सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

शुद्ध खानेपानी माग्दै अदालतमा मुद्दा

शुद्ध खानेपानी माग्दै अदालतमा मुद्दा

जिम्मेवारी नलिएको भन्दै नगरप्रमुख जनकराज पौडेलसहित नगर कार्यपालिकालाई पनि विपक्षी बनाइएको छ ।


  • ढोरपाटन संवाददाता
  • साउन ३० २०७७, शुक्रबार

बागलुङ, ३० साउन– बागलुङका अधिवक्ता रमेशबहादुर खड्काले शुद्व खानेपानीको माग गर्दै उच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।
शुक्रबार अधिवक्ता खड्काले उच्च अदालत पोखराको बागलुङ इजलासमा निवेदन पेश गरेका हुन् । निवेदनमा खड्काले नगरबासीलाई शुद्ध खानेपानी दिन माग गरेका छन् । उनले समयमा पानी दिन नसक्ने संस्था खारेजीको मागसमेत गरेका छन् ।
बागलुङ नगर खानोपनी तथा सरसफाई उपभोक्ता संस्था गठन भएर लामो समयदेखि संस्थागत भएपनि पानी दिन नसकेपछि रिट दिनुपरेको खड्काले बताए । उनले गैरकानूनी रुपमा संस्था संचालन भैरहेको, जनताको जीउधनको सुरक्षामा ध्यान नदिई प्रदुषित पानी वितरण भएको आरोप पनि लगाईएको छ ।
खड्काले संस्थासहित बागलुङ नगरपालिका, नगरकार्यपालिकाको कार्यालय, नगर प्रमुख, जिल्ला जलश्रोत समिति र समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी तथा संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठ समेतलाई विपक्षी बनाएर निवेदन पेश गरेका हुन् । रिटमा उत्प्रेषण, परमादेशलगायतका आदेश पेश गर्न भनिएको छ । लामो समयदेखि संस्थाले शुद्ध खानेपानी वितरण गर्न नसकेको, संस्थाको साधारणसभा गैरकानूनी रुपमा संचालन भएको, जलश्रोत समितिमा दर्ता नभएको र समितिले पनि खानेपानी वितरणमा ध्यान नदिएको आरोप लगाइएको छ ।
नगरका बासिन्दाले लामो समयदेखि शुद्ध पानी पिउन नपाएको र सास्ती खेप्नु परिरहेको बेलामा जिम्मेवारी नलिएको भन्दै नगरप्रमुख जनकराज पौडेलसहित नगर कार्यपालिकालाई पनि विपक्षी बनाइएको हो । केही दिनदेखि पानी वितरणको क्रममा खोला, नाली र खेतको पानी पठाउने गरिएकोले नगरबासी आक्रोसित थिए ।
संस्थाले पहिरो गएको निहुँ पारेर सर्वसाधारणको स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने काम गरेको उल्लेख छ । खड्काले निवेदनमा लामो समयदेखि खानेपानी शुद्ध नभएको, वर्षा याममा हात धुन र शौचालय प्रयोग गर्न समेत नसकिने धमिलो र लेदो पानी वितरण भएकोप्रति अदालतको ध्यानाकर्षण पनि गरिएको छ ।
त्यस्तै जनस्वास्थ्यमा गम्भिर खेलवाड गरिएको भन्दै नकारात्मक असर पर्ने काम रोक्न आदेश माग गरिएको हो । नेपालको संविधानको धारा ३५ को उपधारा ४ ले मौलिक हकको रुपमा व्यवस्था गरेको हकको पनि बर्खिलाप भएको निवेदनमा उल्लेख छ । यथाशिघ्र विपक्षीका नाउँमा परमादेश जारी गरी उपभोक्ताको हितको संरक्षण गर्न पनि माग गरिएको छ ।
आम जनताले पाएको सास्तीबाट आँफू पनि अछुतो रहन नसकेको भन्दै आँफै निवेदक भएर रिट निवेदन पेश गरेको समेत खड्काले जानकारी दिए । उनको निवेदन पेश भएपछि उपभोक्ताहरु खुसी भएका छन् । जनताको स्वास्थ्य र खाद्य अधिकार रक्षाका लागि निवेदन उपयोगी भएको समेत उपभोक्ताको मत छ । स्थानीय उपभोक्ताहरुले बिहिबार पनि प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेसँग डेलिगेसन गएर शुद्ध पानीको व्यवस्थापनमा पहल गरिदिन आग्रह गरेका थिए । सहभागिको गुनासोपछि प्रजिअ न्यौपानेले संस्थाका पदाधिकारी र कर्मचारी बोलाएर स्पष्टीकरण सोध्ने तथा पानी वितरणमा पहल गर्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->