बागलुङ, १७ भदौ– बागलुङको वडिगाड गाउँपालिकामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । वडिगाड गाउँपालिका–१० दर्लिङ दहका ५० बर्षिय अशोक बुढाको मंगलवार साँझ चट्याङले लागेर मृत्यु भएको हो ।
सोही ठाउँका अन्य छ जना घाईते भएको वडाअध्यक्ष बिरेन्द्र बुढा मगरले जानकारी दिए । चट्याङले स्थानीय किसानले पालेका दुइ बाख्रा पनि मारेको छ । बर्षा भैरहेको र पहिरोका कारण सडक सञ्जाल टुटेकाले घाईतेको उपचारमा समस्या भैरहेको वडाअध्यक्ष बुढाले बताए ।
मृतकको शव पोष्टमार्टमका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र लैजाने तयारी भैरहेको छ । ‘बाटो छैन बोकेर लाँदा दिनभरी लाग्छ’ उनले भने ‘घाईते बोक्नु कि मृतकलाई लैजानु भैरहेको छ ।’ मंगलबार राति देखि परेको बर्षा र चट्याङका कारण जिल्लाभर भएको क्षतिको बिबरण संकलन भैरहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।
बर्षासँगै परेको चट्याङले लागेर पर्वतको फलेवासमा चार जना घाईते भएका छन्भने एक गोठमा परेको चट्याङले चार बाख्रा मारेको छ । फलेवास नगरपालिका–९ भंगराको सम्मा भन्ने ठाउँमा परेको चट्याङले लागेर सोही ठाउँका बाबुराम सुनुवारकी श्रीमति शोभा सुनुवार गम्भिर घाईते भएकी छन् । उनलाई उपचारका लागि कुश्मा लैजाने तयारी भैरहेको छ । सोही ठाउँका अन्य तिन जना सामान्य घाईते भएका छन् । भँगराकै पँदलाकी गुमा पौडेल क्षेत्रीको गोठमा चट्याङ परेर चार बाख्रा मारेको छ । रातको समयमा गोठमा परेको चट्याङले मानविय क्षती भने भएन् । चट्याङका कारण क्षेत्री समान्य घाईते भएको वडा अध्यक्ष गंगाधर शर्माले जानकारी दिए । निरन्तर बर्षा र चट्याङ पर्नेक्रम नरोकीएको शर्माले बताए । थप क्षेतीको बिषयमा खोजी भैरहेको छ ।





