बागलुङ, २७ साउन– बाढी र पहिरोका कारण जोखिममा परेका जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ११ परिवारलाई समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले खाद्यान्न सहयोग गरेका छन् । मंगलबार आफ्नो जन्मगाउँका पहिरो पीडितको घर–घरमै पुगेर उनले राहत स्वरुप खाद्यान्न उपलव्ध गराएका हुन् ।
पहिरोका कारण प्रभावित बनेका पैञ्युथन्थापको पिप्लेका ८ परिवार र ध्यूरका ३ परिवारका लागि प्रतिपरिवार १ बोरा चामल, १ किलो नुन, १ पोका तेल, १ पोका सोयाविन मस्यौरा र अन्य खाद्य सामग्री उपलव्ध गराएको श्रीले बताए ।
पहिरोले घरगोठ पुरिएका पिप्लेका टिकाराम शर्मालाई मोबाईल सेट र सिमसमेत श्रीले उपलव्ध गराएका छन् । घरगोठ पहिरोले बगाउँदा शर्माको घरमा रहेका खाद्यान्न, लत्ताकपडा लगायतका सामग्री पुरिएका थिए । आफ्नो जन्मभूमिमा बाढी र पहिरोका कारण परेको असरले प्रभावितहरुलाई राहत पुगोस् भनेर ४० हजार बराबरको खाद्यान्न उपलव्ध गराएको उनले बताए ।
राहत वितरण कार्यक्रममा नेकपा प्रदेश कमिटि सदस्य लाल बहादुर परियारले संकटका समयमा सबैको सहयोग आवश्यक हुने भन्दै विपत्मा सघाएकोमा श्री परिवारलाई धन्यवाद दिए ।
कार्यक्रममा पीडितको तर्फबाट दुर्गा प्रसाद शर्मा र दाता लक्ष्मण श्रीले बोलेका थिए । टिका श्रीको अध्यक्षता, बिष्णु परियारको स्वागत र वडा सचिव डिलबहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





