सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कास्कीमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता सुरु

कास्कीमा राष्ट्रिय परिचयपत्र वितरण दर्ता सुरु


  • बिजय नेपाली
  • साउन ५ २०७७, सोमबार

पोखरा, ५ साउन– कास्कीमा आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण दर्ता सुरु गरिएको छ । यो नागरिकहरुलाई बहुउदेश्यीय राष्ट्रिय परिचय नम्बर र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रदान गर्ने उदेश्यसहित राष्ट्रिय अभियानकै अंग हो ।
गण्डकी प्रदेशको राजधानी पोखरा भएकाले कास्कीबाट परिचयपत्र वितरण सुरु गर्न लागिएको हो । कास्की जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि स्थल कार्यालय स्थापना तथा विवरण दर्ता शुभारम्भ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत वितरण गरिने उक्त परिचयपत्रको लागि जिल्ला प्रशासन कार्यालयमै विवरण दर्ता कार्यालय स्थापना गरिएको हो । नेपालको संविधान को धारा ५१ को (च) मा एकिकृत राष्ट्रिय परिचय व्यवस्थापन सुचना प्रणाली विकास गरि नागरिकका सबै प्रकारका सुचना र विवरणहरु एकीकृत रुपमा व्यवस्थापन गर्ने व्यवस्था छ । यसका अलावा राज्यबाट उपलब्ध हुने सेवा–सुविधा र राष्ट्रिय विकास योजनासँग आवद्ध गर्ने संवैधानिक व्यवस्था पनि रहेको छ । सोही व्यवस्था अनुरुप कास्कीमासमेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता प्रक्रिया सुरु गरिएको हो । शान्ति सुरक्षा तथा अपराध नियन्त्रण एवं न्युनिकरण । सरकारी कामकाज तथा सार्वजानिक सेवाहरुलाई कागजविहीन (पेपरलेस) बनाउँदै जाने लक्ष्यका साथ सो अभियान अघिबढेको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनले राज्यलाई ‘डिजिटलाइज्ड’ गर्नेतर्फ उन्मुख भएको बताए । उक्त परिचयपत्रमा हरेक उमेर पुगेका नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ । परिचयपत्रले कागजी कामकाजको झन्झटको समाधान गर्ने उनले बताए । ‘यो एयटा स्मार्ट परिचयपत्र हो, यसमा हरेक नागरिकको व्यक्तिगत तथा बायोमेट्रिक विवरण राखिएको हुन्छ । कार्ड भएपछि नागरिकता वा कुनै पनि कागज लिएर हिड्न पर्दैन । सबै विवरण स्मार्ड कार्डमै राखिएको हुन्छ’, प्रमुख जिल्ला अधिकारी ढकालले भने । उक्त कार्डको प्रयोगबाट सार्वजानिक सेवा प्रवाह (सामाजिक सुरक्षा कार्यक्रम, गरिबी निवारण कार्यक्रम, सामाजिक बीमा, पेन्सन, राजश्व संकलन, भूमि व्यवस्थापनलगायत सार्वजानिक स्थानहरुबाट हुने सेवा प्रवाह छिटो छरितो,चुस्त तथा पारदर्शी हुने ढकालले बताए । मतदाता परिचयपत्र व्यवस्थापन, नागरिकता तथा राहदानी वितरण, घटना दर्ता एवं विपद् व्यवस्थापनसम्बन्धी विभिन्न कार्यसम्पादनमा समेत सहजिकरण हुने उनको भनाइ छ । परिचयपत्र नेपाली नागरिक, सेवा प्रदायक निकायहरु, अनुसन्धान र न्यायिक निकायहरु तथा कानुनले तोकेका अन्य व्यक्तिहरु यसको प्रयोगकर्ता रहेका छन् । सो परिचयपत्रमा व्यक्तिगत विवरण, औंठा छाप १० वटै आँैलाका, फोटो, हस्ताक्षर र आखाँका रेटिना समावेश हुने छन् । परिचयपत्र विवरण दर्ताको लागि नयाँ वा नागरिकताको प्रतिलिपि सहित फारम भर्न पर्नेछ । आवेदन फारम अनलाइन विधिबाट समेत भर्न सकिनेछ । अभियान अवधिभर नेपाल सरकारबाट तोकिएका स्थानबाट निःशुल्क भर्न सकिनेछ । प्रारम्भिक चरणमा पाँचथर जिल्ला र सिंहदरबारका विशिष्ट व्यक्ति तथा कर्मचारी गरि करिब एक लाख ७० हजार भन्दा बढी विवरण दर्ता संकलन गरिएको थियो । पहिलो चरणमा १५ जिल्ला तथा तेस्रो चरणमा भने कास्कीसहित सबै जिल्लामा विवरण दर्ता गरिने उनले बताए । कास्कीमा भने प्रतिनिधिसभा सदस्य एवम् पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको विवरण दर्ता गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->