पोखरा, ३ भदौ– पोखरामा गस्तिमा खटिएका प्रहरी टोलीलाई बोलेरोले ठक्कर दिंदा मृत्यु भएको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएका प्रहरी जवान चन्द्रबहादुर बगाले मगर र हवल्दार डम्बरबहादुर थारुको मृत्यु भएको हो ।
प्रहरी जवान बगालेले चलाएको मोटरसाइकललाई पछाडीबाट आएको बोलेरो जिपले ठक्कर दिएको थियो । जिल्ला प्रशासन कार्यालय कास्कीले मंगलबार राती १२ बजेदेखि लागू हुने गरि मंगलबार निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले जारी गरेको निषेधाज्ञा अवज्ञा गर्दै गुडेको बोलेरोले मंगलबार राती १ बजेको सयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए ।
विन्ध्यवासिनी हुँदै जिरो किलोमिटर झर्दै गरेका मोटरसाइकललाई मालेपाटनमा बोलेरोले ठक्कर दिएको थियो । डिएसपी हमालका अनुसार ग २ च २६२६ नम्बरको बोलेरोले ग १ ब ३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बोलेरोको ठक्करबाट प्रहरी जवान बगालेको गए राति नै मृत्यु भएको थियो भने गम्भिर घाइते बनेका हवल्दार थारुको पनि मृत्यु भएको छ । दुर्घटनापछि घाईते बनेका दुवै जनालाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएको थियो ।
बोलेरो चालक धादिङ घर भई पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिई सकेको छ । घटना घट्नुको कारणबारे थप अनुसन्धान भई रहेको डिएसपी हमालले जानकारी दिए ।





