पोखरा, ७ साउन – कार्यकारी अधिकृत खेलाउने मामिलामा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी भाग्यमानी देखिएका छन् । जिसीले हालसम्म ६ जना प्रशासकीय अधिकृतसँग काम गरिसकेका छन् ।
२०७५ साल जेठ १४ गते महानगरका प्रमुख प्रशासकको रुपमा आएका शेषनारायण पौडेल बाहेक अन्यले धेरै टिकेनन् । जेठमा आएका पौडेल २०७६ भदौ ६ गतेसम्म प्रमुख प्रशासकीय भएर काम गरे । त्यसलगत्तै आएका गंगालाल सुवेदीले ५ महिनामै सरुवाभए । भदौ १० गते कार्यभार सम्हालेका उनी माघ २४ सरुवा भएका थिए । त्यस्तै २०७६ माघ २६ गते नयाँ प्रशासकीय प्रमुखको रुपमा बद्रिनाथ अधिकारी आए । उनी एक महिनामानै सरुवा भए । माघमा आएका उनी फागुनमै गए । त्यस लगत्तै चैत्र ५ गते प्रमुख अधिकृतको रुपमा आएका धु्रव कुमार पोखरेल ०७७ असारमा सरुवा भए । उनी २०७६ चैत्र ५ गतेबाट २०७७ असार २४ गतेसम्म प्रमुखहुँदै सरुवा भए । असार २४ गते नै आएका हेमप्रसाद आचार्य प्रमुख भएको १४ दिनमै सरुवा भए । उनी साउन ४ गतेसम्म प्रमुखको रुपमा रहे । साउन ५ गतेबाटभने प्रशासकीय प्रमुखको रुपमा महेश बराल आएका छन् ।
कर्मचारीमा सरुवालाई स्वभाविक मानिन्छ । तर, पोखरा महानगरपालिकामा भने कार्यकारी अधिकृत टिक्दै टिक्दैनन् । त्यसैले भनिन्छ, ‘पोखरा महानगरपालिकामा कार्यकारी अधिकृत नटिक्ने रोग छ ।’ महानगरका कर्मचारी स्रोतका अनुसार कर्मचारी गिरोहकै असहयोगका कारण निजामति सेवाबाट आउने कार्यकारी अधिकृत नटिकेका हुन् । महानगरले नै भर्ती गरेका कर्मचारीहरु ‘हाकिमलाई कि त टेर्दैनन् कि त प्रभावित पार्छन् । नीतिगत निर्णय गर्न नमान्दा उनी आँखाको कसिँगर बन्ने गर्छन् । ‘जनप्रतिनिधि भन्दा अरुलाई नटेर्ने कर्मचारी हावी छन् । जनप्रतिनिधि पनि आफ्नो पक्षको हुने र सोही अनुसार मनपर्दो कार्यकारी ल्याउन लगाउँछन्’ स्रोतले भन्यो, ‘आफूले मन परेको गर्छन् तर कार्यकारीको केही आदेश पनि मान्दैनन्, राजनीतिक रुपले आफ्नो पक्षको बिल्ला लगाएर कामगर्छन ।’
मनपरी गर्न कार्यकारीले नदिने भएपछि कार्यकारीलाई निकै समस्या पर्ने गरेको पनि ती कर्मचारीले बताए । कागजपत्रमा पनि सबै अधिकार आफ्नो सहायक हरुलाई दिने निजामतिबाट आएकाहरु आफ्नो अधिकार प्रत्यायोजन गर्न बाध्य पार्ने कारणले नै कार्यकारी नटिक्ने स्रोतले दावी ग¥यो । केही प्रशासनिक लगायतको समूहनै उक्त चलखेलमा रहेको स्रोतले जिकिर ग¥यो । स्रोतका अनुसार सिस्टममा लानखोजे सरुवा गर्ने चलखेल सुरु भइहाल्छ । जनप्रतिनिधि र कार्यकारी बिच तालमेल नमिलेकै कारण पनि समस्या आउने गरेको पाइन्छ । ‘भित्रि गिरोहकै कारण त उधारो सही गराउनेदेखि टेन्डर भराउने सम्मको कार्य भएको छ’, हालै कवाडी टेण्डरको उदाहरण दिँदै स्रोत भन्छ, ‘व्यक्तिगत स्वार्थमा कर्मचारी बढी तल्लिन भएकोले कार्यकारीलाई सास्ती छ ।’ सिस्टम अनुसार चल्न नसक्नु, सत्तारुढ दल निकट कर्मचारीहरु हावीहुनु र जनप्रतिनिधिहरुले पनि उनीहरुलाई नै काखी च्याप्दा हाकिम सधैँ निरीह बन्ने गरेको पनि महानगर स्रोत बताउँछ । ‘सुधार गरौं भन्ने हो भने सकिन्छ तर जसले सुरु गर्छ, टिक्नै दिँदैनन्’, स्रोत थप्छ, ‘अहिले लेखा लेखा अधिकृतले प्रणालीगत कुरा गरेकाले हटाउने चलखेल सुरु भएको छ ।’
अहिले कार्यकारी अधिकृत भएर आएका बराल पनि कति समय टिक्ने हुन् एकिन छैन । बराल प्रमुख अधिकृत भएर आएको यो दोस्रो पटक हो । यस अघि उनी तत्कालीन पोखरा उपमहानगर पालिका हुँदा ६ महिना कार्यकारी थिए । उनी २०७१ सालमा प्रमुख अधिकृत भएर काम गरेका थिए ।
दोस्रो पटक प्रमुख भएर आएका बराल स्वयंले भने केही लामो समय बस्ने आशा गरेका छन् । स्रोतका अनुसार लमजुङका स्थायी बासिन्दा उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जोडबलले पोखरा आएका हुन् । महानगरका मेयर र मुख्यमन्त्रीको खासै मिल्ती नभएकाले उनी पनि कतिञ्जेल यहाँ बस्छन्, ग्यारेण्टी छैन । दोस्रो पटक आएका प्रमुख प्रशासकीय अधिकृत बराल भन्छन्’ ‘पोखरा महानगरमा कार्यकरीको रुपमा २०७१ सालमा कार्यरत हुँदै ६ महिना कार्यभार सम्हालेँ । पहिले र अहिलेको कार्यकारीमा केहि स्टेबल भएको छ म चाहिँ आशा गर्छु मेरो बसाइ लामो हुनेछ ।’ सह–सचिवमा बढुवा हुँदै उनले पोखरामा पहिलो जिम्मेवारी वहन गरेका छन् । ‘मेरो बढुवाभएको छ । म सह–सचिव भएर आएको छु, सह–सचिव भए पछिको यो मेरो पहिलो जिम्मेवारी हो’, प्रमुख बरालले भने । वार्षिक बजेट, नीति तथा कार्यक्रमहरु पास भइसकेको कारणले गर्दा नयाँ योजना केही नभएको बताउदैँ उनले नगरसभाले पारित गरेको बजेट तथा कार्यक्रमहरुलाई कार्यान्वयन नै प्राथमिकतामा रहेको बताए । ‘नयाँ योजना बनाएर कार्यक्रम गरौँ भन्ने अवस्था अब रहेन । आयोजना कार्यान्वयन गराउने र महानगरपालिकाको छवि उचो बनाउने तर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।’ महानगरका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, राजनितिक दल, प्रशासन तथा सबै तह तप्काबाट सहयोग हुने अपेक्षाका साथ अघि बढ्ने उनले बताए ।





