बागलुङ, १ असोज– गत शनिबार रातीको भीषण वर्षा । २८ गते बिहान घरमाथिको अहटमा बगिरहेको पानी धान्न नसकेर बाटो बनाउँदा लगाएको तारजाली भत्कियो । सँगैको बाँसको झ्याङ र तारजालीले घर पुर्दा बिहान भर्खर निद्राबाट व्युँझीएका बाबु र बहिनीले भागेर ज्यान बँचाए तर आमालाई पहिरोले पु¥यो । त्यहिं पहिरोमुनि ६० वर्षिया लक्ष्मी पौडेलको ज्यान गयो ।
अहिले आमा गुमाएको पीडामा छट्पटिएको छ जैमिनी नगरपालिका–१ कुश्मीशेराका देवराज पौडेलको परिवार । पोष्टमार्टमपछि शवको दाहसंकार गर्दा साँझ प¥यो । त्यो दिन त्यसै बित्यो । काजकिरियाको कर्म पहिरोको जोखिममै रहेको घरमा सुरु गरेका देवराजले संस्कार अनुसारको किरिया आफ्नै घरमा गर्न पाएनन् । २९ गते बिहान आएको अर्को पहिरोले उनीको घरसहित गाउँका थप ७ घर पु¥यो । अघिल्लो दिनकै पहिरोले झस्किएका गाउँले भागेर ज्यान त बँचाए तर अहिले गाउँभरिनै रात काट्ने ठाउँ छैन । टुनीबोटका दुई ठाउँमा आएको पहिरोका कारण गाउँभरीका ३९ घर जोखिममा छन् ।
दाजुभाई छिमेकी र आफन्तका घरहरुसमेत असुरक्षित भएपछि देवराजले अहिले ससुराली नजिकै खाली घरमा बसेर आमाको काजकिरिया गर्दैछन् । ‘राख्नु कहाँ, जोगाउनु कसरी’ स्थानीय ऋषिराम शर्माले भने ‘बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेका ससुरालीको सहयोगमा खाली घर खोजेर उतै बस्न लगाएका छौं ।’
गाउँनै पहिरोको जोखिममा परेपछि देवराजले ससुराली पुगेर किरिया कर्म गर्नुपरेको स्थानीय कृतिनाथ पौडेल बताउँछन् । देवराज मात्रै होईन पछिल्ला तीन दिन यता टुनीवोटका कसैले पनि आफ्नो घरमा रात काटेका छैनन् ।
‘आठ घर त गैहाले, दुई जना हामीले गुमायौं’ शर्मा भन्छन्– ‘वृद्ध र बालबालिका जोगाउनै मुस्किल भयो ।’ टुनीबोटमा अप्रत्यासित रुपमा आएको पहिरोले गाउँनै जोखिममा छ । पहिरोले बगाएका ८ घरमध्ये ४ घरको घडेरीसमेत सकिएको छ । ‘नत अन्त कतै जग्गा छ न फेरी बनाउन मिल्नेगरी पहिरोले पुरेको हो’ पीडित तारा बोहोरा भन्छिन् ‘मेरो त उठिबास भयो, ज्यान मात्रै बँचेको छ ।’ उनीसँगै उनका ससुरा इन्द्र बहादुर पौडेल, देवरानी शान्ती क्षेत्री र एकल महिला पवित्रा पौडेलको घरबास पहिरोले सकेको छ ।
पहिरोका कारण घर पुरिएका मणीभद्र शर्मा, टिका कुमारी शर्मा, नन्दलाल पौडेल र रिवनाथ पौडेल कहिले छिकेमीको घरमा त कहिले विद्यालय भवनमा रात कटाउँदै आएका छन् । देवराज शर्मा, भेषराज शर्मा, ऋषिराम शर्मा, जीवनाथ शर्मा, धनपती पाध्या, बोधराज शर्मा, कलाधर शर्मा, दुर्गादत्त शर्मा, बलराम शर्मा, शिव शर्मा कृतिनाथ पौडेल, भिमनाथ शर्मा र यदुनाथ शर्माले घर छोडेका छन् । ‘माथी हेर्दा घरमा बस्नुजस्तै हुँदैन, जोखिम मोलेरै २०÷२२ जना भएर कम जोखिम भएको घरमा बसेका छौं’ ऋषिराम शर्माले भने ‘९७ वर्षका वृद्ध र अपाङ्ग दाई हुनुहुन्छ पहिरो आए कसरी दगुर्ने ।’
पहिरोका कारण टुनीबोटका स्थानीले बागलुङ नगरपालिका–१२ टाकुरीका केही घर, जैमिनीकै खौरगाउँ र स्थानीय जैमिनी प्राथमिक विद्यालय भवनमा शरण लिएका छन् । दिनभर पकाउने खाने काम आफ्नै घरमा गर्ने र राती सुरक्षित ठाउँ खोज्ने गरेको उनले बताए । ‘अब टुनीबोटमा कोही पनि बस्ने मनस्थीतिमा छैनौ’ उनले भने ‘भर्खरै जाने ठाउँ नभएर मात्रै हो, हिउँदभरीमा त केही मेसो आउला ।’ टुनीबोटमै २९ गतेको पहिरोमा ज्यान गुमाएको परिवारले भने जोखिम मोलेर छिमेकीको घरमा काजकिरिया थालेका छन् ।
पुनर्वास कठिन छ, तैपनि सोच्छौं
अहिलेकै प्रकृतिले पहिरो जाने हो भने टुनीबोटको कुनै पनि ठाउँ सुरक्षित छैन । गाउँभन्दा माथि सडक र सडकमाथि भिरालो जमिनमा ठुलो जंगल छ । अहिले आएका दुई पहिरो पनि सोही जंगलबाट आएको हो । अमलाचौरमा बनेका सडकहरुले पानी ढलो बिगारेर भलको पानी सडकहुँदै जंगलमा पुगेपछि पहिरो सिर्जना भएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटा बताउँछन् ।
नगरपालिकाले भने विस्थापितको व्यवस्थापनका लागि छलफल थाल्ने जनाएको छ । ‘पुर्न बास सजिलो छैन, उहाँहरु पनि मान्नुहुन्छ की मान्नुहुन्न भन्ने पनि हो ।’ नगरप्रमुख इन्द्रराज पौडेलले भने ‘हामी छलफल गरेर निधो गर्छौं तर त्यहाँको सबै बस्ती जोखिममा छ ।’ जग्गासमेत नभएकाले घर बनाएर उनीहरुलाई राख्ने काम निकै ठूलो भएको उनले बताए ।





