. नर्मन लामिछानेका अनुसार नयाँ भवन बनेपछि अस्पतालले हाल दिँदै आइएको जनरल ओपीडीसहित वार्ड ल्याव र फार्मेसी सेवालाई निरन्तरता दिंदै हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ लगायतका अन्य सेवाहरु प्रदान गर्नेछ । गण्डकी प्रदेश प्रहरी कार्यालयका टिएसटी प्रमुख प्रहरी निरीक्षक निरञ्जन कुमार सिंहका अनुसार नेपाल प्रहरी कल्याण कोषको बजेटबाट २८ लाख २३ हजार ४ सय ४६ रुपैया ५९ पैसा लागतमा ११०६ वर्गफिटमा निर्मित उक्त भवनमा सोधपुछ कक्ष, ओपीडी, ईमरजेन्सी, स्टाफ तथा सेवाग्राही शौचालय रहेका छन् । यसअघि गण्डकी प्रहरीसँग आफ्नै अस्पताल थिएन ।
अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले नवनिर्मित गण्डकी प्रदेश प्रहरी अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरु स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरे ।
प्रहरी कर्मचारी साथै तिनका आश्रित परिवार लगायत भूतपूर्व प्रहरी कर्मचारीहरुको औषधि उपचारमा सहजता प्रदान गर्न २०७४ साल चैत्र १७ गते तत्कालीन प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कमलसिंह बमले भवनको शिलान्यास गरेका थिए । प्रहरी कर्मचारीहरुलाई शिक्षा र स्वास्थ्यमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ प्रहरी अस्पतालको परिकल्पनाकार भने पूर्वप्रहरी महानिरीक्षक डीबी लामा थिए । उनले २०४० सालमा नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाण्डौमा स्थापना गरेका थिए । कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले प्रहरी कर्मचारी तथा आश्रित परिवालाई स्वास्थ्य सेवा प्रदान गर्ने गरि महत्वपूर्ण सुविधाहरुसहित अस्पताल निर्माण भएकोमा खुसी व्यक्त गरे ।





