पोखरा, २५ साउन– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा निर्माणाधीन प्रदेश प्रहरी तालीम केन्द्रलाई देशकै नमूना बनाउने जिकिर गरेका छन् । उनले तालीम केन्द्रलाई विशिष्टिकृत विधामा समेत प्रशिक्षण प्रदान गर्न सकिने खालको बनाइने बताए । मुख्यमन्त्री गुरुङ शनिबार प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशको निर्माणाधीन भौतिक संरचनाहरुको अवलोकनपछि प्रहरीहरुलाई संवोधन गर्दै थिए । उनले नेपाल प्रहरी संगठनको सांगठनिक तथा भौतिक विकास प्रदेशको प्राथमिकताको रहेको बताए ।
सो अवसरमा गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता डा. राजेन्द्र अधिकारी, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याललगायतले उक्त तालिम केन्द्रको निर्माणबारे सुझावहरु दिएका थिए ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेशका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले हाल तालिम केन्द्रको निर्माणमा भइरहेका विविध गतिविधिहरु, विभिन्न विधाका प्रशिक्षणहरु, निर्माण सम्पन्न भएका तथा निर्माणाधीन भौतिक संरचना, तालिम केन्द्र संचालनका लागि तत्काल आवश्यक स्रोतसाधन लगायतका विषयमा जानकारी गराएका थिए ।





