सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बाढी पिडितको काम : घर सफाई गर्दै बस्ने योजना

बाढी पिडितको काम : घर सफाई गर्दै बस्ने योजना

सबारी चलेपछि स्थानीयले अत्यावस्यक सामाग्री ल्याउने र बिक्री गर्ने काम पनि थाल्नेछन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०७७, बुधबार

बागलुङ, ३० भदौ– बाढी पहिरोले घर पूर्ण रुपमा क्षति भएका ढोरपाटन नगरपालिका ९ का पिडितहरु आफन्त र छिमेकीको आश्रयमा बसेका छन् । घरमा सामान्य क्षति भएकाहरु भने बिस्तारै फर्कने तयारीमा छन् ।
पहिरोले कम क्षति भएको सुकुरदुङको उपल्लो साइडका बासिन्दा आफ्नो घर सफा गर्दै बस्ने योजनामा लागेका हुन् । खोला छेउका घरहरु बगाएको, कतिपय भत्केको भएपनि सडक तर्फका घरमा बाढी मात्रै पसेको थियो । यसरी बाढी पस्दा हिलाम्मे भएर भागेकाहरु फर्कन थालेका हुन् ।
‘घरमा बाढी पसेपछि छिमेकीको घरमा बसेको थिए, कति दिन उता बसेर निर्वाह गर्नु भनेर सरसफाईमा लागेको छु’ स्थानीय रेशमबहादुर पुनले भने,‘केही दिनमा बस्न सकिने बनाइसकेको छु ।’ ‘घर सफा गरिरहेकोले छिमेकीलेपनि फर्कने चहना राखेको उनले बताए । धेरै नभत्केकाहरु मर्मत गरेर भएपछि घरमा फर्कन खोजेको उनले बताए । यो खण्डका केही घरमा बाढीमात्रै पसेको थियो । बाढीले ल्याएका मुढाहरु स्थानीयले पाखा लगाएका छन् । दाउराको रुपमा प्रयोग गर्ने अबस्थाका भएकोले चिर्न पनि थालेका छन् । केही घर जोखिममा परेको भन्दै भागेकाहरुपनि फर्कने योजनामा छन् । खोला गहिरो बनेर गइसकेको र अब पहिरो खस्ने कम संभावना भएको भन्दै मर्मतमा जुटेका हुन् ।
सरसफाई गरेर किराना पसल चलाउन सकेमा व्यवसायमा फर्कन सकिने पुनको विश्वास छ । उनले सरसफाई थालेपछि छिमेकीका केही घरमा पनि सफाई गरेर बस्न सकिने योजनामा छन् । यो खण्डमा खोला गहिरो भएर गएको छ । बस्तीको माथिल्लो भाग सुरक्षित जस्तै देखिन थालेको छ ।
यहाँको झोलुंगे पुल भने बगेको छ । त्यसैले गाउँतर्फ जान कठिन भएको स्थानीय प्रवेश पुनले बताए । ‘गाउँ जानेआउने कामपनि सजिलो छैन, बरु यही बसेर सतर्क बन्ने भनेर सफाई थालियो’ उनले भने, ‘केही दिनमा बस्न योग्य बनाउँछौं ।’ ढोरपाटन सालझण्डी सडक आयोजनाले डोजर लगाएर बाटो बनाउने काम थालेको छ । सडकको ट्रयाक खुलिसकेकोले उक्त खण्डमा ट्रयाक्टर चलाउन सकिने उनले बताए । सबारी चलेपछि स्थानीयले अत्यावस्यक सामाग्री ल्याउने र बिक्री गर्ने काम पनि थाल्नेछन् ।
सबैभन्दा धेरै मानिस मृत्यु भएको र बेपत्ता भएको दुवालमा भने बस्ती बसाल्न कठिन छ । यहाँका मानिसले खोलाको व्यवथापन गरेपछि मात्रै बस्ती बसाल्न सकिने बताए । कतिपयले भने खोला छेउ छाडेर माथिल्लो खण्डमा घर बनाउने योजना सुनाए । नगरपालिकाले पनि खोला छेवैमा घर बनाउन नदिने योजना बनाएको छ । ‘खोलामा घर बनाइयो भने फेरी पनि बर्षेनी समस्या आउँछ, त्यसैले सुरक्षित स्थान खोज्ने हो’ नगरप्रमुख देवकुमार नेपालीले भने एकीकृत बस्ती बसाल्ने योजना भने संभव देखिएन ।’ हरेक घरपरिवारले कृषि, पशुपालन र व्यवसाय समेत गर्नु पर्ने भएकोले एकीकृत बस्तीमा बसाल्न नमिलने उनले बताए । एउटै क्षेत्रमा काम गर्ने, मजदुरी मात्रै गर्ने भएको खण्डमा मात्रै त्यस्तो बस्ती संभवन हुने नेपालीको भनाइ छ ।
नगरपालिकाले पिडतलाई पुरानो जमिनमा घर बनाउन भने नदिने योजना ल्याएको छ । ‘बाढीपहिरो जतिबेला पनि आउन सक्ने स्थानमा बनाउन दिंदैनौं’ वडा नं. ९ का अध्यक्ष हरिबहदुर घर्ती मगरले भने, ‘खोलाले पुरेकै ठाउँ थियो, फेरी बगायो, अब जतिसुकै सुरक्षित भनेपनि बनाउन मिल्दैन ।’ यस अघिका बचेका संरचनापनि भत्काएर सुरक्षित स्थानमा लैजान लगाउने उनले बताए । खोला छेवैमा भएकोले हरेक बर्ष जोखिम भैरहने र लगानीको सदुपयोग समेत नहुने उनको भनाई छ ।
बरु ग्रामीण क्षेत्रमा घर भएका, नभएका र गोठ वा तत्कालकालागि बास भएकहरुको तथ्यांक बर्गिकरणमा लागेको उनले बताए । कतिपयको ढोरपाटनमा घर भएकोले त्यता जाने योजनामा छन् । कतिपय गैसकेका पनि छन् । हिउँदमा जाडो भएपछि फर्कनेबेलामा भने उनीहरुलाई समस्या पर्न सक्छ । तर कतिपयले न्यानो कपडाको व्यवस्थापन गराएर ढोरपाटनमै बसाल्न समेत सकिने सुझाव दिएका छन् । ढोरपाटनमा हिउँदमा सेताम्मे हिउँ पर्छ । त्यतिबेला चिसोले सबै बेसी झर्ने गर्थे । बास बस्नै नसक्ने वा केहीपनि नभएकालाई पहिलो प्राथमिकता दिने र नगरपालिकाले पनि समयमै बजेट बिनियोजन गरेर घर बनाउन साथ दिने नगरप्रमुख नेपालीको योजना छ । ‘संघिय सरकारले के कति दिन्छ, कहिले दिन्छ हेर्नुपर्छ, बाँकी खर्च हामी दिएर घर बनाउन लगाउँछौं’ नेपाली भन्छन्, ‘पिडितलाइ छिटो आफ्नै घरमा बसाल्ने योजना हामीले बनाएका छौं ।’ उनले सडक बनाउन पनि आफ्नै लगानी गरेको दावी गरेका छन् । घर बनाउन पनि नेपालीले साथ दिने र जस्तापाता आँफै दिने घोषणा गरिसकेका छन् ।
आइतवार देखि भने पिडितका घरघरमा चामलका बोरा पुगेको उनले बताए । यस अघि धेरैपिडितले राहत नपाएको गुनासो आइरहेको थियो । एउटा घरमा ६ बोरा सम्म चामल पुग्ने गरी पठाएको नेपालीले दावी गरेका छन् । वडा कार्यालयले पिडितको पहिचान गरेर चामल बितरण गर्ने लक्ष राखेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->