पोखरा, २३ साउन– दु्रत गतिमा कोरोना संक्रमितको दर बढी रहेको छ । दैनिक ३ सय बढीको हाराहारिमा संक्रमितको संख्या बढेको छ ।
गण्डकी प्रदेशमा पनि दैनिक १५ देखि २० को हाराहारिमा संक्रमित थपिएका छन् । चार महिना लामो लकडाउनपछि खुलेको लकडाउन कतिपय जिल्लामा पुन लागू गरिएको छ । लामो समय लकडाउनको सास्ती खेपेका सर्वसाधारणलाई पुन लकडाउन हुने हो कि भन्ने संशय पनि बढेको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले तत्कालको लागि लकडाउन हुने सम्भावना नरहे पनि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने बताए । ‘अहिले त्यो सम्भावना देखिएको छैन । त्यस्तो मात्रामा संक्रमित पनि देखिएको छैन’, उनले भने, ‘तत्कालको लागि लकडाउन गर्ने सम्भावना नदेखिए पनि लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।’
कास्कीमा मात्रै अहिले १ सय ८३ जना क्वारेण्टिनमा बसेको उनले जानकारी दिए । कास्की गण्डकीको राजधानी पनि हो । प्रदेशका दुई वटा प्रयोगशालाबाट स्वाब परिक्षणको काम भई रहेको छ । संक्रमित ह्वात्तै बढे थप आइसोलेसन कक्ष बढाउने तयारी थालिएको उनले सुनाए ।
बिहीबार मात्रै पोखरामा एकै परिवारका ४ सदस्यामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायमा कोरोना छिरेको पो हो कि ? भन्ने आशंका पैदा गराएको छ । यद्यपि, जनस्वास्थ्य अधिकारीहरु यसलाई समुदायमै कोरोना प्रवेश गरेको मान्न तयार छैनन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यका अनुसार कास्कीमा कोरोना समुदायस्तरमा पसेको छैन । एक÷दुई वटा केस बाहेक ट्राभल हिस्ट्रीसँग नजोडिएका संक्रमित कास्कीमा नभेटिएको उनले सुनाए । ‘कम्युनिटी नै भन्न सकिन्न । एक÷दुई वटा केस बाहेक केही न केही माध्यमबाट संक्रमितको सम्पर्कमा आउनु भएको छ’, उनले भने ।
पछिल्लो अपडेटअनुसार कास्कीमा कोरोना संक्रमति संख्या १६० पुगेको छ । गण्डकीका हिमाली जिल्ला मनाङ र मुस्ताङ बाहेक कोरोना संक्रमितको दरमा पछि रहेको कास्कीमा पछिल्लो समय दैनिक जसो संक्रमित भेटिईरहेका छन् । प्रदेश क्षय रोग केन्द्रको प्रयोगशालमा कोरोना भाइरसको आरएनए छुट्याउन ल्याइएको आरएनए अटो एक्सट्याक्टर मेसिनले पनि स्वाब परिक्षणको नजिता छिटो आई रहेको छ ।
जनस्वास्थ्य अधिकारी आचार्यले परीक्षणको दायरा बढाए पनि संक्रमितको दर उच्च नरहेको पुष्टि गरे । ‘परीक्षण दायरा नबढाएर होइन भन्ने मान्छौं । परिक्षणको दायरा बढाएका छौं । हिजो ११० जना प्रहरीलाई गरेका थियौं’, उनले भने, ‘आज आयल निगम, र पेट्रोल पम्प, भोली ट्याक्सी चालक ५, ७ दिनमा ७, ८ सय जना क्वारेण्टिनमा भएका र बाहेककाको स्वाब जाँच्दै छौं । दायरा बढ्दै छ । हिजोदेखि परिक्षणको दायरा बढाउँदा समुदायमा प्रवेश देखिएको छैन, बढ्न सक्ला । अहिलेसम्म संक्रमित र संक्रमितको सम्पर्कमा आएकाहरुको खोजी गर्दा रिजल्ट हेर्दा त्यस्तो देखिएको छैन ।’
संक्रमणको जोखिम बढी भएको ठाउँमा बोलाएरै समुदायको कोरोना परीक्षण थालिएको उनले बताए । केही समय अभियानकै रुपमा लगेर संक्रमित देखिएका ठाउँको समुदायमा कोरोना जाँच गरिने उनले सुनाए । आइसोलेसनमा रहेका ३५ जना मध्ये आज ७ जना डिस्जार्ज हुँदै छन् ।
उनले क्वारेन्टाइनमा बस्नेहरुको संख्या घट्दै गएको जानकारी दिए । स्कुलमा तयार पारिएको क्वारेण्टिनको संख्या घटाउँदै स्ुविधासहितको क्वारेण्टिन निर्माणमा लागेको उनले बताए ।
धेरै जसो तेस्रो मुलुकबाट आएकाहरुमा संक्रमण देखिए पनि तेस्रो मुलुकबाट आउनेको दर अहिले खासै ठूलो मात्रामा नबढेको उनले सुनाए । ‘केही होम क्वारेण्टिनमा बसिरहनु भएको छ । पहिला जस्तो धेरै मात्रामा पनि आउनु भएको छैन । यसरी म्यानेज भई रहेको छ’, उनले भने । पछिल्लो समय नेपालकै पनि तराईका जिल्लाबाट आएकाहरुबाट संक्रमण पुष्टि भएका केस पनि भेएिको छ । समुदायमै टेष्ट हुँदै संक्रमण देखिए पनि तत्कालै समुदायमा कोरोना संक्रमित नपाएको उनले दोहो¥याए ।
यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख सपना सुवेदीले दैनिक ४ सयको हाराहारिमा स्वाब जाँचको लागि प्रयोगशालमा आउने गरेको जानकारी दिइन् । नयाँ मेसिन स्थापना गर्नु अघिसम्म पनि लगभग ३ सय बढी स्वाब परीक्षण गरिए पनि नयाँ मेसिने कोरोना भाइरसको आरएनए छुट्याउने आरएनए अटो एक्सट्याक्टर मेसिन ल्याइसकेपछि रिजल्ट छिटो आउन थालेको उनले बताइन् । ‘त्यो आएपछि धेरै टाइम लाग्ने छोटो भएको छ । ५, ६ घण्टा लाग्ने काम ३५ मिनेटमा हुन्छ । जुनसुकै स्याम्पल होल्ड गर्नुपर्ने अवस्था छैन । आज आए भोलिसम्म रिपोर्ट तपाईंहरुको हातमा पुग्छ’, उनले भनिन् ।
नयाँ मेसिन खडा गरि सकेपछि हजार वटा स्याम्पलको एकै दिनमा रिपोर्ट दिन सक्ने क्षमता प्रयोगशालामा बढेको उनले सुनाइन् । ‘दुई वटा प्रयोगशाला छ । त्यही भएर दुई वटामा आधा आधा जसो नै हुन्छ । १ हजार माथि टेस्ट गर्न सक्ने क्षमता छ’, उनले भनिन् ।
यसअघि स्वाब लिएर फ्रिजिङ गरेर राख्नु पर्ने अवस्था रहे पनि अहिले त्यो समस्या नरहेको उनले सुनाइन् । ‘पहिला जस्तो स्वाब लिएर होल्ड गर्नु परेको छैन । अहिले स्वाब लिएको २४ घण्टा भित्रै रिपोर्ट आई पुग्छ’, उनले भनिन् । परीक्षणको दायरा फराकिलो भए सँगै कोरोना रोकथाममा खटिएका फ्रन्टलाइनरहरुको जाँच थालिएको उनले सुनाइन् । बुधबार मात्रै फ्रन्टलाइनमा खटिएका १११ प्रहरीको स्वाब जाँचिएको थियो । क्रमैसँग आयल निगमको रक्सौल सुनौली जाने गाडीका चालक र पेट्रोल पम्पका कर्मचारीको परिक्षण गरिने उनले सुनाइन् । बुधबार मात्रै कोरोना रोकथामको फ्रन्टलाइनमा खटिएका नदीपुर अस्थाई प्रहरी बिटका प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।





