सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

गण्डकी प्रदेशसभा बैठक २ पटक अवरुद्ध

गण्डकी प्रदेशसभा बैठक २ पटक अवरुद्ध

कांग्रेस भन्छ,‘जनताको जीवन पैसासँग दाँजियो’


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७७, सोमबार

पोखरा, १ भदौ– गण्डकी प्रदेशसभाको बैठक दुई पटकसम्म स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सरकारले जनस्वास्थ्य जस्तो संवेदनशील विषयलाई पनि सरकारले पैसा सँग दाँजेको आरोप लगाउँदै बैठक बहिष्कार गरेको हो ।
सभामुख नेत्रनाथ अधिकारीले बैठक सुरु गरेलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । सभामुख खधिकारीले बैठक अवरुद्ध गर्नुको कारण बारे बोल्न प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीलाई बोल्ने समय दिएका थिए । बैठक अवरुद्ध गर्नुको कारण खुलाउँदै नेता नेपालीले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसबाट नागरिकलाई सुरक्षित राख्नु पर्ने दायित्व बोध गराउँदै दर्ता गरेको संकल्प प्रस्ताव पूर्वाग्रहकै कारण स्वीकार गरिएको आरोप लगाए । समसामयिक रुपमा ल्याएको प्रस्ताव भनेर स्वागत गर्नु पर्नेमा प्रतिपक्षले ल्याएकै कारण अस्वीकार गरिएको उनको भनाई छ । ‘प्रमुख प्रतिपक्ष भनेर रिजेक्ट गरिएको हो । रिजेक्ट गरे पनि समस्या उस्तै छ । भविष्यमा कोरोना भाइरसको प्रकोप अनुमान गरेका छौं्, त्यो मुद्दा अहिले पनि यथावत नै छ’, उनले भने ।
एक घर, एक पीसिआरको माग राखेर गत असार २३ मा दर्ता गराएको संकल्प उनको जिकिर थियो अनौपचारिक रुपमा वार्ता गर्दा सरकारले सुरु गरे यसको मोडालिटी चेञ्ज गर्न सकिन्छ भन्ने प्रस्ताव राखे पनि त्यतापट्टि ध्यानै नदिइएको उनले बताए । ‘के भयो भने दिने र लिने जस्तो । एउटा व्यापारीले सामाना बेचेजस्तो । एकभन्दा यो हुँदैन त्यो हुँदैन भन्ने कुरा आए’, उनले भने, ‘त्योभन्दा पनि संगीन कुरा के छ भने प्रदेशबासीको जीवनलाई पैसामा दाँजियो । घाटा र नाफा नापेर व्यापारीको जस्तो व्यवहार गरियो ।’
उनले बोल्ने क्रममा पटक पटक एक घर एक पिसिआरको अडान लिएका थिए । यसैगरि, सरकारले बनाएको क्वारेण्टिन डब्लुएचओको मापदण्ड विपरित रहेको भन्दै मापदण्डअनुसारका क्वारेण्टिन बनाउनुपर्ने उनले माग राखेका थिए । ‘डब्लुएचओले तोको मापदण्ड अनुसार नै क्वारेन्टाइन हुनुपर्छ तेस्रो आइसोलेसनको अवस्था संक्रमित बढ्दै गई रहेका छन्, यसको संकेत के हो भने कोरोना समुदायमा पस्यो’, उनले भने । प्रदेश राजधानीमा रहेको सरुवा रोग केन्द्र घोषणा गरेको लेखनाथ अस्पताललाई नै सरकारले व्यवस्थित राख्न नसकेको आरोप लगाउँदै उनले कोरोनाबाट समाज त्रसित बनेको बताए ।एउटा व्यक्ति कोरोनाबाट मृत्यु हुँदा विभत्स मृत शरीरलाई आफ्नो समाजमा लान नदिने भयावह अवस्था रहेको भन्दै उनले जिल्लामा व्यवस्थित दाहसंस्कारको व्यवस्था गर्न माग राखेका थिए । साथै उनले संकल्प प्रस्तावमा राखेका माग पूरा गर्नुपर्ने अडान लिएका छन् ।
नेता नेपालीले संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत प्रदेशलाई विकास गर्ने भनेर दुई निर्वाचन पद्धतिबाट निर्वाचन भएर आएको स्मरण गराउँदै पछाडी परेका व्यक्ति प्रतिस्पर्धामा आउन नसक्नेलाई पनि देश निर्माणलाई साथै लैजानुपर्छ भनेर समानुपातिक व्यवस्था गरिएको उल्लेख गरे । ‘त्यही अनुसार जनप्रतिनिति छौं, संसद भनेको विधि निर्माण गर्ने थलो हो । हाम्रो देशको व्यवस्था जनप्रतिनिधीलाई विकास निमाणको लागि भुमिका दिने व्यवस्था भएको छ’, उनले भने, ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको व्यवस्था भएको छ । यद्यपि सुरुमै हुनुपर्ने गत वर्ष कार्यविधि बनेको छ । प्रत्यक्ष निर्वाचित सभासद्ले सहमतिको आधारमा वितरण गर्ने नभए मुख्यमन्त्री कार्यालयमा आउने व्यवस्था गरिएको छ । धेरै ठाउँमा सहमति भएकोमा धन्यवाद, विवाद भएको ठाउँमा मुख्यमन्त्रीले टुंग्याउनु भएको थियो ।’ उनले संविधानको मर्म पालना गरेको भन्दै मुख्यमन्त्रीलाई धन्यवाद समेत दिएका थिए ।
यो वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास पक्षपात भएर आएको भन्दै उनले विरोध समेत जनाएका थिए । ‘प्रत्यक्ष होस् या समानुपातिकले समान हक पाउनुपर्छ । यसअघि पनि मुख्यमन्त्रीकहाँ डेलिगेसन दिएका थियौं । आफ्ना कुरा राख्यौं । सर्वदलीय बैठक डाकेको । त्यहाँ पनि कुरा राखेका थियौं’, उनले भने ।
उनले संकल्प प्रस्तावमा राखेका ४ वटा शर्त पूरा नभएसम्म संसद अघिबढ्न नदिने उनले अडान लिएका छन् । ‘समानताको आधारमा सांसद विकासको वितरण हुनु प¥यो । यि माग छन् । माग पूरा नभएसम्म हाउस अघि बढ्न दिदैनौं’, उनले भने ।
सभामुख अधिकारीले सहमतिकै आधारमा अघि बढेको र प्रयास हुने बताउँदै बैठकमा बस्न आग्रह गरेका थिए । आइतबारको कार्यसूचिमा एक मात्रै विधेयक अघि बढाउने र विजनेस पनि कम भएकाले बैठकमा बसेर सहयोग गर्न उनले अनुरोध गरेका थिए । पटक पटक बैठकमा बस्न आग्रह गर्दासमेत प्रतिपक्ष दलका नेताहरु राजी नभएपछि उनले बैठक तीस मिनेटको लागि स्थगित गरेका थिए । दोस्रो बैठकमा पनि प्रमुख प्रतिपक्षले विरोध जनाएपछि पनि उनले बैठकमा बस्न पटकपटक आग्रह गरेका थिए । उनले संकल्प प्रस्तावको विषयमा दलिय सर्वसम्मत ढंगले कार्यदल बनाएर दलको सहमतिले प्रक्रियामा अघि बढेको विषय भएकाले कार्यविधिको विषयमा सरकारले नै कार्यविधि निर्माण गर्ने बताएका थिए । प्रतिपक्षले बैठक अस्वीकार गरेपछि उनले बैठक स्थगित भएको घोषणा गरेका थिए । सभाको अर्को बैठक भदौ १ गते दिनको १ बजे बस्नेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->