बागलुङ, ३० साउन– बिहिबार दिनभरी बागलुङ नगरपालिकाका वडा सदस्य सूर्य लामिछाने र जनस्वास्थ्य निरिक्षक दिनेश जिसी क्वारेन्टाइन व्यवस्थापनका लागि दौडिरहेका थिए । कहिले रामरेखा विद्यालय त कहिले रात्माटा पुगेर खानपान र बसोबासको व्यवस्थापन मिलाउने कामले फूर्सद थिएन । केही दिनअघिसम्म शुन्य भएका क्वारेन्टाइन फेरी भरिन थालेपछि यो दौडधुप चलेको हो ।
भारत, युरोप र अन्य एशियाली मुलुकबाट घर फर्कनेको क्रम फेरी बढेको छ । कतिपय मानिस सूचनाबिनै आउने गरेका छन् । ‘गुपचुप रुपमा घर पुगेर बसिदिन्छन्, त्यसपछि नगरपालिकाले खोज्नै हैरान’ लामिछानेले भने, ‘समुदायमा कोरोना संक्रमण फैलन सक्ने मुख्य कारण लुकिछिपी आएर बस्नेनै हुन् ।’ कतिपयले मालढुंगामा सवारीबाट झरेपछि वास्ता नहुने गरी आएका समेत भेटिएका थिए ।
लकडाउन खुकुलो भएपछि प्रशासनले पास लिएका सवारीलाई आवतजावत गर्न दियो । निजी सवारी साधन भएमा रोकतोक नै भएन । सार्वजनिक गाडी भए मात्रै सोधपुछ हुने गरेको थियो । सार्वजनिक सवारीमा जिप मात्रै चलेका छन् । बस र माइक्रोबस भने अझै चलेका छैनन् । बागलुङ प्रशासनले जिपमा ४ जना मात्रै पास दिएकोमा कास्की प्रशासनबाट ८ जनासम्मको पास लिएर बागलुङ आउने गरेका थिए । त्यसरी आएका जिपले विदेशबाट आएका मानिससमेत ल्याएको अनुमान छ । ‘कतिपय मानिस विदेशबाट आएको नभनी पोखराबाट आएको बहाना बनाएका छन्’ लामिछानेले भने, ‘घरमा लुकेर बस्न थालेपछि थाहा पाएर नगरपालिकाले क्वारेन्टाइनमा राख्ने र पिसिआर गर्नुपर्ने बाध्यता परेको छ ।’ यसरी आउनेबाट बागलुङ दिनदिनै जोखिममा परेको उनले बताए ।
अघिल्लो साता महोत्तरीबाट आएकाहरुको पनि उस्तै समस्या हो । अस्पतालको सी ब्लक बनाउने निहुँमा आएका १३ जनामा एकैपटक कोरोना पोजेटिभ भेटिएको थियो । उनीहरु अहिले अस्पतालको आइसोलेसनमा छन् । झण्डै खाली भैसकेका आइसोलेसन उनीहरुकै कारण फेरी भरिन लागेका छन् । बिहिबार रामरेखा र रात्माटामा गरी फेरी ५० जना मानिस क्वारेन्टाइनमा छन् । जिल्लाभरी १ सय ५६ जना क्वारेन्टाइनमा बसेका छन् । विदेशबाट आएका केही होटलमा बसेका छन् । कतिपय मानिस लुकेर आएकोले खोजीमा लाग्नु परेको जिसीले बताए । तेस्रो मुलुकबाट आएका अधिकांसले भने काठमाण्डौदेखि नै सूचना दिएर मात्र आउने गरेका छन् । उनीहरु आउँदै गरेको थाहा पाएपछि नगरपालिकाले मालढुंगाबाटै सुरक्षित रुपमा क्वारेन्टाइनमा लगेर राख्न थालेको छ ।
रातो प्लेटमा छली
नगरपालिकाको अध्ययन अनुसार रातो प्लेट अर्थात् निजी सवारी साधनले चर्को भाडा असुल गरेर भारतबाट आएका तथा तेस्रो मुलुकबाट आएकाहरु ओसारेको भेटिएको छ । जिल्ला प्रवेश लगायतका कुनैपनि नाकामा रातो प्लेट भएपछि चेकजाँच नहुने अवस्थामा उनीहरुले पैसा कमाउने दाउ गरेको भेटिएको हो ।
एक यातायात व्यवसायीका अनुसार सार्वजनिक सवारी नचलेको फाइदा उठाएर उनीहरुले चर्को भाडा असुल्ने र समुदायलाई असुरक्षित बनाइरहेको टिप्पणी गरे । ‘प्रशासन र प्रहरीले पनि रातो प्लेट, जिल्लाका प्रतिष्ठित व्यापारी भनेपछि वास्ता नगर्ने, उनीहरुनै पैसा पनि कमाउने दाउमा लागेका छन्’ ती व्यवसायीले भने, ‘सार्वजनिक सवारी साधनले दुरी कायम गरेर मानिस राख्छौं भन्दा पनि दिइएन ।’
लगातार आउने असुरक्षित मानिसका कारण नगरपालिकाको खर्चसमेत बढेको उनले बताए । क्वारेन्टाइनमा राख्ने, पिसिआर गर्ने र संक्रमण पुष्टी भएमा आइसोलेसन राख्दा एकजनाका लागि हजारौं खर्च लाग्ने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार, जिल्लामा २ सय ६३ जना संक्रमित रहेका थिए । तीमध्ये २ सय ४४ जना निको भएर घर फर्केका छन् । १ जनाको मृत्यु भएको थियो । हाल १८ जना सक्रिय संक्रमित छन् । ती मध्ये जैमिनी नगरपालिकामा १ जन, गलकोटमा २ जना र बागलुङ नगरपालिकामा १५ जना रहेका हुन् । समुदायमा संक्रमण फैलन सक्ने आशंकामा नगरपालिकाले २ सय ५५ जनाको परीक्षण गरेको थियो । उक्त परीक्षणबाट संक्रमण समुदायमा नगएको भने पुष्टी भएको छ ।





