पोखरा, ५ साउन – गण्डकी प्रदेशसभाका सभासदहरुले अवैधानिक र वातारणीय मूल्याङ्कन बिनाका विकास निर्माणले बाढीपहिरोको जोखिम बढाएको जिकिर गरेका छन् । उनीहरुले बाढीपहिरो पीडित प्रदेशवासीलाई उचित व्यवस्थापनको माग पनि राखेका छन् । आइतबार बसेको सभाको बैठकमा शुन्य र विशेष समयमा बोल्दै सभासदहरुले सो आवाज उठाएका हुन् ।
सभाको विशेष सयमा बोल्दै सभासद आशा कोइरालाले अव्यवस्थित बाटोघाटो र संरचना निर्माणका कारण गण्डकीमा बाढीपहिरोले ठूलो क्षति पु¥याएको जिकिर गरिन् ।
उनले आगामी दिनमा वातावरणीय मूल्यांकनबिनाका निर्माण कार्य रोक्नुपर्ने तथा नदी छेउका जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुनुपर्नेमा जोड दिइन् । ‘खोला नालाको स्पष्ट मापदण्ड तोकी सुरक्षित बस्ति बसाउन सरकारको स्पष्ट मापदण्ड हुनुपर्छ’, उनले थपिन् । उनले विस्थापित परिवारलाई एकिकृत बस्ति निर्माण गरेर व्यवस्थापन गर्नुपर्ने धारणा राखिन् ।
सभासद दोबाटे विश्वकर्माले बाढीपहिरो पीडितको व्यवस्थापनमा ढिलाई भएकोमा आपत्ति जनाए । बाढीपहिरो पीडितको व्यवस्थापनमा भूकम्प पीडितकै व्यवहार नदोहोरियोस् भन्ने उनको माग थियो ।
अर्का सभासद कृष्ण थापाले पहिरोले बागलुङको जैमिनी नगरपालिकामा पु¥याएको क्षतिको विवरण सुनाउँदै प्रदेश सरकारबाट विनियोजित आयोजना समयमा कार्यान्वयन नहुँदा पनि विपत्ति थपिएको जिकिर गरे । उनले काम पाएर पूरा नगर्ने ठेकेदारलाई दण्डीत या पुरस्कृत गर्न जे कार्यविधि बनेको छ त्यसै अनुसार प्रक्रिया अघि बढाउनसमेत माग राखे ।
कास्कीका सभासद राजीव पहारीले भू–बनोट र वातावरणीय प्रभावको अध्ययन गरेर मात्रै बाटो खन्ने र घर बनाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । यसको लागि प्रदेश सरकारले संघ र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको सुझाव थियो ।
स्याङ्जाकासभासद भागवत प्रकाश मल्लले स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा वर्षाका कारणले मात्र नभएर अवैधानिक संरचनाले पनि पहिरो गएको जिकिर गरे ।
‘सडकको माथिपट्टि तीन ठाउँबाट पानी कटाउने कल्भट बनाएकाले पहिरो गएको छ । त्यसको व्यवस्थापन नगरे अझ बढी जोखिम हुनेछ,’,उनले भने । वर्षाका कारण गाउँको बस्ती र खानेपानीमा मात्र नभई अनुगमनमा निस्केका जनप्रतिनिधि नै मृत्यु भएको सुनाउँदै दुख व्यक्त गरे । पहिरोमा पुरिएकाहरुको खोजी कार्यमा लगाइएको स्काभेटर फर्काइएको भन्दै तत्काल खोजी गर्न समेत उनले माग राखे ।
सभाको शुन्य समयमा बोल्दै स्याङ्जाका सांसद मेखलाल श्रेष्ठले स्याङ्जाका विभिन्न पालिका जाने बाटोमा पहिरो खस्दा स्वास्थ्य चौकीसम्म पनि आउन सक्ने अवस्था नरहेको बताए । उनले कम्तिमा बाटो खुलाएर अस्पताल आउने व्यवस्था मिलाउने सरकारसामू माग गरे ।
कास्कीका सभासद रामजीप्रसाद बरालले कास्कीमा पहिरोकै कारण ८ जनाले ज्यान गुमाएको बताउँदै जोखिममा परेकाहरुलाई तत्काल सुरक्षित ठाउँमा सार्न माग गरे । उनले उद्धार र पुनस्र्थापनाका काममा कानुनी अड्चन देखाएर तर्किने व्यवहारमा तत्काल परिवर्तन ल्याउनुपर्नेमा जोड दिए । बागलुङकी सभासद सावित्रा रानाले पहिरोले जैमिनी नगरपालिका वडा नम्बर– ९ पिप्लेमा पहिरो जाँदा घर÷गोठ बगाएको दृष्टान्त दिँदै पीडितलाई तत्काल गास, बास, कपासको व्यवस्थापनको लागि पहल गर्नुपर्ने माग गरिन् । मुस्ताङका सांसद चन्द्रमोहन गौचनले १० दिनदेखि मुस्ताङको बाह्य सम्पर्क टुटेको हुँदा तत्काल बाटो खुलाउने व्यवस्था होस् भने । शुन्य समयमा बोलेका अर्का सभासद खिमविक्रम शाहीले ६० वर्षमुनिका विधवा, अशक्त, अपांगलाई दिइने मासिक सामाजिक सुरक्षा भत्ता समयमै वितरण हुनुपर्ने बताए । कास्कीका सभासद कृष्ण थापाले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा व्यापक अनियमितता भएको भन्दै संग्रहालयलाई प्रदेश सरकारको मातहत ल्याउन समेत आग्रह गरे ।





